Skip This
नेपाली सिनेमालाई दर्शकको अभूतपूर्व साथ 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १ शनिबार
  • Saturday, 16 November, 2024
पवन बराइली काठमाडाैं
२o८१ मङ्सिर १ शनिबार o६:३८:oo
Read Time : > 6 मिनेट
फ्रन्ट पेज

नेपाली सिनेमालाई दर्शकको अभूतपूर्व साथ 

Read Time : > 6 मिनेट
पवन बराइली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर १ शनिबार o६:३८:oo

- नेपाली सिनेमा हेर्न यसपटक हलहरूमा दर्शक यसरी ओइरिए कि चाप थेग्न नसकेर केही दिन त बिहान ४:४५ देखि राति ११:५५ सम्मका सो पनि चलाइए । यसले घरेलु सिने उद्योगलाई उत्साही मात्रै बनाएको छैन, ऐतिहासिक व्यापार पनि गराएको छ । 

- पछिल्लो समय नेपाली सिनेमामा कथा भन्ने शैली र प्रस्तुतिमा पृथक् प्रयोग भइरहेको छ जसलाई दर्शकले अत्यधिक रुचाइरहेका छन्

पछिल्लो समय नेपाली फिल्म उद्योगले दर्शकबाट पाइरहेको माया घरेलु फिल्मप्रति उनीहरूको दृष्टिकोणमा आएको परिवर्तनको मानक पनि हो । हलहरूमा देखिएको ठेलमठेलले राम्रा सिनेमा बनाउन सके दर्शक हलसम्म आउँछन् भन्ने प्रमाणित पनि गरेको छ । दर्शकको अपार साथसँगै गएका तीन महिनामा स्वदेशी सिनेमाले ऐतिहासिक व्यापार पनि गरेका छन् । 

अहिले चलिरहेको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले स्वदेशी बजारमा आक्रामक व्यापार गरिरहेको छ । बिहीबारसम्म यो चलचित्रले २७ करोड कमाइ (ग्रस कलेक्सन) गरेको वितरक करण श्रेष्ठको दाबी छ । शनिबारसम्म चलचित्रले थप पाँच करोड कमाइ गर्ने उनको अनुमान छ । अहिले पनि चलचित्रले देशभर चार सयभन्दा बढी सो पाइरहेको उनले बताए । 

‘पूर्णबहादुरको सारंगी’ले स्वदेशी बजारमा सर्वाधिक व्यापार गर्ने चलचित्रको इतिहास बनाउने दाबी श्रेष्ठको छ । विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङलगायत अभिनीत यो चलचित्रले प्रदर्शनको दोस्रो साताको शनिवार मात्रै तीन करोड ८९ लाख कमाइ गरेको निर्माताको दाबी छ । यद्यपि, विकास बोर्डले ‘पूर्णबहादुरको सारंगी’को बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छैन । चलचित्र विकास बोर्डको बक्स अफिसको तथ्यांकअनुसार दुई वर्षअघि रिलिज चलचित्र ‘कबड्डी ४’ को कमाइ २१ करोड ३८ लाख छ । 

सिडिसी सिनेमाहलका व्यवस्थापक जीवन शाक्य ‘पूर्णबहादुरको सारंगी’ अहिलेसम्मको सबैभन्दा बढी सो पाउने नेपाली चलचित्र बनेको बताउँछन् । ‘केही दिनअघि दर्शकको चाप धान्न नसकेर बिहान ४ः४५ देखि बेलुका ११:५५ सम्मको सो राख्नुपरेको थियो । यो चलचित्र क्युएफएक्स चेनको हलमा सबै हाउसफुल छ । हलमा बुढापाकादेखि कहिल्यै नआएका दर्शक पनि हेर्न आएका छन्,’ उनले भने, ‘सिंगल थिएटरले पनि राम्रो सो दिइरहेका छन् । अहिले पनि बिहान ७ देखि बेलुका ९ बजेसम्म सो राखिएको छ । तराईका केही हलहरू यो चलचित्रले कब्जा नै गर्‍यो । हिन्दी फिल्मलाई पनि आउन दिएन ।’ 

दसैँलक्षित (फूलपाती २४ असोज) तीनवटा चलचित्र प्रदर्शनमा आए । जसमध्ये ‘छक्कापन्जा ५’ र ‘१२ गाउँ’ले बक्स अफिसमा आक्रामक व्यापार गरे । वितरक गोविन्द शाहीले पाँचौँ हप्तासम्म चलचित्र ‘१२ गाउँ’ले २६ करोड पाँच लाख कमाइ गरेको दाबी गरे । गत शनिरबारसम्म ‘१२ गाउँ’ले देशभरका ३० वटा हलमा ४० माथि सो पाएको उनले बताए । अहिले पनि चलचित्रले देशभर २५ वटा सो पाइरहेको उनको भनाइ छ । 

चलचित्र ‘छक्कापन्जा– ५’ले चार हप्तामा १९ करोड ८१ लाख कमाइ गरेको वितरक मनोज राठीको दाबी छ । चलचित्रको पछिल्लो ग्रस कलेक्सन जोड्न बाँकी रहेको उनको भनाइ छ । जितु नेपाल मुख्य भूमिकामा रहेको चलचित्र ‘ज्वाइँ साव’ले पनि दर्शकको राम्रो साथ पायो । निर्देशक वसन्त निरौलाको अनुसार ‘ज्वाइँ साव’ले चौथो सातासम्ममा पाँच करोडमाथि कमाइ गरेको छ । 

१७ असोजमा प्रदर्शन भएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ले दर्शकको राम्रो साथ पायो । निर्माता तथा कलाकार निश्चल बस्नेतका अनुसार चलचित्रले दुई हप्तामा चार करोड कमाइ गर्‍यो । यद्यपि, दुई सातापछि बस्नेतले हलबाट सिनेमा निकालेका थिए । यो चलचित्र ओटिटी प्लाटफर्ममा रिलिज पनि भइसकेको छ । ३ असोजमा प्रदर्शन भएको चलचित्र ‘खुस्मा’ले पनि दर्शकको राम्रो साथ पायो । चलचित्रले तीन हप्तामा ६ करोडभन्दा माथि कमाइ गरेको निर्देशक अशोक थापाको दाबी छ । 

निर्देशक तथा अभिनेता निश्चल बस्नेत पछिल्लो समय नेपाली चलचित्रले व्यापारसँगै दर्शकबाट राम्रो प्रशंसा पाएको बताउँछन् । ‘लामो समयपछि एकपछि अर्काे नेपाली फिल्मले व्यापारसँगै प्रशंसा पाइरहेका छन् । यसपटक दसैँअघिदेखि नेपाली फिल्मले दर्शकलाई हलसम्म ल्याउने वातावरण बनायो,’ उनले भने, ‘अरूवेला एउटा राम्रो फिल्म आउँथ्यो, त्यो मात्रै चल्थ्यो, अरू फिल्म खासै चलेको देखिँदैन थियो । अहिले एकपछि अर्काे राम्रा फिल्म आइरहे । नेपाली फिल्मका लागि हलमा दर्शक आउने वातावरण बनेको छ ।’ 

बस्नेतको बुझाइमा यसवेला नेपाली चलचित्रले आफैँ प्राथमिकता पाउनुपर्छ । ‘अहिले राम्रो फिल्म बनायो र राम्रो मार्केटिङ गर्‍यो भने नेपाली फिल्मले राम्रो व्यापार गर्ने अवस्था सिर्जना भएको छ । नेपाली फिल्म राम्रो बन्ने रहेछ भन्ने मानसिकताको विकास भएको छ । यो नेपाली फिल्म क्षेत्रका लागि राम्रो कुरा हो,’ बस्नेतले भने, ‘अहिलेको माहोल बचाएर लैजानुपर्छ । आइरहेका दर्शकलाई हलसम्म ल्याउन फिल्ममेकरले राम्रो फिल्म बनाउने कोसिस गरिरहनुपर्छ । प्रदर्शकले पनि राम्रो फिल्मलाई सो राम्रो दिनुपर्छ । यसबारे नेपाली चलचित्र क्षेत्रले सोच्नुपर्ने वेला आएको छ ।’

निर्माता रामकृष्ण पोखरेलका अनुसार पछिल्लो समयमा प्रदर्शनमा आएका र बन्दै गरेका चलचित्रले नेपाली चलचित्रको स्वदेशी व्यापार फस्टाउँदै गएको छ । उनको विचारमा अहिले नेपाली चलचित्रको कथा भन्ने शैली र प्रस्तुतिमा पृथक् प्रयोग भइरहेको छ । ‘अहिले फरक–फरक खालको फिल्मले राम्रो व्यापार गरिरहेका छन् । हिजो हलमा चलचित्र प्रदर्शन गर्न निकै कठिन हुन्थ्यो । हलवालाले नेपाली फिल्मलाई सो दिन मान्दैन थिए । तर, अहिले हलवालाको गलत नियत रहेछ भन्ने कुरा दर्शक र फिल्ममेकरले प्रमाणित गरिदिए,’ उनले भने । 

पछिल्लो समय नेपाली चलचित्रले स्वदेशी बजारमा सुखद व्यापार गरिरहेका छन् । पछिल्लो ६ महिनायता रिलिज भएकामध्ये दर्जनभन्दा बढी नेपाली चलचित्रले व्यावसायिक सफलता पाएको चलचित्रकर्मीहरूको भनाइ छ । ‘बोक्सीको घर’, ‘पुजार सार्की’, ‘गाउँ आएको बाटो’, ‘फर्की–फर्की’, ‘घरज्वाइँ’, मनसरा, ‘शाम्बाला’लगायत चलचित्रले दर्शकको राम्रो साथ पाए । 

०६८ सालमा रिलिज भएको चलचित्र ‘लुट’ व्यावसायिक रूपमा सफल चलचित्र मानिन्छ । यसअघि नेपाली चलचित्रको व्यापार चौपट थियो । चलचित्र निर्माता संघले नेपाली सिनेमा उद्योगमा संकटकालको तयारीसमेत गरेको थियो । ‘लुट’ले सुतेको चलचित्र क्षेत्रलाई ब्युँझाएको थियो । ‘लुट’पछि ‘कोहिनुर’, ‘कबड्डी’ सिरिज, ‘छक्कापन्जा’ सिरिजि, ‘जात्रा’, ‘पशुपति प्रसाद’, ‘प्रेमगीत’, ‘जात्रैजात्रा’, ‘ए मेरो हजुर ४’, ‘महापुरुष’, ‘शत्रुगते’, ‘जारी’लगायत चलचित्र व्यावसायिक रूपमा सफल भए ।

चलचित्र समीक्षक सामीप्यराज तिमिल्सिना पछिल्लो समय नेपाली दर्शक विविधिकरण भएको देख्छन् । ‘पहिले दर्शक एकैखालका चलचित्र हेर्न हलमा जान्थे । पहिले स्टारको मात्रै फिल्म चल्थ्यो,’ उनले भने, ‘तर, अहिले स्टार, ननस्टार र कलाकार सबैको फिल्म चल्न थालेको छ । पहिले एउटा मात्रै स्टार वा एउटा मात्रै समूहको फिल्म हेर्ने चलन थियो । अहिले दर्शकले ट्रेलर हेरेर फिल्म हेर्ने निर्णय आफैँ गर्न थाले ।’

निर्देशक तथा अभिनेता निश्चल बस्नेत अहिलेको माहोल सबै मिलेर बचाइराख्नुपर्ने बताउँछन् । ‘अहिलेको माहोल बचाउनुपर्छ, यसका लागि प्रदर्शकले पनि प्रोत्साहन गर्नुपर्छ, राम्रो फिल्मलाई सो धेरै दिनुपर्छ । अहिले सम्भावना बोकेका फिल्मले हलमा स्पेस नपाउने अवस्था छ । राम्रो सो नपाएर सम्भावना बोकेका धेरै फिल्म डुबेका छन् । अब नेपाली फिल्मले प्राथमिकता पाउनुपर्छ,’ उनले भने, ‘नेपाली फिल्मले राम्रो गर्छ भनेर आफ्नै देशभित्र पटकपटक प्रमाणित गरिरहनुपर्ने हो ? विदेशी फिल्म जस्तो भए पनि यसले राम्रो व्यापार गर्छ भन्ने सोचेर माहोल सिर्जना गरिन्छ । विदेशी फिल्मलाई जस्तो नेपाली फिल्मलाई पनि माहोल सिर्जना गर्न सकिन्छ । नेपाली फिल्म राम्रो हुन्छ भन्ने मानसिकता चाहिन्छ । अनि मात्रै नेपाली फिल्म उद्योगको विकास हुन्छ ।’ 

दसैँ–तिहारलक्षित रिलिज 
नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएका छन् । अरूको तुलनामा दसैँ–तिहारमा रिलिज भएका चलचित्र व्यावसायिक रूपमा सफल भएका देखिन्छन् । त्यसैले अधिकांश निर्माता–निर्देशकले दसैँ–तिहारलक्षित चलचित्र रिलिज मिति तोक्ने गरेका छन् । कतिपय चलचित्र प्रदर्शन मिति तय गरेर मात्रै छायांकनमा जाने गरेको पाइन्छ । दसैँको अवसर पारेर चलचित्र रिलिज गर्न निर्माताको होडबाजी नै चल्छ । त्यसैले दसैँ र तिहारलक्षित गरेर चार–पाँचवटासम्म चलचित्र रिलिज हुने गरेका छन् । यस वर्षजस्तै गत वर्ष पनि दसैँ–तिहारलक्षित गर्दै हलमा फिल्म आएका थिए । गत साल ‘पशुपति प्रसाद २ : भष्मे डन’, ‘परदेशी २’ र ‘दिमाग खराब’ प्रदर्शन भएका थिए । यीमध्ये चलचित्र ‘दिमाग खराब’ले पनि राम्रो व्यापार गरेको थियो । वितरक गोविन्द शाही विदेशी चलचित्रको तुलनामा नेपाली फिल्मको व्यापार दसैँ–तिहारमा धेरै हुन थालेको बताउँछन् । ‘दसैँ–तिहारमा नेपाली चलचित्र हेर्न दर्शक बढी आएको देखिएको छ । गत वर्ष पनि ‘दिमाग खराब’ले स्वदेशी बजारमा १४ करोडमाथि कमाइ गरेको थियो । दिमाग खराब सलमान खानको टाइगर–३ हलबाट हटाउन सफल भएको थियो । गत वर्षदेखि दसैँ–तिहारमा दर्शकको प्राथमिकता नेपाली चलचित्र थियो,’ शाहीले भने । 

देशभित्र मन जित्दै विदेशमा बजार विस्तार 
स्वदेशका हल मात्रै होइन, पछिल्लो समय नेपाली चलचित्रको बजार विदेशका हलसम्म विस्तार भएको छ । सन्तोष सेन निर्मित चलचित्र ‘प्रेमगीत ३’ ले दुई वर्षअघि नेपाल र भारतमा एकसाथ प्रदर्शन भयो । सिनेमाले भारतीय दर्शकको मन मात्र जितेन, व्यापार पनि सन्तोषजनक गरेको दाबी निर्माण पक्षको छ । नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ हङकङको बक्स अफिसमा १२ डिसेम्बरमा रिलिज हुँदै छ । नेपाली सिनेमा हङकङ बक्स अफिसमा रिलिज हुन लागेको यो पहिलोपटक हो । यसअघि च्यारिटी सो मात्रै हुने गरेका थिए । ‘गाउँ आएको बाटो’का निर्माता अमोद राईले हङकङको गोल्डेन सिन सिनेमाले चलचित्रको वितरण अधिकार किनेर सार्वजनिक प्रदर्शन गर्न लागेको बताए । ‘यसअघि हङकङमा नेपाली समुदायलक्षित च्यारिटी सो र सामुदायिक प्रदर्शन मात्रै हुन्थ्यो । विदेशी वितरकले पहिलोपटक नेपाली चलचित्र किनेर प्रदर्शन गर्दै छ,’ उनले भने, ‘वितरक कम्पनी गोल्डेन सिनले चलचित्रलाई सार्वजनिक प्रिमियर गरिसकेको छ । गोल्डेन सिनले आफ्नो वेबसाइटमा गाउँ आएको बाटोको चिनियाँ पोस्टर पनि सार्वजनिक गरिसकेको छ । चलचित्र थाइल्यान्ड, युके र इटालीका वितरकले पनि किनिसकेका छन् ।’ पछिल्लो समय अस्ट्रेलिया, अमेरिका, क्यानडा, युरोप तथा मध्यपूर्वका देश पनि नेपाली फिल्मका लागि ठुलो बजार बनिरहेको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय सेभेनसिज इन्टरटेन्मेन्टका रमेश चौलागाईं बताउँछन् । ‘हामी नेपाली समुदायलक्षित बक्स अफिस रिलिज गर्छाैँ । पहिले विदेशमा पेनड्राइभ र हार्डड्राइभमा लगेर चलचित्र देखाइन्थ्यो । अहिले बक्स अफिसमा रिलिज हुन थालेको छ,’ उनले भने, ‘अहिले हामी नेपाली चलचित्रको विदेशीमा च्यारेटी सो गर्दैनौँ । बक्स अफिसमा डिसिपी फाइल लगेर देखाउँछौँ । नेपाली सिनेमाको बजार सात समुद्रपारि पनि विस्तार गरिरहेका छौँ ।’

सिनेमा व्यापारको पारदर्शितामा भने सधैँ प्रश्न
गुणस्तरीय कथावस्तुका सिनेमा निर्माण र व्यापार बढ्दै गए पनि बक्स अफिस भने व्यवस्थित छैन । जसका कारण उहिल्यैदेखि उठ्ने व्यापारको पारदर्शिताको प्रश्न अहिले पनि उत्तिकै टड्कारो छ । त्यसलाई व्यवस्थित बनाउन राज्यले र जिम्मेवार निकाय चलचित्र विकास बोर्डले चासो दिएका छैनन् । बोर्ड भने निर्माता र हल सञ्चालकहरू नै बक्स अफिस लागू नगराउन लागिपरेको दाबी गर्छ । ‘निर्माता र हलवाला आफैँ बक्स अफिसप्रति खुसी छैनन् । विकास बोर्डले बक्स अफिस रिपोर्ट ननिकालोस् भनेर सोर्सफोर्स लगाउन मन्त्रालय धाउने गरेको पाइएको छ,’ बोर्डका सदस्य एवं बक्स अफिसका सहसंयोजक रवि अधिकारीले भने । देशभरका बक्स अफिस लागू भएका ७० प्रतिशत हलले मात्रै डाटा दिने गरेको उनले बताए । ‘विभिन्न बहाना बनाउँछन्, सफ्टवेयरले राम्रो काम गरेन भनेर डाटा पठाउँदैनन्,’ उनले भने । चलचित्र समीक्षक सामीप्यराज तिमिल्सिना बक्स अफिसको कार्यान्वयन नगर्दा चलचित्र व्यापारमा भ्रमको खेती भइरहेको बताउँछन् । ‘बक्स अफिस स्थापना गरी व्यापारको पारदर्शिताको अभ्यास भएको थियो । तर, यसमा सरकार आफैँ चुकेको छ । वितरक र निर्माताले दिएको आँकडालाई आधार मान्दा चलचित्रको व्यापारमा भ्रमको खेती भइरहेको छ,’ उनले भने, ‘अहिले कुनै फिल्मले २० करोड कमायो भने २५ करोड कमायो भनेर हल्ला हुन्छ । एक नम्बर हुने दौडमा यति कमायो, उति कमायो भनेर आत्मरति बढेर गएको देखिन्छ ।’