Skip This
यामु निरौला हत्या प्रकरण : एमाले सांसदका भाइसहित आठ पक्राउ
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३० शुक्रबार
  • Saturday, 16 November, 2024
बुधबार जिल्ला प्रहरी कार्यालय झापा परिसरमा देखिएको बुद्धिमान थापा चढ्ने गाडी । तस्बिर : नयाँ पत्रिका
२o८१ कार्तिक ३० शुक्रबार o८:o५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

यामु निरौला हत्या प्रकरण : एमाले सांसदका भाइसहित आठ पक्राउ

बुधबार दिनभर थापा चढ्ने गाडी जिल्ला प्रहरी कार्यालयअगाडि, प्रहरीले लुकायो आत्मसमर्पणको सूचना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ३० शुक्रबार o८:o५:oo

झापाको दमक नगरपालिका– ९ का ३७ वर्षीय यामु निरौलाको हत्या प्रकरणमा मुछिएका बुद्धिमान थापासहित आठजना पक्राउ परेका छन् । एमाले नेता तथा कोशी प्रदेश सभा सदस्य होमबहादुर थापाका भाइ बुद्धिमानले घटनाको २४ दिनमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । बुबाको निधनपछि अन्तिम संस्कार गर्न आएका थापालाई प्रहरीले बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले जानकारी दिए । उनी १४ दिनदेखि दमकमै थिए ।

६ कात्तिकमा दमक– ३ मा रहेको जग्गासम्बन्धी विवादका क्रममा कुटपिट हुँदा निरौलाको हत्या भएको थियो । उनको मृत्युपछि परिवारले थापासहित सातजनाविरुद्ध ७ कात्तिकमा इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिएको थियो । जाहेरीको २३ दिनपछि थापाले जिल्ला प्रहरी कार्यालय चन्द्रगढीमा आत्मसमर्पण गरेका हुन् । यद्यपि, घटनाको अनुसन्धानका क्रममा थाप दुईजनाको संलग्नता देखिएपछि नौजनाविरुद्ध झापा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएकामध्ये आठजना पक्राउ परेको झापाका प्रहरी प्रवक्ता चन्दले जानकारी दिए । पक्राउ पर्नेमा थापासँगै गणेश दर्जी, प्रकाश कार्की, ध्रुव गौतम, नमकुमार चेम्जोङ, शेरबहादुर नेम्वाङ, गोपाल भण्डारी र भीमराज चम्लागाईं छन् । चन्दका अनुसार डेबिड घले अझै फरार छन् । प्रहरी स्रोतका अनुसार घटनामा संलग्नमध्ये चेम्जोङ, नेम्बाङ, भण्डारी र चम्लागाईंले केही दिनअघि प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । 

थापाले बुधबार नै जिल्ला प्रहरी कार्यालय झापामा आत्मसमर्पण गरेका थिए । उनी इलाका प्रहरी कार्यालय दमकबाट बुधबार कागजात बनाएर जिल्ला प्रहरी कार्यालय पुगेको स्रोतले जनाएको छ । तर, प्रहरीले उनी पक्राउ परेको सूचना लुकाएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी चन्दले बिहीबार मात्र पक्राउ परेको दाबी गरे । यद्यपि, नयाँ पत्रिकालाई प्राप्त एउटा तस्बिरले पनि उनी बुधबार नै पक्राउ परेको पुष्टि गर्छ । नयाँ पत्रिकालाई बुधबार प्राप्त तस्बिरमा बुद्धिमानले प्रयोग गर्ने सवारी जिल्ला प्रहरी कार्यालय परिसरको गेटमा देखिन्छ ।

जिल्ला प्रहरी कार्यालयले बुद्धिमानबारे सूचना दिन पनि इन्कार गर्दै आएको छ । प्रहरीमा आत्मसमर्पण गरेका उनलाई म्याद मिलानका लागि बिहीबार नै जिल्ला सरकारी वकिलको कार्यालय झापा लगिएको थियो । ‘अनुसन्धानको आफ्नै प्रक्रिया हुन्छ । कुनै व्यक्ति विशेष (पार्टिकुलर) केसमा भन्न सक्दिनँ । मसँग जानकारी भएको दिएकै छ । यसबारे जानकारी छैन,’ प्रवक्ता चन्दले भने । बिहीबार थापाको म्याद थप भएन । शुक्रबार म्याद थप गर्ने तयारी भएको प्रहरी स्रोतले जनाएको छ। 

राजनीतिक संरक्षणका कारण थापालाई पक्राउ गर्न प्रहरीले ढिलाइ गरेको मृतकका दाजु नवराज निरौला बताउँछन् । ‘हामीलाई प्रहरीले गर्ने अनुसन्धानमा शंका उब्जिएको छ । बुधबार पक्राउ गरेर बिहीबार मात्र पक्राउ गरेको भन्छ । प्रहरीले पक्राउ गर्न तदारुकता पनि देखाएन । अदालतमा मुद्दा बुझाउने वेला भएपछि सबै आफैँ आत्मसमर्पण गर्न आए । बुद्धिमान थापालाई पनि प्रहरीले कागजात मिलाउने पर्याप्त समय दियो । यसले मुद्दा कमजोर हुने आशंका छ,’ उनले भने, ‘बुद्धिमानका भाइ तथा एमाले केन्द्रीय सदस्य गोविन्द थापाले जाहेरी दिने वेलामा हाम्रा लागि यो त झिँगा मरेको जस्तो हो भनेर मलाई धम्क्याएपछि नै हामीलाई मुद्दा फितलो बनाउँछन् भन्ने डर छ ।’ उनीहरूले आत्मसमर्पण गरेदेखि नै प्रहरीले अदालतमा मुद्दा बुझाउन हतार गरेको नवराजको दाबी छ । ‘के–के कागजमा हस्ताक्षर गर्नु भन्दै थिए । प्रहरी उनीहरूलाई एक दिन पनि हिरासतमा राख्न चाहँदैन । तर, हामीले हस्ताक्षर गरेका छैनौँ,’ उनले भने ।