साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । नेपाल प्रहरीको साइबर ब्युरो (सिआइबी) ले प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
उनले भने, ‘प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको र उनीविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिनेछ ।’
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार कसुरमा अनुसन्धान हुँदै
मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको प्रहरी टोलीले मंगलबार भक्तपुरस्थित निकोसेराबाट पक्राउ गरेको थियो ।
प्रसाईंले सोमबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री केपी ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिआटा टेलिकममा अवैध लगानी रहेको भन्दै विवादास्पद विवरण सार्वजनिक गरेका थिए । भिडियोसहित सार्वजनिक विवरण प्रसाईंले आफ्नो फेसबुक र अपडेट सेरोफेरो नामक फेसबुक अकाउन्टबाट सार्वजनिक गरेका थिए । सोही विवरण भ्रमपूर्ण रहेको भन्दै उनलाई सिआइबीले पक्राउ गरेको हो ।