एनपिएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई ६ पुसमा हुने फाइनलका दिन एसपिजी अटोमोबाइल्सको ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पुरस्कार
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले कार पाउने भएका छन् । ‘एनपिएलको फाइनलको दिन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले कार पाउनेछन्,’ नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले मंगलबार भने । शारडा ग्रुप र क्यानबिच सम्झौतासँगै एनपिएलमा उत्कृष्ट घरेलु खेलाडीले कार दिइने भएको हो ।
एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा दुई पक्षबिच सम्झौता भएको हो । ब्रान्ड डिजिटल लजिक प्रालिका सिइओ रोशन निरौला र शारडा ग्रुपअन्तर्गतको एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरेका छन् । ‘नेपाली क्रिकेटको इतिहासमै यो पहिलोपटक हो । एनपिएल खेलेपछि कम्तीमा खेलाडीले गाडी चढ्नुपर्छ भन्ने लक्ष्यका साथ यो कदम चालेका हौंँ,’ खड्काले भने, ‘हामी शारडा ग्रुपलाई धेरै धन्यवाद दिन चाहन्छौँ ।’
यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) वार्षिक रूपमा उत्कृष्ट खेलाडीलाई कार दिने गरेको थियो । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंह र हरि खड्काले कार पाएका थिए । साफ खेलकुदमा दुई स्वर्ण तथा पहिलोपटक छनोट चरण पार गरी ओलम्पिक खेलेकी तेक्वान्दोकी संगिना वैद्यले पनि कार पाएकी थिइन् ।
अब क्रिकेटमा उत्कृष्ट नेपाली खेलाडीले कार पाउनेछन् । क्यानका सचिव खड्काले उत्कृष्ट खेलाडीले कस्तो कार पाउने भन्ने अहिले जानकारी नभएको बताए । ‘अहिले नै खेलाडीले कस्तो मोडेलको कार पाउने भन्ने यकिन छैन, यसका लागि क्यान र शारडा ग्रुपले छिट्टै जानकारी दिनेछन्,’ उनले भने ।
एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले यस सहकार्यले नेपालमा क्रिकेटको प्रवद्र्धन र विकासका लागि टेवा पुग्ने बताए । ‘हामीहरूबिचको सहकार्यले क्रिकेटको लागि लोकप्रियता तथा सफलता पाउँदै गरेको परिदृश्यमा खेल विकासका लक्ष्य हासिल गर्न सहयोग पुग्नेछ,’ गौरवले भने । उत्कृष्ट खेलाडीले एसपिजी अटोमोबाइल्सको ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पाउनेछन् ।
धरहरा परिसरमा आकर्षक ट्रफी अनावरण भएको थियो । एनपिएल ट्रफीको मुख्य आकर्षण नै सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको छ । जनकपुर बोल्ट्समा आसिफ सेख, काठमाडौं गोर्खाजका करण केसी, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, चितवन राइनोजका कुशल मल्ल, लुम्बिनी लायन्सका रोहित पौडेल, विराटनगर किंग्सका सन्दीप लामिछाने, कर्णाली याक्सका सोमपाल कामी र सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेका छन् ।
जनकपुरको मुख्य प्रायोजक डिएनए
जनकपुर बोल्ट्सलाई डिएनए इन्टरनेसनलले मुख्य प्रायोजन गरेको छ । ड्रिम स्पोर्टस्को स्वामित्वमा रहेको जनकपुर र डिएनएबिच मंगलबार सम्झौता भएको छ ।
बोल्ट्सका प्रबन्ध निर्देशक नीरज खतिवडा र डिएनएका प्रबन्ध निर्देशक अनुप घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । रञ्जना ट्रेड सेन्टर आधिकारिक विक्रेता रहेको डिएनए इन्टरनेसनल नेपाल क्लोथिङ म्यानिफ्याक्चरिङ कम्पनी हो । जनकपुरका अमित श्रेष्ठले टाइटल्स स्पोन्सरका रूपमा डिएनएलाई स्वागत गरेको बताए ।
‘एनपिएलका लागि जनकपुरको राम्रो तयारी भइरहेको छ । डिएनए इन्टरनेसनल नेपालको साथले हामीलाई व्यावसायिक रूपमा अगाडि बढ्न ठुलो सहयोग पुगेको छ,’ श्रेष्ठले भने, ‘एनपिएलजस्तो ठुलो इभेन्टमा समावेश भएपछि डिएनए इन्टरनेसनल नेपालले पनि उचाइ छुने हामीले विश्वास लिएका छौँ ।’
डिएनएमा प्रबन्ध निर्देशक घिमिरेले भने, ‘जनकपुर बोल्ट्समा आबद्ध हुने मौका पाउनु हाम्रा लागि ठुलो सौभाग्य हो । हाम्रो कम्पनीले नेपालमा व्यवसाय गर्दै आएको छ, पछिल्ला केही वर्षमा यसले ठुलो इभेन्टसँग पनि आबद्ध हुँदै आएको छ ।’ डिएनएले जनकपुरले एनपिएल च्याम्पियन हुँदा प्रत्येक खेलाडीलाई एक लाख र फाइनल पुगेमा ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।
एक्सन स्पोर्टस्को युट्युबमा एनपिएल हेर्न सकिने
एनपिएलको युट्युब प्रसारण अधिकार डिस मिडिया नेटवर्कले प्राप्त गरेको छ । डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रसारण गर्न एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिस मिडिया नेटवर्कबिच सम्झौता भएको छ । एनपिएलका खेलहरू एक्सन स्पोर्टस्को आधिकारिक युट्युब च्यानलमार्फत प्रत्यक्ष रूपमा हेर्न सकिनेछ । एनपिएल टेलिभिजनमा भने स्टार स्पोर्टस् नेटवर्कले प्रसारण गर्नेछ ।
विराटनगरको उपाधि जित्ने दाबी
विराटनगर किंग्सले एनपिएलको पहिलो संस्करण उपाधि जित्ने दाबी गरेको छ । पूर्वअन्तर्राष्ट्रिय क्रिकेट खेलाडी पारस लुनियाले विदेशी प्रशिक्षक, पाँच विदेशी खेलाडी र मार्की खेलाडी सन्दिप लामिछानेसँग रहेकाले विराटनगर एनपिएल च्याम्पियन हुने बताए । ‘हामी एनपिएलको ट्रफी काठमाडौंबाट उचालेर विराटनगर ल्याएरै छाडनेछौँ,’ लुनियाले भने । एनपिएलपछि १० वर्षभित्रमा नेपालको चारवटा राष्ट्रिय टोलीबाट खेल्ने खेलाडी विराटनगरले उत्पादन गर्ने लक्ष्य लिएको उनले बताए । विराटनगरका सञ्चालक सुयश प्याकुरेलले कोच र खेलाडीहरू परिपक्व र आत्मविश्वासी छनोट भएकाले एनपिएल जित्ने उद्देश्य पूरा हुने बताए । त्रिवि क्रिकेट मैदानमा १५ मंसिर देखि ६ पुससम्म एनपिएल हुँदै छ ।