Skip This
बास्केटबलको पहिलो अन्तर्राष्ट्रिय सहभागितामै पदक जित्दा... 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १ शनिबार
  • Saturday, 16 November, 2024
२o८१ मङ्सिर १ शनिबार o८:५३:oo
Read Time : > 4 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बास्केटबलको पहिलो अन्तर्राष्ट्रिय सहभागितामै पदक जित्दा... 

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १ शनिबार o८:५३:oo

सन् २००२ मा भारतको गुवाहाटीमा दक्षिण एसियाली बास्केटबल प्रतियोगिता (साबा) आयोजना भएको थियो । यसै प्रतियोगिताबाट नेपालले आधिकारिक रूपमा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएको हो । पहिलो संस्करणको साबामा सहभागी हुन विपेन्द्र महर्जनको कप्तानीमा राष्ट्रिय टोली बन्यो । दुई महिनाको प्रशिक्षण लिएर गुवाहाटी पुगेको नेपालले तेस्रो स्थान हात पार्‍यो । भारत र बंगलादेशसँग पराजित भएको नेपालले माल्दिभ्सलाई हराउँदै तेस्रो स्थान रक्षा गरेको थियो । समग्रमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा राष्ट्रलाई सफलता दिलाएका विपेन्द्रले सन् २०१२ मा सन्न्यास लिए । एक दशक बढी घरेलु तथा अन्तर्राष्ट्रिय बास्केटबल खेलेका उनले २२ वर्षअघिको साबा प्रतियोगितामा पदक जित्दाको स्मरण नयाँ पत्रिकाका श्रीलोचन राजोपाध्यायलाई यसरी सुनाए: 

घरनजिक त्रिचन्द्र कलेज थियो । त्यहाँ साथीहरूसँग बास्केटबल खेल्न जान्थेँ । हामी रमाइलो गर्न त्यहाँ जान्थ्यौँ । यसै खेललाई भविष्य बनाउँछु भनी खेलेको होइन । त्यतिवेला ग्यालेक्सी स्कुलमा पढ्दा होस्टेल बसेको थिएँ । हामी खाली समयमा स्कुलको कोर्टमा बास्केटबल खेल्थ्यौँ । स्कुलको गेम टिचरले सधैँजस्तो मलाई नै कप्तान बनाउनुहुन्थ्यो । पछि गएर म नेपालको पहिलो राष्ट्रिय बास्केटबलकै कप्तान भएँ । 

त्यो समयमा बास्केटबल खेल्दा धेरै संघर्ष गर्नुपर्‍यो । सिमेन्टले बनेको कंक्रिट कोर्टमा बास्केटबल खेल्थ्यौँ । यसरी धेरै वर्षसम्म सिमेन्टको कोर्टमै खेल्यौँ । क्याम्पियन कलेजमा ब्याचलर पढ्दाको समय थियो त्यो । त्यही समय नेपालले भारतको गुवाहाटीमा आयोजना हुने साबा च्याम्पियनसिपमा भाग लिने कुरा सुनेँ । बास्केटबल संघले नेपालकै पहिलो अन्तर्राष्ट्रिय बास्केटबल प्रतियोगितामा भाग लिन राष्ट्रिय टोली बनाउने घोषणा गर्‍यो । संघले छनोटको आधार एउटा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्‍यो । प्रतियोगितापछि दिनेश नकर्मी सरले ‘तिमी’ पहिलो चरणको छनोटमा पर्‍यौ भन्नुभयो । 

यो सुन्दा म अचम्ममा परेँ । मैले त्यसवेलासम्म यो खेललाई गहिरो रूपमा लिएको थिइनँ । कलेजहरूले आयोजना गर्ने प्रतियोगितामा भाग लिन्थेँ । मेरो खेल शैली देखेर उहाँ प्रभावित भएको हुनुपर्छ । यसै कारण म पहिलो चरणको क्लोज क्याम्पमा परेँ । त्यसपछि लामाटारमा रहेको शुभतारा स्कुलमा हाम्रो प्रशिक्षण भयो । बिहान दुई घण्टाको प्रशिक्षण हुन्थ्यो । दुई महिनाजतिको प्रशिक्षणपछि नेपालकै पहिलो बास्केटबलको टोली घोषणा हुँदा मलाई कप्तान बनाएको थियो । यद्यपि, टोलीमा मभन्दा सिनियर दाजुहरू हुनुहुन्थ्यो । स्कुलदेखि नै कप्तानको जिम्मेवारी पाएको थिएँ । कोर्टभित्र सबैलाई नियन्त्रणमा राख्न सक्ने खुबी भएकाले मलाई दिनेश सरले कप्तान बनाउनुभएको जस्तो लाग्छ । एक खेलाडीका लागि यो ठुलो उपलब्धि थियो । म एकदम खुसी भएँ । सिनियर दाजुहरू हुँदाहुँदै मैले कप्तानी अवसर पाएँ । 

ट्रेनको ६ घण्टा प्रतीक्षा
गुवाहाटीमा हामी दुई दिनअगाडि पुग्ने योजना भयो । काठमाडौंदेखि भारतको सिलगुढीसम्म बसबाट गयौँ । हामीले साँझको ६ बजे गुवाहाटी जाने ट्रेनको टिकट लिएका थियौँ । रमाइलो पक्ष यो रह्यो, नेपाली टोलीमा छनोट भएका सबै खेलाडीको पहिलो वैदेशिक भ्रमण र ट्रेनको यात्रा थियो ।

ओहो ! ट्रेन चढ्ने भइयो भनी सबै ‘एक्ससाइटेड’ भएर साँझ ६ बजेको ट्रेन पक्रिन स्टेसनमा हामी पुगेका थियौँ । हामीलाई के थाहा ? त्यहाँको ट्रेन ढिलो आउँदो रहेछ । हामीलाई सुरुमा दुई घण्टापछि ट्रेन आउने भनियो । ठिकै छ, यो पहिलो विदेश यात्रा थियो । हुँदाहुँदै रातको १२ बज्यो, ट्रेन आउने कुरै छैन । कतिजनाले त ट्रेन आउने लेन हेर्थे । तर, गुवाहाटी जाने ट्रेन आएन । ६ घण्टासम्म एउटै स्टेसनमा टे«नको प्रतीक्षा गर्दा दिक्क लागेको थियो । रातको समयमा कहाँ घुम्न जाने ? फेरि नौलो ठाउँ थियो । सबै पसल बन्द भइसकेका थिए । अर्को कुरा लामखुट्टेको कुरै नगरौँ, असाध्यै धेरै थिए, टोकेर भुइँमा बस्न नै गाह्रो हुन्थ्यो । साथीहरूले म्यानेजमेन्टले राम्रो गरेन भनी एक–आपसमा रिस देखाउन थाले । केही बोल्दा उनीहरू झोक्किन्थे । संघका अध्यक्ष शम्भु थापा सरले बल्ल–बल्ल सम्झाएर सबैलाई एड्जस्ट गर्नुभएको थियो । बल्ल रातको २:३० बजे ट्रेन आयो र चढ्यौँ । 

विपक्षी खेलाडीले फिजिकल खेले
दुई महिनाको अभ्यासपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता जित्ने विश्वास हामीले राखेका थियौँ । यद्यपि, भारत र बंगलादेशका खेलबारे थाहा थिएन । गुवाहाटीमा दुई दिनअगाडि पुगेका हामीले इन्डोर र आउट डोरमा प्रशिक्षण गरेका थियौँ । भारतको भौतिक पूर्वाधार हेरेर दंग पर्‍यौँ । नेपालको बास्केटबल इतिहासमै पहिलो अन्तर्राष्ट्रिय खेल बंगलादेशसँग थियो । स्कुल र कलेज लेभलमा हामीले जस्तो सिकेर खेलेका थियौँ, त्यहीअनुसार बंगलादेशविरुद्ध खेल्यौँ । नेपालमा खेल्दा सामान्य बडी टच हुँदा पनि रेफ्रीले फल लिन्थे । तर, साबा च्याम्पियनसिपजस्तो प्रतियोगितामा यस्तो केही भएन ।

मैले बंगलादेशका खेलाडीले प्रशिक्षण गरेको खेल हेरेको थिएँ । उनीहरू हामीबराबर नै थिए । यस कारण बंगलादेशमाथि जित निकाल्न सकिन्छ भन्ने विश्वास थियो । तर, कोर्टमा बंगलादेशी खेलाडी फिजिकल खेलमा अति माहिर थिए । वास्तवमा अन्तर्राष्ट्रिय लेभलमा यस्तो हुँदो रहेछ । विपक्षी खेलाडीले बल खोस्न फिजिकल खेल खेल्दा रेफ्रीले फल लिँदैनथे । उनीहरूसँग नेपाल धेरैमा ७ अंकले पराजित भएको जस्तो लाग्छ । पहिलो अन्तर्राष्ट्रिय खेलमा यतिको अन्तरले हार्नु त्यति नराम्रो होइन । यसै खेलमा मेरो एंकल गएको थियो ।

नेपालको दोस्रो खेल भारतसँग थियो । उनीहरूका खेलाडी देखेर म मात्र होइन, साथीहरू पनि तर्सिएका थिए । दायाँ–बायाँ साइडमा दुईजना खेलाडी ६.३ अग्ला, बिचमा ६.८ का दुईजना र अगाडि ७.४ फिट अग्ला खेलाडी थिए । मेरो पोसेसन बिचबाट बल अगाडि लैजाने थियो । उनीहरूको बिचमा म पुग्दा हराउँथेँ । भारतले हामीविरुद्ध १०५ जति स्कोर गरेको जस्तो लाग्छ । यसविपरीत नेपालले ३५ स्कोर गरेको थियो । यो भनेको ठुलो उपलब्धि थियो ।

नेपालको अर्को खेल माल्दिभ्ससँग थियो । माल्दिभ्स र नेपाली खेलाडीको हाइट लगभग उस्तै थियो । फेरि अघिल्लो खेलमा उपाधि दाबेदार भारतविरुद्ध ३५ स्कोर गरेका कारण हामीले माल्दिभ्स प्रतिद्वन्द्वी केही नभएको सोच बनाएका थियौँ । माल्दिभ्सका खेलाडीलाई पनि रफ र फिजिकल खेल्नेबारे थाहा थिएन । बिलकुल फरक खेल भयो । माल्दिभ्सका खेलाडी स्कोर गर्न हाम्रो जर्सी नै तान्थे । रेफ्रीले फल नलिँदा अचम्म लाग्यो । अघिल्लो दुई खेलको अनुभव हामीसँग थियो । यस कारण माल्दिभ्सविरुद्धको खेलमा नेपाली खेलाडीले फिजिकल खेल खेले । माल्दिभ्सलाई ९ स्कोरले पछि पार्दै नेपालले खेल जित्यो । त्यो खेल तेस्रो स्थानका लागि भएको थियो । पहिलो सहभागितामै नेपाललाई आफ्नो कप्तानीमा तेस्रो स्थानको ट्रफी दिलाउँदा ज्यादै खुसी भएँ । 

इतिहास बनाउँदा आश्वासन धेरै पाएँ
गुवाहाटीमै ऐतिहासिक सफलता प्राप्त गरेको दिन खुसियाली यति मनायौँ कि आजसम्म पनि मलाई सम्झना ताजै छ । एक खेलाडी, कप्तान र प्रशिक्षकका रूपमा त्यो सफलता नेपालको बास्केटबलका लागि ल्यान्डमार्क थियो । त्यहीँबाट हामी अगाडि बढेका हौँ । पहिलो अन्तर्राष्ट्रिय सहभागितामै नेपाललाई तेस्रो स्थानको ट्रफी दिलाउँदा हामीलाई सबैबाट बधाई आएको थियो । सम्बन्धित निकाय र पदाधिकारीले यस्तो गर्ने र उस्तो गर्ने आश्वासन दिएका थिए । तर, हामीले भने केही पाएनौँ । जब अन्तर्राष्ट्रिय प्रतियोगिता हुन्थ्यो । एक महिनाअगाडि क्लोज क्याम्प राखिन्थ्यो । नेपालमा सीमित खेलबाहेक यही तरिकारले खेलकुद चलेको छ । अन्तर्राष्ट्रिय खेलअगाडि खेलाडी छनोट गर्ने र क्लोज क्याम्पमा राखेको देख्छु । आजभन्दा दुई दशकअगाडि बास्केटबलले निरन्तरता पाउनुपछाडि कलेज लेभलमा हुने प्रतियोगिता थियो । जुन कलेजले वर्षमा धेरै ट्रफी जित्थ्यो, विद्यार्थी त्यतैतिर जान्थे ।

बुबासँग झगडा गर्दै जुत्ता किन्थेँ
बास्केटबल खेल्न राम्रो जुत्ता आवश्यक पर्छ । जति राम्रो जुत्ता भयो, त्यति नै राम्रो खेल्न सकिन्छ । हाम्रो खेलका लागि सामान्य जुत्ता पनि पाँचदेखि सात हजार रुपैयाँसम्म पर्छ । मैले खेलेको समयताका आम्दानी धेरै थिएन । पाँच हजार राखेर जुत्ता किन्न सम्भव थिएन । मध्यमवर्गमा हुर्किएको मैले धेरै समयसम्म रनिङ जुत्ता लगाएर खेलेँ । कतिपय अवस्थामा सिलाएर पनि खेलेँ । तीन वा चार प्रतियोगितापछि नै जुत्ता काम नलाग्ने हुन्थ्यो । बुबाले खेलभन्दा पनि पढाइमा जोड दिनुहुन्थ्यो ।

जुत्ता किन्न मैले कैयौँपटक बुबासँग झगडा गरेँ । चार–पाँच दिन खाना नखाएर घरमा पनि हडतालजस्तै गर्थेँ । आमाले छोरालाई जुत्ता किनिदिन बुबालाई दबाब दिनुहुन्थ्यो । यसरी पनि नयाँ जुत्ता किन्थेँ । सन् २००१ तिर कलकत्तामा खेल्न जाँदा सात हजार पर्ने जुत्ता लगाएको थिएँ । यसअघि एकजना विदेशमा बस्ने साथीले मलाई एडिडासको जुत्ता गिफ्ट दिएका थिए । ती उनले धेरैपटक प्रयोग गरेका जुत्ता थिए । तैपनि, मैले बास्केटबल खेल्न त्यही पुरानो, तर राम्रो क्वालिटीको जुत्ता लगाएँ । पछि बिस्तारै मैले त्यसे वेला एक सयदेखि एक सय २० डलर खर्चेर बास्केटबलका लागि जुत्ता किनेँ । हाम्रो समयमा डलरको भाउ सस्तो थियो । अन्तर्राष्ट्रिय खेल खेल्न जाँदा पकेट मनी केही हुँदैनथ्यो । नेपालको बास्केटबल टोलीबाट धेरैपटक भत्ताविना नै खेल्न गएँ ।