
भिजिट भिसाको सेटिङमा आफ्नो संलग्नता नरहेको प्रस्टीकरण दिँदै आएका गृहमन्त्री रमेश लेखकले अध्यागमनको बेथितिबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रालयलाई पत्र लेखेको विषय भने स्वीकार गरेका छन् । शुक्रबार संसदमा जवाफ दिँदै उनले अख्तियारबाट पत्रहरू आएकाले त्यसमा ध्यान आकर्षित भएको बताएका हुन् । सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिनुअघि नै आयोगले मन्त्रालयलाई पत्र लेख्दै विकृति सुधार गर्न भनेको थियो ।
यसबारे गृहमन्त्री लेखकले संसदमा भने, ‘माननीय सदस्य साथीहरूले अख्तियारबाट पत्रहरू प्राप्त भएकोबारेमा म आग्रह गर्न चाहन्छु– मन्त्रालयको यसबारेमा पर्याप्त ध्यान आकर्षित भएको थियो, मन्त्रालयले तदअनुरूप आफ्ना कामहरू अगाडि बढाएको थियो ।’ तर, पत्र आएपछि सुधारका लागि के काम भएको थियो भनेर खुलाउन सकेन ।
पटक–पटक पत्र लेख्दा पनि सुधारका लागि प्रयास नभएपछि अख्तियारले अन्डरकभर अप्रेसन चलाएर तत्कालीन अध्यागमन प्रमुख भट्टराईलाई पक्राउ गरेको थियो । उनले मन्त्रालयकै संरक्षणमा असुली धन्दा चलाएको आरोप लाग्दै आएको छ । भट्टराईलाई गृहमन्त्री लेखकले नै गत २३ असोजमा अध्यागमनमा पठाएका थिए।