Skip This
यामु निरौला हत्या प्रकरण : एमाले सांसदका भाइसहित ६ जनाविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १ शनिबार
  • Saturday, 16 November, 2024
झापाको दमक नगरपालिका– ९ आशिष टोलका मृतक यामु निरौला
२o८१ मङ्सिर १ शनिबार o७:o५:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

यामु निरौला हत्या प्रकरण : एमाले सांसदका भाइसहित ६ जनाविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १ शनिबार o७:o५:oo

झापाको दमक नगरपालिका– ९ आशिष टोलका यामु निरौलाको हत्या प्रकरणमा एमाले कोशी प्रदेश सभा सांसद होमबहादुर थापाका भाइ बुद्धिमान थापासहित ६ जनाविरुद्ध मुद्दा नचल्ने निर्णय भएको छ । 

जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका नौजनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा प्रतिवादी बनाउन सिफारिस गरेको थियो । तर, जिल्ला सरकारी वकिलको कार्यालयका निमित्त जिल्ला न्यायाधिवक्ता तेजबहादुर सिँजाली मगरले शेरबहादुर नेम्वाङ, गणेश दर्जी र गोपाल भनिने खेमराज भण्डारीको नाममा मात्रै शुक्रबार जिल्ला अदालत झापामा अभियोजन दर्ता गर्ने निर्णय गरेका हुन् । 

निमित्त जिल्ला न्यायाधिवक्ता मगरले थापासहित नमकुमार चेम्जोङ, भीमराज चम्लागाईं, प्रकाश कार्की, ध्रुव गौतम र डेबिड घलेलाई उन्मुक्ति दिएका छन् । मुद्दा नचल्ने निर्णय भएकामध्ये थापा प्रदेश सभा सदस्य होमबहादुर थापाका भाइ, एमाले केन्द्रीय सदस्य गोविन्द थापाका दाजु तथा एमाले केन्द्रीय सदस्य एवं झापा इन्चार्ज रोमनाथ ओलीका सालो हुन् । यस्तै, चम्लागाईं एमालेका स्थानीय नेता, दमक– ८ का पूर्ववडासदस्य र दमक नगर खेलकुद विकास समिति अध्यक्ष हुन् । चेम्जोङ युवा संघका पूर्वकेन्द्रीय सदस्य हुन् । उनी एमाले अध्यक्ष ओलीनिकट मानिन्छन् । 

निमित्त जिल्ला न्यायाधिवक्ता मगरले भने तीनजना मात्र कुटपिटमा संलग्न देखिएकाले बाँकी ६ जनाविरुद्ध मुद्दा नचलाइएको बताए । ‘कुनै प्रतिवादीले मान्छे मार्ने गरी पूर्वयोजना पनि बनाएको देखिँदैन । धेरैजनाले प्रहार गरेको चोटपटक पनि नदेखिँदाचाहिँ ६ जनाविरुद्ध मुद्दा नचल्ने निर्णय गरेका हौँ,’ उनले भने ।

उन्मुक्ति पाउनेमध्ये पाँचजना घटनास्थलमै थिए
उन्मुक्ति पाउनेमध्ये नमकुमार चेम्जोङ, भीमराज चम्लागाईं, प्रकाश कार्की, ध्रुव गौतम र डेबिड घले भने हत्या भएकै ठाउँमा रहेका सिसिटिभी फुटेजमा देखिन्छ । निमित्त जिल्ला न्यायाधिवक्ता तेजबहादुर सिँजाली मगर पनि घटनास्थलमा बुद्धिमानबाहेक आठजना नै रहेको स्वीकार गर्छन् । 

प्रहरी स्रोतका अनुसार अनुसन्धानको क्रममा घटनास्थलमा रहेका नमबहादुर चेम्जोङसँग बुद्धिको बारम्बार फोन सम्पर्क भएको देखिन्छ । ‘बुद्धिमान थापाविरुद्ध पनि जाहेरी थियो । प्रतिवादीहरूको बयान, घटनास्थलको सिसिटिभीको सनाखत र स्वयं बुद्धिमान थापाको बयानले वारदातस्थलमा उनको उपस्थिति देखिँदैन,’ मगरले भने, ‘नमकुमार चेम्जोङसँग फोन सम्पर्क भएको देखिन्छ । तर, नमले फोनमा बुद्धिमानको बुबाको स्वास्थ्य अवस्था बुझेको बयान दिएका छन् । शेरबहादुरले नमलाई सम्पर्क गरेको देखिन्छ । उनीहरू सँगै बस्ने÷खाने साथी भएकाले भेट्नलाई सम्पर्क भएको देखिन्छ ।’

निरौलाको दमक– ३ मा रहेको जग्गासम्बन्धी विवादका क्रममा कुटपिट हुँदा ६ कात्तिकमा हत्या भएको थियो । हत्यापछि प्रहरीले जाहेरी लिन नमानेको भन्दै र संलग्नलाई राजनीतिक संरक्षण भएको भन्दै मृतकको परिवारले एक सातासम्म शव नबुझेर आन्दोलन गरेका थिए । मृतकका परिवार आन्दोलनमा उत्रिएपछि मात्र प्रहरीले थप व्यक्तिमाथि अनुसन्धान थालेको थियो ।

पीडित परिवारका सदस्य भन्छन्– अब त न्यायको आशा नै मर्‍यो
सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि शुक्रबार मृतक निरौलाका परिवारका सदस्य जिल्ला सरकारी वकिलको कार्यालय पुगेका थिए । उनीहरूको आफ्नो परिवारले न्याय पाउनेमा शंका उब्जिएको भन्दै सहायक जिल्ला न्यायाधिवक्ता मगरलाई दुखेसो पेखे । तर, मगरले अब आफूले केही गर्न नसक्ने बताए । उनले माथिल्लो निकायमा जान सुझाए । जिल्ला सरकारी वकिलको निर्णयले परिवारलाई विक्षिप्त बनाएको मृतक यामुका दाजु नवराजले बताए । ‘जब गोविन्द थापाले प्रलोभन देखाउँदा नमानेपछि धम्की दिए र प्रहरीले जाहेरी लिन पनि मानेन, त्यही वेला न्याय पाइन्छ भन्ने लागेको थिएन । अब त न्यायको आशा नै मर्‍यो,’ नवराज भन्छन्, ‘उनीहरू सबै नेता हुन् । उनीहरूलाई राजनीतिक संरक्षण भयो । न्याय खोज्न अब हामी कहाँ जाने ?’ 

घटना घटाउन निर्देशन दिनेलाई नै जिल्ला सरकारी वकिलको कार्यालयले जोगाउने निर्णय गरेको नवराजले बताए । ‘त्यो विवादित जग्गा मुद्दा चलेका तीनजनाको होइन । उनीहरू त यसअघि पनि मुद्दा परेका मान्छे हुन् । त्यो जग्गा जसको हो उनीहरूलाई उन्मुक्ति दिइयो । घटना घटाउन निर्देशन दिनेलाई संरक्षण गरेर सरकारी वकिलको कार्यालयले उन्मुक्ति दिएको छ,’ उनले भने ।