राष्ट्रिय गौरवको महाकाली करिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिंकर सडकको निरीक्षण गर्न दुई मन्त्री दार्चुला आइपुगेका छन्। नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिंकर सडकको निरीक्षण गर्न रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल दार्चुला आएका हुन्।
राष्ट्रिय गौरवका सडकमा प्रगति नभएको भन्दै प्रधानमन्त्रीले चासो लिएपछि सडकको निरीक्षणमा मन्त्री आएका हुन्। टोलीमा नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलसमेत रहेका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए। उनीहरू नेपाली सेनाको हेलिकोप्टरमार्फत ११ बजे व्याँस गाउँपालिका– ४ सुनसेरा पुगेका छन्।
उत्तर–दक्षिण जोड्ने सडकमा पर्याप्त बजेट नहुँदा कामले गति लिन सकिरहेको छैन। त्रिदेशीय सडकको रूपमा रहेको दार्चुला–टिंकर सडक सामरिक महत्त्व बोकेको सडक पनि हो। तर, हरेक वर्ष थोरै बजेटले गर्दा लक्ष्यअनुसार प्रगति हुन सकिरहेको छैन। नेपाली सेनाले निर्माण गरिरहेको दार्चुलाको महत्त्वपूर्ण सडकखण्ड हो तुसारपानी–टिंकर। नेपाली सेनाले ०७७ माघ २८ गतेबाट दार्चुला–टिंकर सडक निर्माण थालनी गरेको हो। दार्चुला–टिंकर सडकको तुसारपानी–टिंकरको ट्रयाक खोल्नुपर्ने ७९ किलाेमिटर छ। अहिलेसम्म सेनाले १३.५९ किलाेमिटर मात्र ट्रयाक खुलाएको छ।
यस आयोजनाका लागि चालू आर्थिक वर्षमा सरकारले नाै करोड रुपैयाँ बजेट मात्रै विनियोजन गरेको छ। उक्त रकमले १.८ किलाेमिटर नयाँ ट्रयाक खोल्ने र १.२ किलाेमिटर सडक स्तरोन्नति गर्ने लक्ष्य सेनाको छ। ‘बजेट बढी भएको भए त्यहीअनुसार लक्ष्य निर्धारण गरेर ट्रयाक खोलिन्थ्यो,’ सैनिक प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले भने, ‘थोरै बजेट भएकाले चाहेर पनि धेरै काम गर्न सकिएको छैन।’
यो सडक कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकरसम्म ४२५ किलाेमिटर छ। यसमा सडक विभागले बनाउन नसकेको अप्ठ्यारो खण्डको काम सेनालाई दिइएको हो। सेनाले आर्थिक वर्ष ०८८/८९ भित्र उक्त खण्डको ट्रयाक खोल्ने काम सकिसक्नुपर्नेछ।
यो महत्त्वपूर्ण सडक भए पनि पर्याप्त बजेट अभावमा कामको गति बढाउन नसकिएको सैनिक प्रवक्ता एवं सहायक रथी केसी बताउँछन्। ‘यो सडकको दूरी लामो छ, यही गतिमा सडक बनाउने हो भने सक्नलाई वर्षौँ लाग्छ,’ उनले भने, ‘त्यसैले छिटो सक्न पर्याप्त बजेट र उपकरण बढाउनुपर्छ। त्यो हुन सकेको छैन।’
‘मागअनुसार बजेट नहुँदा नाका जोड्ने सडकमा समग्र रूपमा प्रगति कम छ, जति बजेट उपलब्ध हुन्छ, त्यहीअनुसार काम र प्रगति हुने हो,’ प्रवक्ता केसीले भने, ‘निर्माण गर्न सक्ने क्षमताअनुसार बजेट उपलब्ध हुन सके लक्ष्यभन्दा धेरै काम गर्न सकिन्थ्यो।’ पर्याप्त बजेट भए तोकिएकै समयमा काम सक्न समस्या नहुने उनको दाबी छ।
यो सडक नबन्दा सर्वसाधारणले सदरमुकाम दार्चुलाबाट आफ्नै देश छाँगरू, टिंकर, कालापानीलगायत ठाउँ जान भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। अहिले पनि टिंकरका स्थानीय भारतीय बाटो हुँदै खलंगा बसाइँ सरेका छन्। नेपालतिर हिँड्नलाई समेत घोरेटो बाटो राम्रो छैन। पशुचौपाया ल्याउन र मान्छे हिँड्न नेपालबाट सम्भव नभएपछि भारतीय बाटो हुँदै खलंगा झर्नुपर्ने बाध्यता रहेको व्याँस गाउँपालिका– १ का वडाध्यक्ष अशोकसिंह बोहरा बताउँछन्।
व्याँसका स्थानीय भने यो सडक निरीक्षण गर्न पटकपटक हेलिकोप्टरमार्फत मन्त्री आए पनि प्रगति नभएकोमा दुखेसो गर्छन्। स्थानीय दानसिंह तिंकरीले सडक र बाटो नबनाउने खाली हेलिकोप्टरमा घुम्न किन आउँछन् भन्दै आक्रोश पोखे। जनताको दुःख कहिल्यै पूरा गर्नतर्फ नलाग्ने, तर अनुगमन निरीक्षण भन्दै जिल्ला घुमेर के हुन्छ ? यो सडकका लागि पर्याप्त बजेट विनियोजन गरेर चाँडो सडकको ट्रयाक खुलाउनुपर्ने उनको माग छ।