जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन्। नागरिक उन्मुक्ति पार्टीकी रूपमती डगौरा थारूले उम्मेदवारी फिर्ता लिएपछि चौधरी निर्विरोध भएकी हुन्।
समन्वय समिति संयोजक चयन गर्न हुन लागेको उपनिर्वाचनका लागि डगौरा र भुल दुईजनाको उम्मेदवारी परेको थियो। नागरिक उन्मुक्तिकी उम्मेदवार डगौराले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत प्रेम भट्टले जानकारी दिए।
नागरिक उन्मुक्ति र कांग्रेसका नेताहरूबिच समन्वय समितिमा कांग्रेसलाई समर्थन गरेर जाने सहमति भएको थियो। डगौरा नागरिक उन्मुक्ति पार्टीका नेता एवं प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरी, कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टलगायत नेताहरूसहित उम्मेदवारी फिर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पुगेकी थिइन्।
समन्वय प्रमुखमा निर्विरोध भएकी भुल गत स्थानीय तह निर्वाचनमा कैलारी गाउँपालिका– २ बाट दलित महिला सदस्यमा विजयी भएकी थिइन्। कांग्रेस–एमालेको साझा उम्मेदवारको रूपमा उनले उम्मेदवारी दिएकी थिइन्। नागरिक उन्मुक्तिले समर्थन नगर्दा पनि कांग्रेस उम्मेदवार भुल निर्वाचित हुने निश्चित थियो । कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख पदमबहादुर कलेलको निधन भएपछि उक्त पद रिक्त छ।