रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका– २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।
नेपाली कांग्रेस र नेकपा एमालेका संयुक्त उम्मेदवार नेकपा एमालेका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचन तालिकाअनुसार आज बुधबार उम्मेदवारी फिर्ताको समय दिइएको थियो। उक्त समयमा नेपाली कांग्रेस र नेकपा एमालेका संयुक्त उम्मेदवार रोका र स्वतन्त्र उम्मेदवार शुक्रराज विकले उम्मेदवारी फिर्ता लिएका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिए।
गठबन्धनका उम्मेदवार रोकाले घर्तीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको ओलीको भनाइ छ। अन्य कुनै उम्मेदवार नभएपछि माओवादी केन्द्रका घर्ती निर्विरोध भएका हुन्। तर, मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने औपचारिक घोषणा गर्न बाँकी छ।
उम्मेदवारी फिर्ताका लागि दिउँसो ३ बजेसम्मको समय भएकाले त्यसपछि मात्र औपचारिक जानकारी सार्वजनिक हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।