वीरगन्ज महानगरपालिका– १६ नगवा टोलमा बस्दै आएकी ४५ वर्षीया निशा चन्द ठकुरी विगत एक दशकदेखि वीरगन्ज सहरमा अटोरिक्सा चलाउँदै आएकी छिन्। उनी वीरगन्जमा अटोरिक्सा चलाउने पहिलो महिला चालक हुन्। जिल्लाको साबिक राधापुर गाविस– ५ सैनिक टोलमा जन्मिएकी ठकुरी वीरगन्जमा बसोवास गरेको करिब २५ वर्ष हुन लाग्यो। विवाहपछि वीरगन्ज बस्न थालेकी उनले एक दशकदेखि अटोरिक्सा चलाइरहेकी छिन्।
उनका अनुसार त्यसताका वीरगन्जमा अटोरिक्सा चलाउने १२–१५ जना मात्र थिए। त्यसमाथि पनि महिला चालक ठकुरी मात्र थिइन्। उनी भन्छिन्, ‘रिक्सा चलाउनुअगाडि घरमा बस्दा केही काम थिएन। अटोरिक्सा चलाउन सक्ने आँट भएको केही दिनमै सडकमा कुदाउन थालेँ।’ सुरुमा त परिवारका अन्य सदस्यले अटोरिक्सा नचलाउन दबाब दिए। त्यसका बाबजुद घरमा जम्मा गरेर राखेको पैसा निकालेर साढे तीन लाखमा अटोरिक्सा किनेको उनले सुनाइन्। ठकुरीका अनुसार परिवारका सदस्यहरूबाट सुरुको केही महिनासम्म अटोरिक्सा नचलाउन निरन्तर दबाब भएको हो। आफूले चलाउन नछाड्ने बताएपछि केही महिनापछि परिवारका सदस्यहरूले पनि दबाब दिन छाडे।
‘पहिले अटोरिक्सा चलाउँदा घरपरिवारका सदस्यहरूले स्वीकार गर्न मानेका थिएनन्। अहिले सबैले सहज रूपमा लिएका छन्,’ उनी भन्छिन्। एक दशकदेखि अटोरिक्सा चलाउँदा उनलाई वीरगन्ज सहरको गल्लीगल्लीबारे जानकारी छ। उनी अहिले यात्रु पाएपछि दिनमा दुई–तीनपटकसम्म नेपाल–भारतको सीमावर्ती सहर रक्साेल पनि पुग्ने गरेकी छिन्। ‘पहिले–पहिले एक दिनमा दुई हजारदेखि चार हजारसम्म कमाइ हुने गरे पनि अहिले एक हजारजति कमाइ हुन्छ। अटोरिक्साको संख्या वीरगन्जमा एक्कासि बढेपछि कमाइ घटेको हो,’ उनले भनिन्।
आफू वीरगन्जमा एक्ली महिला अटोचालकका रूपमा रहे पनि अहिले भने कुनैकुनै वेला गाउँबाट अर्की एक महिला पनि अटोरिक्सा लिएर सहर आउने गरेको उनले बताइन्।
मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा बसेर अटोरिक्सा चलाउँदा महिला भएकै कारण कहिले पनि यात्रुबाट असहजता नभएको निशा बताउँछिन्। पहिले पहाडमा बस्दा वीरगन्जमा महिलालाई काम गर्न समस्या हुने सुनेको भए पनि आफूले एक दशकदेखि चालकको रूपमा काम गर्दा कहिले पनि बाहिर असहजता नभोगेको उनले बताइन्।
अटोरिक्सा चलाउँदा यात्रुको रूपमा महिला–पुरुष, युवायुवती र वृद्धवृद्धा चढे पनि कहिले पनि असहजता महसुस नभएको उनको भनाइ छ। अहिले महानगरपालिकामा अव्यवस्थित रूपमा अटोरिक्सा सञ्चालन हुँदा भने समस्या हुने गरेको उनी बताउँछिन्। वीरगन्ज आर्थिक कारोबार हुने मुख्य सहरमध्येको भए पनि अटोरिक्सा व्यवस्थापन गर्न स्थानीय सरकार चुकेको उनको बुझाइ छ। महानगरले जथाभावी सञ्चालनमा रहेका अटोरिक्सालाई व्यवस्थापन गर्न सके चालकको सहजै गुजारा हुने उनले बताइन्।