Skip This
आगलागीले ध्वस्त भएकाे गुल्मीकाे दजाकोटका घरघरमा खानेपानीकाे सुविधा
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १ शनिबार
  • Saturday, 16 November, 2024
२o८१ मङ्सिर १ शनिबार १२:१५:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आगलागीले ध्वस्त भएकाे गुल्मीकाे दजाकोटका घरघरमा खानेपानीकाे सुविधा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १ शनिबार १२:१५:oo

आगलागीले ध्वस्त भएकाे गुल्मीकाे दजाकोटका घरघरमा खानेपानीकाे सुविधा पुगेकाे छ । यस अघि यहाँ खानेपानीको पुर्ख्यौली समस्या थियाे । ०७३ सालमा आगलागीले यहाँकाे बस्ती ध्वस्त भएर नष्ट भएका थिए । त्यसपछि गाउँ झन् पानीकाे अभावले काकाकुलको अवस्थामा पुगेकाे थियाे ।

स्थानीय ५७ वर्षीय यम बहादुर गाहाले खानेपानी नहुँदा छल्दिखोला, ओलाङ्दि, रासी गाउँसम्म पुगेर पानी बोक्ने अवस्थाको स्मरण गरे । ‘भालेले डाँको छोड्दा एक गाग्रो पानी घर आउँथ्यो । गुजारा चलाउन बिहान पानी पुराएर मेला पुग्नुपर्थ्यो,’ उनले भने, ‘बिगतका दिन सम्झँदा सपना जस्तो लाग्छ ।’ गाहा मात्रै नभएर दजाकोटका कैयन पुरानो पुस्ताले खानेपानीकाे ठूलो संकट झेलेका छन् ।

अहिले लिफ्ट प्रविधीमार्फत खोलाको पानी घरमै धारामा खसेपछि खुसीको सीमा नरहेको स्थानीय तथा शिक्षक समेत रहेका बोम छन्तेलले बताए । ‘खोलाको पानी आउला भन्ने पत्यार लागेकाे थिएन । तर, खर्चिलो भएपनि प्रविधिले संभव बनाउँदाे रहेछ,’ उनले भने, ‘सुन्ने कोहि नभएकाले मगर समुदायका कैयौँ पुस्ताले ढाडको छाला खुइलाएर पानी बोके ।’

दजाकोट कम बसाइसराई भएको गाउँ हो । आगलागीपछि केहि घर मात्र तराई झरे । गाउँमा हुनेहरु अहिले पानी पर्याप्त भएका कारण कृषि र पशुपालनमार्फत राम्रो आयआर्जन गरेको स्थानीय सरिता गाहाले बताइन् । ‘लगभग सबै बुहारीहरु नै गाउँमा छौँ । अहिले पानी प्रयाप्त भएपछि घरकै काम, सरसरफाई र कृषि तथा पशुपालनमा पनि केहि न केहि उद्यममा सहजीकरण भएको छ’, उनले भनिन्, ‘घरमै पानी आएपछि थुप्रै फाइदा भएको छ ।’ 

शुक्रबार भगलामगैरा दजाकोट लिफ्ट खानेपानी योजनाको पूर्व मन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले उद्घाटन गरे । उनले स्थानीयलाई सम्बोधन गर्दै दजाकोटको हरेक समस्यामासंगै भएकाले लिफ्ट खानेपानीमा जनताले चर्को महसुस तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न पहल खाेजिने बताए ।

बिष्टले आगलागीले बस्ती ध्वस्त हुँदा आफुले स्थानीयलाई दिएको बचन पुरा गर्न सकेकोमा खुशी व्यक्त गरे । ०७३ बैशाखमा दजाकोट आगलागीले ध्वस्त भएपछि खानेपानीको राम्रो श्रोत थिएनन् । जसको कारण अहिले बस्तीदेखि ६ सय मिटर तलबाट लिफ्ट मार्फत पानी घरघरमा पुराइएको छ । 

यो खानेपानी योजनामार्फत एक सय २३ घरमा ‘एक घर एक धारा’ पुगेको छ । एक विद्यालय र एउटा सामुदायिक स्वास्थ्य केन्द्रमा समेत खानेपानीको व्यवस्था भएको भगलामगैरा दजाकोट लिफ्ट खानेपानी उपभोक्ता समूहका सचिव दिल बहादुर सोनारीले जानकारी दिए ।

पूर्वाधार साझेदारी  विकास कार्यक्रमको ६५ लाख रुपैयाँ, खानेपानी तथा सरसफाई कार्यालय गुल्मीको ९७ लाख ४८ हजार ६ रुपैयाँ, नेपाल विद्युत प्राधिकरण मार्फत ४३ लाख ९० हजार ७५६ का विद्युतीय सामग्री र ३७ लाख ५० हजारको जनश्रमदान रहेको सोनारीले बताए । 

आगलागी र पानीका कारण दजाकोटमै हैजाले एक जनाले ज्यान गुमाए । दर्जनौ व्यक्ति बिरामी परे । अहिले घरघरमा पानी झरेको छ । मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले तीन/चार बर्ष पहिले नै पानी खसेपनी अहिले खुसी साट्न पाएकोमा खुशी व्यक्त गरे । उनले तत्कालीन अवस्थामा योजना समावेश गर्ने तीनै तहका सरकारलाई धन्यवाद दिए ।

योजना कार्यान्वयन गर्ने खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख सरोज न्यौपानेले तीन तहकाे सरकारको लगानी हुँदा पनि समयमै काम भएको बिरलै मध्येको योजना रहेको बताए । पुराना योजना अझै थुप्रै क्रमागत रुपमा रहेको अवस्थामा भगलाममा आफुहरु अझै पनी मर्मतमा जोडिन सक्ने बताए ।  

दजाकोटमा ०७३ वैशाख १८ गतेको आगलागीले ५७ घर र ७० गोठ पूर्ण तथा आठ घर आंशिक क्षति भएका थिए । घटनामा पाँच सय बढी पशुचौपाया र कुखुराहरू आगोले नष्ट भएका थिए । अहिले ४१ घर पूर्ण रूपमा पुनर्निमाण गरिएको छ । त्यो बेला क्षति भएकामध्ये केही पीडित परिवार बसाई सरेर अन्यत्र गएका छन् ।