नेपाल भ्रमणमा रहेका कोसोभोका स्थानीय सरकार तथा प्रशासनमन्त्री एल्बर्ट क्रिस्निक र ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनबिच भेटवार्ता भएको छ । नेपालको औपचारिक भ्रमणमा आएका मन्त्री एल्बर्टको प्रतिनिधिमण्डलले महानगर मेयरसँग पुल्चोकस्थित महानगरको कार्यालयमा भेटवार्ता गरेको हो ।
मन्त्री एल्बर्टको प्रतिनिधिमण्डलले नेपालमा स्थानीय सकारको अभ्यास, उपलब्धि, अवसर र चुनौतीबारे जानकारी लिन मेयर महर्जनसँग भेटवार्ता गरेको हो । हेल्भिटास नेपालद्वारा नेपालमा सञ्चालित कार्यक्रम अध्ययन गर्न टोली सोमबार नेपाल आएको हो । पाँच सदस्यीय प्रतिनिधिमण्डलसहित आएका एल्बर्टलाई मेयर चिरिबाबु महर्जन, उपमेयर मञ्जली शाक्य बज्राचार्य र प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक राजु महर्जन, पूर्वाधार समितिका संयोजक चन्द्रलाल महर्जन, संस्कृति, पर्यटन समितिका विकासमान श्रेष्ठ, सहरी विकास समितिका संयोजक गणेश केसी, प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले स्वागत गरेका थिए ।
भेटमा मन्त्री एल्बर्टले कोसोभोका भौगोलिक, राजनीतिक अवस्थाका बारेमा जानकारी गराएका थिए । यसैगरी, महर्जनले नेपालको तीन तहको सरकार, उनीहरूको क्षेत्रलगायतका विषयमा जानकारी दिएका थिए । मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरले सम्पदा संरक्षणमा प्रशस्तै काम गरेको बताए । सामाजिक सेवाको क्षेत्रमा पनि महानगरबाट धेरै काम सम्पादन भएको उनको दाबी थियो ।
मन्त्री एल्बर्टले कोसोभोमा रहेका पालिकाहरूको प्रविधि, ज्ञान, सीप र असल अभ्यास ललितपुर महानगरमा भित्र्याउन र अनुभव आदान–प्रदानका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘यसका लागि म ललितपुरका मेयरसहितका जनप्रतिनिधि र कोसोभोका मेयरहरूबिच छलफल गराउन प्रयास गर्छु ।’ मन्त्री एल्बर्टका अनुसार कोसोभोमा केन्द्रीय र स्थानीय गरी दुई सरकारको व्यवस्था छ । स्थानीय सरकारले पालिकाहरूका लागि फन्डको व्यवस्था गर्नुपर्छ । कोसोभोका मन्त्री एल्बर्टले भेटघाट फलदायी भएको बताए । मेयर महर्जनले नेपाल भ्रमण एकपटक मात्रै पर्याप्त नभएको बताउँदै फेरि आउन निम्तो दिए ।