पूर्वी पहाडी जिल्ला संखुवासभाका एक कृषकले एउटै खलामा ५० मुरी धान उत्पादन गरेपछि सम्मानित भएका छन् । जिल्लाकाे पाँचखपन नगरपालिका– ६ का स्थानीय कृषक सलबहादुर कार्कीले एउटै खलामा ५० मुरी धान उत्पादन गरेपछि ६ नम्बर वडा कार्यालयले सम्मान गरेको हो ।
पाँचखपन नगरपालिका– ६ का वडाध्यक्ष विष्णु श्रेष्ठसहितका वडा परिवारकाे टोली बुधबार सलबहादुर कार्कीको दाइँ गर्दै गरेको खलामा नै पुगेर सम्मानपत्रसहित नगद २० हजार रुपैयाँद्वारा सम्मान गरेको वडाध्यक्ष श्रेष्ठले बताए । आर्थिक वर्ष ०८१/८२ मा वडासभाले ‘एउटै खलाबाट सबैभन्दा धेरै धान थन्क्याउने कृषकलाई पुरस्कारको व्यवस्था’ गरिने शीर्षकअन्तर्गत ६ नम्बर वडाभित्र सबैभन्दा बढी सलबहादुर कार्कीले धान उत्पादन गर्न सफल भएकाले सम्मान गरिएको वडाध्यक्ष श्रेष्ठले बताए ।
वडाभित्रका उत्कृष्ट कृषकलाई सम्मान र प्रोत्साहन गर्ने नीतिअन्तर्गत नयाँ–नयाँ योजना वडासभाबाट नै पारित गरिएको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । पछिल्लो समयमा युवाले कृषि पेसा छोडेर वैदेशिक रोजगारीलगायत अन्य विभिन्न पेसा–व्यवसाय अपनाउन थालेकाले कृषि पेसा गर्नेहरूको संख्या घट्दै गएको छ ।
कृषि पेसालाई धेरैले हेयको नजरले हेर्ने कारण उत्पादनमा कमी आउनुका साथै बाँझो जग्गा गाउँ–गाउँमा बढ्न थालेको छ । गाउँ–गाउँका स्थानीय सरकारले नागरिकको शिर उचो हुने खालका नयाँ–नयाँ कार्यक्रम ल्याउँदा प्रोत्साहन र सम्मान हुने बुद्धिजीवीहरू बताउँछन् ।
कृषि ज्ञान केन्द्र संखुवासभाका कार्यालय प्रमुख छत्रबहादुर विश्वकर्माले कृषकका लागि प्रोत्साहन र सम्मान गर्ने कार्यक्रम कार्यालयले निरन्तर गरिरहेको बताउँदै स्थानीय सरकारले कृषक सम्मान कार्यक्रम ल्याउँदा खुसी लागेको बताए ।
यो वर्ष संखुवासभामा धान उत्पादन बढ्ने कार्यालय प्रमुख विश्वकर्मा बताउँछन् । भदौ र असोजमा पहाडी क्षेत्रमा वर्षा र हावाहुरी खासै नभएकाले धान उत्पादन बढ्ने आकलन गरिएको कार्यालय प्रमुख विश्वकर्माको भनाइ छ ।