चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) के हो ?
बिआरआई चिनियाँ राष्ट्रपति सी जिनपिङले राखेको एउटा विकास सहकार्यसम्बन्धी प्रस्ताव हो । यो प्राचीन समयमा याक, उँट या घोडामार्फत युरोप, एसिया र अफ्रिका जोड्ने सिल्करोडको आधुनिक स्वरूप हो । यसले प्राचीन सिल्करोडबाट जोडिएका मुलुक र महादेशलाई आधुनिक रेलमार्ग र सडक सञ्जालले जोड्ने लक्ष्य लिएको छ । हामी ‘ल्यान्डलक्ड’ मुलुक भएकाले यहाँ सडकलाई भन्दा पनि रेललाई बढ्ता महत्व दिइएको छ । भूपरिवेष्टित भएकै कारण विगतमा हामीले पटकपटक आर्थिक नाकाबन्दी झेल्नुपरेको छ । त्यसैले, त्यसको एउटा भरपर्दो विकल्प हुन सक्छ यो बिआरई ।
हाम्रा लागि किन र कति आवश्यक छ यो सम्झौता ?
बिआरआई सम्झौता मुख्यतः तीन कारणले हामीलाई आवश्यक छ । पहिलो त हामी ल्यान्डलक्ड छौँ । ‘ल्यान्डलक्ड’बाट ‘ल्यान्डलिंक्ड’ मा परिणत हुनकै लागि पनि हामीलाई बिआरआई आवश्यक छ । दोस्रो, यसले हामीलाई ‘मल्टिपल कनेक्टिभिटी’को बाटो खुला गर्छ । हामीले युरोपसम्मको पहुँच सजिलै पाउन सक्छौँ । साथै, जापान र कोरियासितको व्यापारका लागि पनि यो अत्यावश्यक छ । तेस्रो, हामीले चीनियाँ बन्दरगाहको प्रयोग गर्ने सुविधा पाउँछौँ ।
बिआरआई सम्झौता भयो भने देश ऋणको पासोमा फस्छ भनिन्छ नि ?
यो सम्झौता भयो भने नेपालको एकातिरको छिमेकीमाथिको मात्र निर्भरता हट्नेछ । नेपालले वैकल्पिक मार्ग प्राप्त गर्नेछ । समुद्रसम्मको पहुँच सहज हुनेछ । अन्तरमहादेशीय ट्रान्जिट खुल्नेछ । यहाँनिर मुख्य प्रश्न ऋण कि अनुदान भन्ने छ । विश्वकै दोस्रो अर्थतन्त्रसित संवाद गर्दा नेपालजस्तो अति कम विकसित मुलुकलाई सकभर अनुदान नै देऊ भन्नुपर्छ । भएन भने आइएमएफ या विश्व बैंकको भन्दा कम ब्याजमा ऋण देऊ भन्न सक्नुपर्छ । त्यति भयो भने ऋणको पासोमा पर्ने जोखिम रहँदैन ।