चीनको आर्थिक तथा प्राविधिक सहयोगमा रसुवको टिमुरेमा निर्माण भइरहेको सुक्खा बन्दरगाहको निर्माण कार्य ६५ प्रतिशत पूरा भएको छ । अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि नेपाल–चीन सीमामा बनिरहेको सुक्खा बन्दरगाह अन्तिम चरणमा पुगेको हो ।
चिनियाँ पक्षले आगामी असारभित्र सुक्खा बन्दरगाह निर्माण गरेर नेपालाई हस्तान्तरण गर्ने नेपाल इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । बन्दरगाहअन्तर्गत भोटेकोशी खोलातर्फ र सडकतर्फको पर्खाल निर्माण कार्य पूरा भएको छ । सडक निर्माण ९० प्रतिशत, कार्गो गोदाम, लिटिगेसन गोदाम र इन्सपेक्सन सेडको निर्माण ९० प्रतिशत र प्रशासनिक भवनको निर्माण ५० प्रतिशत सम्पन्न भइसकेको उनले बताए । हाल इलेक्ट्रिकल, सेनेटरी, खानेपानी तथा पेभमेन्टको काम भइरहेको छ ।
‘हालसम्म समग्रमा सुक्खा बन्दरगाहको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भएको छ,’ उनले भने, ‘सुक्खा बन्दरगाहको बाँकी निर्माण कार्य यही असार ०८२ सम्ममा सम्पन्न भइसक्नेछ ।’ सुक्खा बन्दरगाह चीन सरकारबाट नेपाल सरकारमार्फत समितिलाई हस्तान्तरण भएपश्चात् सञ्चालनमा ल्याइने उनले बताए ।
रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका– १, टिमुरेमा रसुवा सुक्खा बन्दरगाह निर्माण गर्न नेपाल र चीनबिच १६ अक्टोबर २०१४ मा समझदारी भएको थियो ।
सुक्खा बन्दरगाह निर्माणका लागि २९ वैशाख २०७ मा चीन सरकार र नेपाल सरकारबिच ‘कार्यान्वयन माइनुट’मा हस्ताक्षर भएको थियो । तर, कोभिडका कारण काम प्रभावित भयो । आयोजनाको कुल लागत १२ करोड ४० लाख आरएमबि रहेको छ । करार सम्झौताअनुसार आयोजनाको अवधि २४ जेठ ०८२ सम्म रहेको छ । कुल ५० हजार नौ सय वर्गमिटर क्षेत्रफलमा सुक्खा भौतिक संरचनाहरूको निर्माण भइरहेको छ ।