मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए-नेपाल) ले २९७ किलाेमिटर विद्युत् प्रसारणलाइन निर्माणका लागि पुन: बोलपत्र आह्वान गरेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गरिने उक्त प्रसारणलाइनले नेपालको विद्युत् प्रसारण सञ्जाललाई सशक्तीकरण गर्नेछ। लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा, रातमाटे-नयाँ–दमौली र नयाँ दमौली–नयाँ बुटवल गरी तीनवटा खण्डमा विभाजन गरिएको उक्त प्रसारणलाइनको निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा २०८१ साल माघ १७ गते तोकिएको छ ।
अघिल्लो बोलपत्र आह्वान प्रक्रियाको विस्तृत समीक्षापछि पुन: आह्वान गरिएको यस बोलपत्रमा परिमार्जित डिजाइन, टावर निर्माणस्थलमा सहज पहुँच र बोलपत्रदाताहरूको सुझावका आधारमा संशोधित व्यावसायिक प्रावधानहरू समेटिएको छ। यी समायोजनले थप कार्यान्वयनयोग्य र लागत प्रभावकारी प्रस्तावहरू प्राप्त हुने सुनिश्चित गर्दै अघिल्लो बोलपत्र आह्वानमा पहिचान गरिएका मुख्य लागत निर्धारकहरूलाई सम्बोधन गरेका छन् ।
एमसिए-नेपालले बुटवल-गोरखपुर प्रसारणलाइनअन्तर्गत नेपालमा पर्ने १८ किलाेमिटर प्रसारणलाइन निर्माणका लागि १२३.६० लाख अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग ०८१ साल भदौ १४ गते गरिसकेको छ । उक्त प्रसारणलाइन २१ महिनाको अवधिमा निर्माण गरिनेछ ।
एमसिए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले भने, ‘निर्माणाधीन प्रसारणलाइनमध्ये १८ किलाेमिटर खण्डको निर्माणका लागि सम्झौता सम्पन्न भइसकेको वर्तमान अवस्थामा परिमार्जित प्रावधानहरूका कारण बाँकी २९७ किलाेमिटर प्रसारणलाइन निर्माणका लागि बोलपत्रदाताहरूको अभिरुचि उल्लेख्य रूपमा बढ्ने र प्रतिस्पर्धात्मक बोलपत्रहरू आकर्षित हुने कुरामा हामी विश्वस्त छौँ ।’
गएको वर्ष उल्लेख्य प्रगति हासिल गरेको एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रमका सन्दर्भमा यो बोलपत्र पुन: आह्वान अर्को उपलब्धि हो। तीनवटा ४०० केभी सबस्टेसन र १८ किलाेमिटर प्रसारणलाइन निर्माण कार्यमा निर्माण कम्पनीहरू परिचालन गरिसकेको एमसिए-नेपाल नेपालको ऊर्जा पूर्वाधारलाई थप सशक्त बनाउनका लागि बाँकी प्रसारणलाइन खण्डको निर्माण पनि सम्पन्न गर्ने सही मार्ग रहेको स्पष्ट भएको छ ।
एमसिए-नेपाल नेपाल सरकार तथा एमसिसीका वातावरणीय एवं सामाजिक मापदण्डको पालना गर्दै यस खरिद कार्य र प्रसारणलाइन निर्माण कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न प्रतिबद्ध छ ।