१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३० शुक्रबार
  • Friday, 13 June, 2025
टेकराज थामी काठमाडाैं
२o८२ जेठ ३० शुक्रबार o५:५८:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दिलभूषणका सहकर्मी अर्यालमाथि पनि प्रहरीको धरपकड प्रयास

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ ३० शुक्रबार o५:५८:oo

प्रेस काउन्सिलको अधिकार क्षेत्र अतिक्रमण हुने गरी पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न अदालतबाट पुर्जी लिएको प्रहरीले उनका सहकर्मी नारायण अर्यालमाथि पनि धरपकडको प्रयास गरेको छ । तर, पत्रकारहरूले प्रहरीलाई अवरोध गरेर अर्याललाई पक्राउ पर्नबाट भने जोगाएका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोको टोली बिहीबार बिहानबाटै अर्यालको निगरानीमा थियो । उनी कुपण्डोलमा रहेको सूचनापछि ब्युरोबाट डिएसपी कुमार थापाको टोली पछ्याउँदै पुगेको थियो । प्रहरी पछि लागेको शंकापछि अर्याल कुपण्डोलस्थित नटराज ट्राभलको कार्यलय छिरेका थिए । उक्त सूचना पाएपछि प्रेस युनियनका अध्यक्ष शिव लम्सालसहितको टोली घटनास्थल पुगेको थियो । पत्रकारहरु पुगेसँगै पक्राउ गर्न अवरोध भएपछि प्रहरी पछि हटेको थियो । 

युनियन अध्यक्ष लम्सालले पत्रकार आर्याललाई प्रहरीले पक्राउ गर्ने कोसिस गरेको, तर अवरोधपछि ‘व्याक’ भएको बताए । ‘अर्याल प्रहरीको निगरानीमा रहेछन् । उनी कुपण्डोल रहेको सूचनापछि प्रहरी टोली पछ्याउँदै पुगेको रहेछ । शंका लागेपछि अर्याल एउटा ट्राभलमा छिरे । त्यही क्रममा हामी पुग्यौं । उहाँहरु पक्राउका लागि प्रकृया नपु¥याई आएकाले व्याक हुनुभयो । अर्याल अहिले सुरक्षित छन्,’ लम्सालले भने ।

अर्याल प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर पक्राउको प्रयास गरिरहेको अर्का पत्रकार पाठकसँगै कार्यरत छन् । प्रकाशित/प्रशारित समाचारमा चित्त नबुझे उजुरी गर्ने निकाय प्रेस काउन्सिल हुँदाहुँदै काउन्सिलको अधिकार क्षेत्र नै अतिक्रमण हुनेगरी पाठकलाई विद्युतीय अपराध ऐनअन्तर्गत फौजदारी मुद्दा चलाउन खोजेपछि संचारसम्बद्ध संगठनहरुले विरोध गर्दै आएका छन् । तर, उनका सहकर्मीलाई समेत पक्राउ गर्न खोज्नुले सरकार प्रेसप्रति असहिष्णु देखिएको छ ।

पाठकले इन्टरफेस नेपाल नेटवर्कबाट सञ्चालित युट्युब च्यानल इन्टरफेस नेपाल डटकमबाट नक्सालस्थित पाँच तारे होलट हिल्टनमा काँग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयबीर देउवाको लगानी रहेकोबारे सामग्री प्रशारण गरेका थिए । उनले च्यानलमार्फत जयबीरको दुबइ, अष्ट्रेलिया र क्यानाडामा रियलस्टेटको बिजनेस रहेको बताएका थिए । यसैलाई आधार बनाएर जयवीरले प्रहरीमा उजुरी दिएका थिए ।

समाचारको खण्डन गर्दै हिल्टनका सञ्चालक शंकर ग्रुपले गत २१ बैशाखमा विज्ञप्ती नै जारी गरेका थिए । तर, सोही समाचारलाई लिएर उजुरी परेपछि प्रहरीको साइबर ब्युरोले पाठक र अर्यालबिरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । ब्युरोले पाठकलाई पनि निगरानीमा राखेको छ । तर, उनी भने पक्राउ परेका छैनन् । 

प्रेस काउन्सिलमा पत्रकार पाठकको निवेदन
समाचार लेखेकै आधारमा कुनै पनि पत्रकारलाई पक्राउ गर्न नमिल्ने भन्दै नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर लगायतका संघ संस्थाले चर्को बिरोध गरेका छन् । पक्राउ गर्न प्रहरी पछि लागेपछि पत्रकार पाठकले सहयोगका लागि महासंघ र प्रेस काउन्सिलमा निवेदनसमेत लेखेका छन् । 

निवदेदनमा उनले भनेका छन्, ‘मैले प्रशारण गरेको सामग्रीका विषयमा कुनै असहमति, गुनासो वा फरक मत भएमा सबैभन्दा पहिला मसँग अनि त्यसमा पनि चित्त नबुझेमा प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने र त्यसमाथि प्रेस काउन्सिलले नै अनुसन्धान तथा छानबिन गर्नुपर्ने कानुनी व्यवस्था रहँदारहँदै किन विद्युतीय अपराध ऐन आकर्षित गर्न खोजियो र फौजदारी कानुनमार्फत कारबाही गर्न खोजियो भन्ने कुराले गम्भीर आशंका उब्जाएको छ ।’

हिल्टनमा जयवीरको लगानीबारे सामाजिक सञ्जालमा लेख्ने युवाविरुद्ध मुद्दा दर्ता
हिल्टन होटलकै लगानीलाई लिएर सामाजिक सञ्जालमा स्टाटस लेख्ने राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका संयोजक सुजित केसीविरुद्ध सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । उनले काँग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा र जयबीर देउवाबिरुद्ध फेसबुकमा स्टाटस पोष्ट गरेका थिए । सोही पोष्टलाई लिएर केसीविरुद्ध विद्युतीय कारबार ऐन, ०६३ को दफा ४७ प्रयोग गरेर किटानी जाहेरी परेको थियो थिए ।

केसीबिरुद्ध जाहेरी दिन जयवीर ब्यूरोको कार्यालय पुगेका थिएनन्, जाहेरी लिन प्रहरी टोली नै जयवीर बसेको ठाउँ पुगेको थियो । जाहेरीमा जयवीरले आफ्नो नाम पनि लेखेका थिएनन् । उनले ‘साइबर ब्यूरो ५५’ नामबाट जोहरी दिएका थिए । 

जाहेरीपछि साइबर ब्युरोले अनुसन्धान गरेको थियो । त्यसलगतै केसी पक्राउ परेका थिए । तर, उनका परिवारले सर्बोच्च अदालतमा बन्दी प्रत्क्षीकरणको मुद्दा हालेपछि उनी ६ दिनपछि हिरासत मुक्त भएका थिए । 

केसीले लेखका थिए, ‘भ्रष्टाचारबाट आर्जन गरिएको कालो धनलाई सेतो बनाउन गरिएको प्रपञ्च । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु देउवाका छोरा जयवीर सिंह देउवाले काठमाडौं नक्सालस्थित हिल्टन होटल खरिद गरेका छन् ।’

पत्रकारविरुद्ध पक्राउ पुर्जी र समाचार हटाउन अदालतको आदेशपछि कानुनी उपचार खोज्न महासंघको पहल, प्रेस काउन्सिल पनि अध्ययन गर्दै 
नेपाल पत्रकार महासंघले पत्रकार पाठक र आर्यालविरुद्ध प्रहरीले जारी गरेको पक्राउ पुर्जी तथा बिजमाण्डुडटकम र नेपालखबरडटकममा प्रकाशित समाचार हटाउन अदालतले दिएको आदेशविरुद्ध कानुनी उपचार खोज्न नेपाल बार एसोसिएसनसँग छलफल गरेको छ । छलफलका लागि बारका अध्यक्ष विजयप्रसाद मिश्रसहितको टोली बिहीबार महासंघ कार्यालय पुगेको थियो ।

छलफलमा महासंघकी अध्यक्ष निर्मला शर्मासहितको टोली सहभागी थियो । छलफलमा पत्रकारविरुद्ध जारी भएको पक्राउ पुर्जी र समाचार हटाउन अदालतले दिएको आदेशलाई मुख्य एजेन्डा बनाइएको थियो । छलफलपछि बारका पदाधिकारीले महासंघको एजेन्डामा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

महासंघका महासचिव रामप्रसाद दाहालले भने, ‘समसामयिक विषयमा बारका पदाधिकारीबिच छलफल भयो । महासंघको एजेन्डामा उहाँहरू सहयोग गर्न तयार हुनुभएको छ । महासंघले पनि सहयोगकै निम्ति उहाँहरूलाई छलफलमा बोलाएको थियो ।’

पत्रकार पाठक र अर्यालविरुद्ध जारी भएको पक्राउ पुर्जीका सम्बन्धमा प्रेस काउन्सिल नेपालले पनि ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै काउन्सिलले भनेको छ, ‘प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यममा सम्प्रेषण भएका सामग्रीमा आचारसंहिता पालना भए/नभएको सम्बन्धमा नियमित अनुगमन गर्दै आइरहेको छ ।

यसै सन्दर्भमा मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल (विशेषगरी युट्युब च्यानल)बाट सम्प्रेषित सामग्रीको समेत अनुगमन भइरहेको छ । पछिल्लो समय सञ्चारमाध्यमबाट सम्प्रेषित समाचार हटाउन भएको आदेश, कतिपय पत्रकारले प्रयोग गरेको सामाजिक सञ्जालमा राखिएका सामग्रीका विषय र पत्रकार पकाउ पुर्जीबारे आएका विषयवस्तुप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ । यससँग सम्बन्धित विषयमा सूक्ष्म रूपमा अध्ययन गर्दै काउन्सिलले सम्बद्ध निकायसँग छलफल गरिरहेको छ ।’