अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार सहिद स्मारक ‘बी’ लिग फुटबल प्रतियोगिता आयोजना गर्न सार्वजनिक सूचना निकालेको छ । एन्फाले १० क्लबको विरोधका बाबबुद आगामी १३ माघदेखि ‘बी’ डिभिजन लिग सञ्चालन गर्न आवश्यक प्रक्रिया पूरा गर्ने क्रममा सूचना जारी गरेको हो । ‘बी’ डिभिजन लिग गत ०७८ सालपछि सञ्चालन हुन सकेको छैन । एन्फाले सार्वजनिक सूचना जारी गर्दा ‘बी’ डिभिजन लिगमा प्रतिस्पर्धा गर्न क्लबहरूले १९ मंसिरसम्म आफ्नो नाम दर्ता गरिसक्नुपर्नेछ ।
एन्फाले २३–२४ मंसिरमा एन्फाले फिफा कनेक्ट वर्कसप कार्यक्रम राखेको छ । २५–२६ मंसिरमा सहभागी क्लबहरूलाई लाइसेन्स वर्कसपमा सहभागी गराइनेछ । १३ पुसमा एन्फाले सहभागी सबै क्लबहरूको उपस्थितिमा लिगको खेल तालिका प्रकाशित गर्ने जनाएको छ । एन्फाले लिगमा आबद्ध १४ क्लबहरूलाई पत्राचार गरेको जनाएको छ । बाँसबारी, श्री कुमारी, श्री भगवती क्लब र प्लानिङ ब्वाइज क्लबले एन्फाको पछिल्लो निर्णयको विरोध जनाएका छैनन् ।
पुरानो बक्यौता दिँदा लिगमा सहभागी हुने
एन्फाले कार्यतालिका निकाले पनि ‘बी’ डिभिजन क्लबहरूले विरोध जनाएका छन् । विरोध गर्नेमा आरसिटी, मध्यपुर युथ, सरस्वती युवा, ब्रिगेड ब्वाइज, नयाँ बस्ती युथ, वीरगन्ज युनाइटेड, टुसाल युथ, ब्वाइज युनियन, च्यासल युथ र झापा फुटबल क्लब छन् । बी डिभिजनमा आबद्ध १४ मध्ये १० क्लबले भने लिग गर्नुअघि आफूहरूको माग पूरा हुनुपर्ने दबाब दिँदै आइरहेका छन् । उनीहरूले संयुक्त रूपमा विज्ञप्ति जारीसमेत गरेका छन् । एन्फाले आफूहरूको माग पूरा नगरेका कारण नै बोलाएको बैठकमा समेत अनुपस्थित हुँदै आएका छन् ।
गत साता एन्फाले ‘बी’ डिभिजन लिगको मिति घोषणा गर्दा पनि बैठकमा चार क्लब मात्र उपस्थित थिए । बाँकी असन्तुष्ट क्लबले बैठकमा भाग लिएनन् । असन्तुष्ट १० क्लबहरूले आफूहरूको पुरानो बक्यौता एन्फाले उपलब्ध गराउँदा मात्र ‘बी’ डिभिजन लिग खेल्ने बताएका छन् । क्लबहरूले ०७८ को लिग तयारीबापतको बक्यौता रकम अहिलेसम्म उपलब्ध हुन नसकेकाले आफूहरू बैठकमा उपस्थित नभएको जनाएका छन् । ती क्लबहरूले पुरानो बाँकी पैसा दिएर मात्र बैठकमा उपस्थित हुनेभन्दा पनि एन्फाले एकलौटी निर्णय लाद्न खोजेको आरोप लगाएका छन् । दुई वर्षअघि आर्थिक कारण एन्फाले पटक–पटक लिग सारेको थियो । गत वर्षदेखि भने एन्फा र क्लबबिच विवाद हुँदा लिग हुन सकेन ।
बक्यौता बुझ्न एन्फाको आग्रह
एन्फाले सार्वजनिक सूचनाबाटै क्लबहरूलाई पुरानो बक्यौता बुझन आग्रह गरेको छ । ‘केही क्लबहरूले तयारी खर्चको पहिलो किस्ता बुझिसकेको र पहिलो किस्ता लिन क्लब दर्तापछि एन्फामा सम्पर्क राख्न अनुरोध छ,’ एन्फाले भन्यो, ‘पुरानो भुक्तानी लिन बाँकी रहेको रकमका लागि आवश्यक कागजात सचिवालयमा पेस गरी रकम बुझ्न सक्नेछ ।’ एन्फाको पछिल्लो सूचनाले थप विवाद चर्कने देखिएको छ । एन्फाले आफ्नो निर्णयमा अघि बढ्दै लिग गरेको खण्डमा क्लबहरूलाई कारबाहीसमेत हुन सक्ने एक सदस्यले बताए ।
बाँसबारीका उपाध्यक्ष मधुसुदन उपाध्यायले क्लब दर्ताअगाडि नै पुरानो बक्यौता पूरा हुनुपर्ने दाबी गरेका छन् । ‘हामीले खेल हुनुपर्छ भनेका छौँ, खेल हुनुपर्छ तर क्लब दर्ता मितिभन्दा अगाडि सबै क्लबको बक्यौता चुक्ता हुनुपर्छ,’ उपाध्यायले भने, ‘बी’ डिभिजन क्लबहरूले वर्तमान कार्य समितिलाई असहयोग गरिरहेको भन्ने बुझाइ गलत हो । एन्फाले सबै प्रक्रिया पूरा गरेपछि लिग स्थगित गरेकाले क्लबको टिम तयारीमा ठुलो रकम खर्च भइसकेको छ ।’ उनले क्लबलाई राहत पुग्ने विषयमा एन्फाले छलफल गरी पुरानो तयारी बक्यौता दिए सबै क्लब फुटबल खेल्न तयार रहेको स्पष्ट पारेका छन् ।
बक्यौता दिए लिग खेल्न तयार छौँ : मधुसुदन उपाध्याय, उपाध्यक्ष, बाँसबारी क्लब
खेल हुनुपर्छ, तर क्लब दर्ता मितिभन्दा अगाडि एन्फाले बक्यौता चुक्ता गर्नुपर्छ । ‘बी’ डिभिजन क्लबहरूले वर्तमान कार्य समितिलाई असहयोग गरिरहेको भन्ने बुझाइ गलत हो । एन्फाले सबै प्रक्रिया पूरा गरेपछि लिग स्थगित गरेको थियो । क्लबलाई राहत पुग्ने विषयमा एन्फाले छलफल गरी पुरानो बक्यौता दिए सबै क्लब फुटबल खेल्न तयार छन् ।