मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १२ बुधबार
  • Wednesday, 27 November, 2024
सौरभ यादव राजविराज
२o८१ मङ्सिर १२ बुधबार १७:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नसा च्यापिएर दुई महिनादेखि थला परेका रूपेश सदाको उपचारका लागि पहल सुरु

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ मङ्सिर १२ बुधबार १७:२२:oo

आर्थिक समस्याका कारण दुई महिनादेखि ओछ्यानमै थला परेका सप्तरीको राजविराज नगरपालिका– ६ दलित बस्तीका २७ वर्षीय रूपेश सदाको उपचार गराउन पहल सुरु भएको छ। नयाँ पत्रिकामा समाचार प्रकाशन भएपछि वडा नं ६ का वडाध्यक्ष शशिकुमार चौधरीले पहल थालेका हुन्।

आफूले व्यक्तिगत रूपमा १० हजार रुपैयाँ सहयोग गरेको र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक लाख रुपैयाँबराबरको उपचार निःशुल्क गरिदिन सिफारिस गरेको वडाध्यक्ष चौधरीले बताए। नगरपालिकामा बुधबार बसेको बैठकले सदालाई उपचारका लागि ५० हजार रुपैयाँ दिने निर्णयसमेत गरेको उनले जानकारी दिए।

नसा च्यापिएर हिँडडुल गर्ने अवस्था नभएका सदालाई उपचार गराउन आर्थिक समस्या छ। पेसाले मजदुर उनी एक महिनाअघि घर ढलान गर्ने क्रममा सिमेन्टको बोरा बोकेर जाँदैगर्दा लडेर अचेत भएका थिए। लड्दा उनको टाउको, घाँटी र ढाडमा चोट लाग्यो।

साथै, घाँटी र ढाडको नसा च्यापिएको थियो। जसकारण उनी हिँडडुल गर्न नसक्ने भएका हुन्। बिरामी भएपछि उनलाई उपचारका लागि श्रीमती रम्भाले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएकी थिइन्। पाँच दिनको उपचार र बसाइमा एक लाख पाँच हजार खर्च भएको उनले बताइन्। 

चिकित्सकले अपरेसन गर्नुपर्छ भन्दै थप एक लाख ५० हजार रुपैयाँ व्यवस्था गर्न भनेपछि उपचार नै नगरी सदाकी श्रीमती रम्भाले उनलाई घर ल्याएकी थिइन्। उक्त समाचार मंसिर ११ गतेको नयाँ पत्रिका दैनिकमा प्रकाशित भएपछि उपचारका लागि पहल सुरु भएको हो।