अमेरिकाले दिँदै आएको विशाल सैन्य तथा आर्थिक सहयोगको आलोचक ट्रम्प सत्तामा फर्किएपछि युक्रेनले पाउँदै आएको अमेरिकी सहयोगमाथि अनिश्चितता छाएको छ ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनवरीमा पद छाड्नुअघि नै युक्रेनलाई थप अर्बौं डलर सुरक्षा सहायता प्रत्याभूत गराउने योजनामा रहेको समाचार बाहिरिएको छ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा कार्यकाल सम्हाल्नेछन् । त्यसअघि नै किभलाई थप आर्थिक सहायता उपलब्ध गराउने बाइडेनको योजना छ ।
नोभेम्बर ५ मा सम्पन्न राष्ट्रपतीय चुनाव जितेका ट्रम्प युक्रेनलाई अमेरिकाले उपलब्ध गराइरहेको विशाल सैन्य तथा आर्थिक सहयोगको मात्राको आलोचक रहँदै आएका छन् । उनले चुनावी प्रचारका क्रममा युक्रेन–रुससँगको युद्ध चाँडै अन्त्य गर्ने वाचा गरेका थिए । तथापि, उनले त्यो लक्ष्य कसरी हासिल गर्ने भनेर खुलाएका छैनन् ।
युक्रेनप्रतिको राष्ट्रपति ट्रम्पको अडान र संसद्का दुवै सदन सिनेट र सम्भवतः प्रतिनिधिसभामा ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत पुग्ने देखिएको सन्दर्भमा युक्रेनले वासिंटनबाट पाइरहेको समर्थनको भविष्यबारे चिन्ता बढाएको छ ।
‘बाइडेन सरकारबाट बाहिरिँदा युक्रेनलाई सक्नेजति सबल हैसियत बनाउने योजनामा शीघ्रताका साथ काम गरिरहेका छन्,’ बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले बिहीबार प्रकाशित रिपोर्टमा नाम नछाप्ने सर्तमा रोयटर्स समाचार एजेन्सीलाई भने । य ससम्बन्धी समाचार पहिलोपटक चर्चित अमेरिकी पत्रिका पोलिटिकोले सार्वजनिक गरेको थियो ।
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की ट्रम्पलाई जितका लागि बधाई दिने सुरुवाती विश्वनेतामध्ये एक थिए । बुधबार नै उनले नवनिर्वाचित राष्ट्रपति ट्रम्पसँग फोनवार्ता पनि गरेका थिए ।
‘हामी नियमित वार्तामा रहन र हाम्रो सहयोगलाई थप अगाडि बढाउन सहमत भयौँ । बलियो र अटल अमेरिकी नेतृत्व विश्वका लागि र न्यायपूर्ण शान्तिका लागि अत्यावश्यक छ,’ फोनवार्तापछि सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जेलेन्स्कीले भनेका छन् । अमेरिकी सदनले अप्रिलमा युक्रेनका लागि हतियारसहित ठुलो आर्थिक सहायता स्वीकृत गरेको थियो । हतियार स्थानान्तरणका लागि गरिएको अमेरिकी प्रतिबद्धतामध्ये अझै ४.३ अर्ब डलरको सहायता युक्रेन पुगिसकेको छैन । त्यसबाहेक अघिल्लोपटकको आर्थिक सहायताको २.८ अर्ब डलर नयाँ हतियार खरिद सम्झौताअन्तर्गतको दुई अर्ब डलरको हतियार युक्रेन पठाइसकेको छैन । यी तीनै सम्झौताको कुल नौ अर्ब डलरको सैन्य सहायतालाई बाइडेन जनवरीअघि नै युक्रेन पुर्याउने प्रयासमा छन् । यति ठुलो आपूर्ति युद्धभूमिका लागि निकै महत्वपूर्ण साबित हुनेछ । ह्वाइट हाउसले यस खबरबारे तत्काल प्रतिक्रिया दिएको छैन ।
सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेदेखि अमेरिकाले युक्रेनलाई ६४.१ अर्ब डलरभन्दा बढीको सैन्य सहायता उपलब्ध गराइसकेको अमेरिकी विदेश मन्त्रालयको पछिल्लो तथ्यांकले देखाउँछ । केही विश्लेषकहरू ह्वाइट हाउस र कम्तीमा एउटा सदन रिपब्लिकन पार्टीको नियन्त्रणमा गएपछि वासिंटनले युक्रेनलाई थप सहायता दिने कुराको निश्चित नभएको बताउँछन् । विशेषगरी अहिले युक्रेनले युद्ध मैदानमा कठिनाइ भोगिरहेको समयमा । सिनेटमा रिपब्लिकन पार्टीका नेता सिनेटर मिच म्याकोनेलले बुधबार पत्रकार सम्मेलनमा युक्रेन सहायताबारे गरिएको प्रश्नमा बोल्न अस्वीकार गर्दै आफूले चुनावी नतिजाबारे मात्र टिप्पणी गर्ने बताए ।
चुनावी अभियानका क्रममा ट्रम्पले आफू पदमा भएको भए सन् २०२२ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने थिएनन् भनी दाबी गर्ने गरेका छन् । त्यस्तै उनले राष्ट्रपति भएको ‘२४ घण्टामा युक्रेन संकट समाधान गर्न सक्ने’ समेत बताएका थिए । ट्रम्पले शान्ति सम्झौतामा पुग्न युक्रेनले आफ्नो भूमि परित्याग गर्नुपर्ने संकेत गरेका छन्, जसलाई युक्रेनले अस्वीकार गरेको छ । उता ट्रम्पका उपराष्ट्रपति सहयात्री जेडी भान्स पनि युक्रेन सहायताको मुखर आलोचक हुन् । उनले विदेशलाई युद्धका लागि ठुलो रकम विनियोजन गर्नुसाटो त्यस रकम घरेलु प्राथमिकतामा खर्च गर्नुपर्ने तर्क गर्दै आएका छन् ।
– रोयटर्सबाट