मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १२ बुधबार
  • Wednesday, 27 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ मङ्सिर १२ बुधबार o६:o३:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : कर्णको नीति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर १२ बुधबार o६:o३:oo

कौरव सेनाको पक्षमा भएर पनि कर्ण धर्मनिष्ठ योद्धा थिए । भगवान् श्रीकृष्णले समेत उनको प्रशंसा गर्थे । महाभारत युद्धमा कर्ण अर्जुनको वध गर्न संकल्पित थिए । उनको संकल्प पूरा गर्न खाण्डव वनका महासर्प अश्वसेन, जो अर्जुनलाई मार्न चाहन्थ्यो, एउटा वाणको रूप लिएर कर्णको ठोक्रामा प्रवेश गर्‍यो । सामान्य अवस्थामा अर्जुनलाई डस्ने अवसर नपाएको हुनाले ऊ कर्णको वाणका रूपमा अर्जुनसम्म पुगेर उनको प्राणहरण गर्न चाहन्थ्यो । 

अर्जुन र कर्णको घमासान युद्धमा दुवैतिरबाट अनेकौँ वाण चले । यस क्रममा कर्णले थाहै नपाई अश्वसेनवाला वाण पनि चलाए । अर्जुनका सारथि बनेका श्रीकृष्णले यस वाणको भयानकता बुझेका थिए । त्यसैले, उनले योगबलले रथलाई जमिनमा भसाइदिए, जसले गर्दा वाणले अर्जुनको मुकुट मात्र भेदन गर्‍यो । यस असफलताबाट अश्वसेन क्षुब्ध भयो । ऊ कर्णसामु पुग्यो र भन्यो– हे महावीर कर्ण, अब फेरि एकपटक मलाई सावधानीपूर्वक चलाउनुहोस्, म जसरी भए पनि यसपटक अर्जुनको प्राण हरण गरेरै छाड्छु । मेरो विषबाट अब ऊ जीवित रहन सम्भव छैन । 

अश्वसेनको कुरा सुन्दा कर्ण आश्चर्यमा परे । उनले सोधे– हे अपरिचित नागदेवता, तपाईं को हुनुहुन्छ र अर्जुनलाई किन मार्न चाहनुहुन्छ ? अश्वसेनले भने– म परिवारसहित खाण्डव वनमा बस्ने नाग अश्वसेन हुँ । अर्जुनले खाण्डव वन जलाएर मेरो परिवारका सबैको प्राण हरण गरे । त्यसैले, म त्यसैको प्रतिशोध लिन तपाईंको ठोक्रामा वाणका रूपमा आएको हुँ । अब म तपाईं र मेरो साझा शत्रुको वध गरेरै छाड्नेछु । 

कर्णले अश्वसेनलाई भने– हे नागदेवता, तपाईंको यो विचारप्रति आभारी छु । तर, मलाई नीतियुद्ध नै लड्न दिनुहोस् । किनकि, म अर्जुनलाई अनीतिपूर्वक वध गर्न चाहन्नँ । अनीतिपूर्वक जित हासिल गर्नुभन्दा त युद्धभूमिमा मर्नु नै निको हो । कर्णको भनाइ सुनेपछि अश्वसेन फर्किए । जाँदाजाँदै उनले कर्णको धर्मनिष्ठाको प्रशंसा गर्दै भने– महावीर कर्ण, तपाईंको धर्मनिष्ठा नै सत्य हो । यसमा अनीतियुक्त पूर्वाग्रही छद्मयुद्धको कुनै स्थान छैन ।