१६ महिनायता वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदर नियमित रूपले घटाइरहेका छन् । भदौ ०८० मा मुद्दती निक्षेपको औसत ब्याजदर १०.३२ प्रतिशत रहेकोमा त्यसयता निरन्तर घटाइरहेका बैंकहरूले मंसिरका लागि औसत ब्याजदर ५.९९ प्रतिशत निर्धारण गरेका छन् ।
ब्याजदर ६ प्रतिशत हाराहारी रहेको अवस्थामा निक्षेपकर्ताले प्रायः तीन महिना अवधिका लागि मात्रै मुद्दतीमा निक्षेप राख्न थालेको बैंकरहरू बताउँछन् । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले भने, ‘अहिले मुद्दती निक्षेपमा औसतमा ६ प्रतिशत ब्याजदर दिइरहेकाले तीन महिना अवधिका लागि मात्रै मुद्दतीमा पैसा राख्ने प्रवृत्ति मौलाएको छ । एक वर्षभन्दा बढी अवधिको मुद्दती राख्ने ग्राहक नै छैनन् ।’
राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमा ३ प्रतिशत कायम राखेकाले बैंकहरू ३ प्रतिशतभन्दा कम दरमा ब्याजदर नघटाउने देखिन्छ । त्यसैले मुद्दती निक्षेपतर्फ मंसिरका लागि ब्याजदर निर्धारण गर्दा अधिकांश बैंकले खासै घटाउन नसकेको उनको भनाइ छ ।
कर्जाको माग नहुँदा बैंकहरू लागत बढी पर्ने भएकाले निक्षेपप्रतिको आकर्षण कम गर्न ब्याजदर घटाइरहेका छन् । केन्द्रीय बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थामा ६६ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन छ । कर्जा लगानी ५२ खर्ब ७८ अर्ब छ । बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेपको अनुपात ७८.३२ प्रतिशत कायम छ । केन्द्रीय बैंकले बैंकहरूलाई ९० प्रतिशतसम्मको अनुपात कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको छ । कर्जाको माग नबढ्दा ब्याजदर पनि कम हुँदै गइरहेकाले पुँजी पलायनको जोखिम रहेको खालिङको भनाइ छ ।
मंसिरमा ११ वाणिज्य बैंकले घटाए ब्याजदर
मंसिरका लागि ११ वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा ब्याजदर घटाएका छन् । माछापुच्छ्रे बैंकले मंसिरका लागि व्यक्तिगततर्फ मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याजदर कायम गरेको छ । यो कात्तिकको भन्दा १ प्रतिशत विन्दुले कम हो । त्यसैगरी, एनएमबि, नबिल, ग्लोबल, स्ट्यान्डर्ड चार्टर्ड, लक्ष्मी सन्राइज, प्राइम, कृषि विकास, एनआइसी एसिया, सिटिजन्स र कुमारी बैंकले ब्याजदर घटाएका छन् ।
नेपाल इनभेष्टमेन्ट मेगा बैंक, हिमालयन, सानिमा, प्रभु, एभरेष्ट, एसबिआई, नेपाल बैंक र सिद्धार्थ बैंकको ब्याजदर स्थिर छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर भने ०.२ प्रतिशत विन्दुले बढेर ६ प्रतिशत कायम छ ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ भन्छन्–तीन महिनाका लागि मात्रै निक्षेप राख्ने प्रवृत्ति बढ्याे
अहिले मुद्दती निक्षेपमा औसतमा ६ प्रतिशत ब्याजदर दिइरहेकाले तीन महिना अवधिका लागि मात्रै मुद्दतीमा पैसा राख्ने प्रवृत्ति मौलाएको छ । एक वर्षभन्दा बढीको मुद्दती राख्ने ग्राहक नै छैनन् । बैंकमा पैसा राखे कम ब्याज पाउने भएपछि निक्षेपकर्ताहरू कहाँ लगानी गर्ने भन्ने अन्योलमा छन् ।