बुटवल उपमहानगरपालिका– ११ देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालयका विद्यार्थीले बुटवलका मेयर खेलराज पाण्डेलाई शिक्षादेखि विभिन्न विषयका प्रश्नैप्रश्न राखेका छन् ।
बुधबार विद्यालयमा भएको मेयरसँग विद्यार्थी कार्यक्रममा विद्यार्थीले विदेश पलायन रोक्नदेखि शिक्षा, स्वास्थ्य, खेलकुदका योजनामा धेरै प्रश्न राखे । दर्जनभन्दा पनि बढी प्रश्न राखेका विद्यार्थीले धेरै प्रश्न शिक्षा क्षेत्रको सुधारमा केन्द्रित गरेका थिए ।
विद्यार्थी रोशन परियारले विद्यार्थी १२ को अध्ययनपछि विदेश पलायन बढेको भन्दै त्यसलाई रोक्न के योजना छ भन्ने प्रश्न राखेका थिए । त्यस्तै, विद्यार्थीहरू आकृति अधिकारी, नवराज गैरे, दिव्या सापकोटालगायतले शिक्षादेखि विभिन्न क्षेत्रका जिज्ञाशा मेयरसामु राखे ।
विद्यार्थीका एक–एक प्रश्नको जवाफ दिएका प्रमुख पाण्डेयले शिक्षालाई सीप र रोजगारसँग जोडेर विद्यार्थी पयायन रोक्न पहल गर्नुपर्नेमा जोड दिए । तीनवटै तहका सरकारले युवाको माग र आवश्यकतालाई ध्यान दिएर देशमा बस्ने वातावरण बनाउनुपर्ने बताए ।
युवाहरूको मनोविज्ञानको नयाँ ढंगले अध्ययन गर्नुपर्नेमा उनले जोड दिए । बुटवल उपमहानगरले युवालाई लक्षित गरेर विभिन्न तालिम सञ्चालन गरी युवालाई रोजगारसँग जोड्न खोजेको पनि बताए ।
उनले शिक्षा तथा विद्यालयस्तरबाट नै खेलाडी र कलाकार उत्पादन गर्ने गरी उपमहानगरले लगानी गरेको बताए। उनले डेरामा बस्ने विद्यार्थीलाई सहयोग गर्ने घरबेटीलाई सम्मान र दुःख दिनेलाई कारबाहीका विषयमा बोलेका थिए।
उनले विद्यार्थी स्तरीय कार्यक्रमहरूमार्फत खेलाडी उत्पादन, एवं विभिन्न कलाकारहरू उत्पादन गर्ने गरी विभिन्न प्रतियोगिता हुँदै आएको जानकारी गराए। उनले बुटवलको शैक्षिक गुणस्तर वृद्धि र सरकारी विद्यालयमा विद्यार्थी भर्ना बढाउन भौतिक संरचना निर्माणको खाचो पनि औँल्याए ।
कार्यक्रममा आलोककुमार गुप्ता, एलिसा क्षेत्री, सुवास पौडेल, सुजन अधिकारी, शिव गैरे, विना कुँवर, खिमानन्द जैसी, आस्था पाण्डे र भगवती कुँवरलगायतका विद्यार्थीले पनि मेयरको विद्यार्थी जीवन, राजनीतिक यात्रा, बुटवलको शैक्षिक रणनीति, विद्यार्थीलक्षित कार्यक्रम, शिक्षालक्षित, खेलकुदकेन्द्रित कार्यक्रम, नगरभित्रका विद्यालयको अनुगमन तथा छात्रवृत्तिलगायतका विषयमा जिज्ञासा राखेका थिए।
कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारीले कक्षा ११–१२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी धारणा राखेका थिए।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यालयले विभिन्न अतिरिक्त कार्यक्रम गर्ने क्रममा मेयरसँग विद्यार्थी कार्यक्रम गरिएको भन्दै यसले विद्यार्थीमा थप उत्साह थप्ने बताए ।
कार्यक्रममा कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षामा उच्च जिपिए प्राप्त गर्ने ३९ जनालाई बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेय, राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका प्रमुख तिवारी र बुटवल उपमहानगरपालिका– ११ का वडासदस्य नहकुल शाही ठकुरीलगायतले ९९ हजार नगद पुरस्कार र ३८ वटा सेक्सनबाट प्रथम, द्वितीय र तृतीय भएका ११५ जना विद्यार्थीलाई पुरस्कारसमेत वितरण गरेका थिए ।
कार्यक्रममा सहायक प्रधानाध्यापक अर्जुन खनाल, कानुन समूह इन्चार्ज अधिवक्ता लोकप्रसाद खरेल, कक्षा १२ विज्ञान समूहकी छात्रा आकृति अधिकारीलगायतले कार्यक्रमबारे धारणा राखेका थिए ।