नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखरा एभेन्जर्सले ट्यालेन्ट हन्टमार्फत नवलपुरका सुदीप अर्याललाई टोलीमा भित्र्याएको छ। ट्यालेन्ट हन्टमार्फत गण्डकी हिरोज् बन्न सफल अर्याल अलराउन्डर हुन्।
पोखराको टोलीबाट एनपिएल खेल्नका लागि छनोट भएका उनी पहिलो आइकनिक प्लेयरसमेत बनेका छन्। ट्यालेन्ट हन्टमार्फत अर्यालसँगै कास्कीका कृष्ण पौडेल र सोहेल कुँवर, स्याङ्जाका सन्दीप खत्री र तनहुँका सन्दीप पराजुलीसहित पाँचजना गण्डकी हिरोजका रूपमा छनोट भएका छन्। उनीहरू पाँचजनामध्ये उत्कृष्ट हुँदै अर्याल आइकनिक खेलाडी हुँदै एनपिएल खेल्ने अवसर पाएका हुन्। छानिएका अन्य खेलाडीलाई समेत टोलीको बन्द प्रशिक्षणमा समावेश गर्ने भएको छ।
लिगको फ्रेन्चाइज टिम पोखराले गण्डकी हिरोजका लागि २ कात्तिकमा खुला दर्खास्त माग गरेको थियाे। जसमा २५० जना गण्डकीका र अन्य गरी कुल ३७० जनाको दरखास्त परेको थियो।
स्थानीय क्रिकेट र युवा खेलाडीको विकासका लागि पोखराले गण्डकी हिरोजको अवधारणा अघि सारेको र गण्डकी हिरोजले स्थानीयसँगै प्रदेशस्तरबाट विभिन्न प्रतियोगितामा वर्षभरि नै प्रशिक्षण र प्रतिस्पर्धामा सहभागी हुन पाउने पोखराका अध्यक्ष सुबोध त्रिपाठीले जानकारी दिए।
फ्रेन्चाइज क्रिकेटमार्फत घरेलु क्रिकेट विकासमा ठोस योगदान गर्ने उद्देश्यले गण्डकी हिरोजको अवधारणा अघि सारिएको हो। त्रिपाठीले गण्डकी हिरोज घरेलु क्रिकेटमा वर्षभरीनै क्रियाशील रहने बताए। स्थानीय खेलाडीमा योगदान गर्न सकियोस् भनेर ग्रासरुट विकासको यो अवधारणामा काम गरेका उनको दाबी छ।
पोखराले यसअघि टोलीमा अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डी लिडे, वेस्ट इन्डिजका फास्टबलर एन्डरसन फिलिप, इंग्ल्यान्डका अलराउन्डर म्याट क्रिचली, वेस्ट इन्डिजका रेमन राइफर र स्कटल्यान्डका माइकल लिस्क गरी ६ जना विदेशी खेलाडीलाई टोलीमा अनुबन्ध गरिसकेको छ।
पोखराको मार्की खेलाडीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल रहेका छन्। टोलीका लागि अक्सनबाट सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री, दिलीप नाथ, तृतराज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई पोखराले भित्र्याएको थियो।
लिगका लागि पोखराले टोलीको परामर्शदाता र सल्लाहकारको रूपमा दक्षिण अफ्रिकाका पूर्वखेलाडी तथा प्रशिक्षक जोन्टी रोड्सलाई नियुक्त गरेको छ भने मुख्य प्रशिक्षकमा भारतका राजीव कुमारलाई भित्र्याएको छ। टोलीको सहायक प्रशिक्षकमा रिजन प्रजु रहेका छन्।