सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार ७३२ विदेशी पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार अक्टोबरमा कुल एक लाख २४ हजार ३९३ विदेशी पर्यटक आए । यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४ प्रतिशतले बढी हो ।
सन् २०२३ को अक्टोबरमा एक लाख १७ हजार ३०६ पर्यटक आएका थिए । कोभिड– १९ (कोरोना महामारी) पूर्व अर्थात् सन् २०१९ को तुलनामा ९२.९६ प्रतिशतले पर्यटकको संख्यामा पुनरुत्थान भएको बोर्डले जनाएको छ । सन् २०१९ को अक्टोबरमा एक लाख ३४ हजार ९६ विदेशी पर्यटक आएका थिए ।
बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा विदेशी पर्यटक आगमन सन्तोषजनक छ। ‘समग्रमा पर्यटक आगमन सकारात्मक देखिन्छ । अक्टोबरमा आशातित पर्यटक आउन सकेनन्, किनकि महिनाको सुरुवातमै अविरल वर्षाले विपतजन्य घटना भयो। अबको दुई महिनामा पर्यटक बढ्ने अनुमान गर्न सकिन्छ।’
भारतीय र चिनियाँ घटे
बोर्डको विश्लेषणमा अगस्ट, सेप्टेम्बार र अक्टोबरमा भारतबाट आउने पर्यटक घटेका छन् । पछिल्ला दुई महिनामा चीनबाट आउने पर्यटक पनि घटे । अक्टोबरमा भारतबाट १६ हजार ३१३ पर्यटक आएका छन् । गत सेप्टेम्बरमा भारतबाट २२ हजार ९८४ पर्यटक आएका थिए । यो करिब १३ प्रतिशत गिरावट हो । अगस्टमा २५ हजार ८३२ भारतीय पर्यटक आएका थिए । अक्टोबरमा चीनबाट आएका सात हजार ७५० पर्यटकले नेपाल भ्रमण गरेका छन् । सेप्टेम्बरमा आठ हजार ४२ र अगस्टमा चीनबाट ६ हजार ६१४ चिनियाँ पर्यटक आएका थिए । मनसुनका कारण भारतीय र चिनियाँ पर्यटक घटेको अनुमान गरिएको छ ।
अमेरिकी पर्यटक बढे
अक्टोबरमा अमेरिकाबाट आउने पर्यटकको संख्या अघिल्लो महिनाको तुलनामा १२.८८ प्रतिशतले बढेर कुल १६ हजार २३ पुगेको छ । सेप्टेम्बरमा १० हजार ८४ अमेरिकी पर्यटक भित्रिएका थिए । बेलायतबाट आठ हजार १९ पर्यटक नेपाल भित्रिएका छन्। अस्ट्रेलियाबाट ६ हजार ९२९, जर्मनीबाट ६ हजार १८ र फ्रान्सबाट पाँच हजार ४८५ पर्यटक आएका छन् । बंगलादेशबाट चार हजार ४७६, श्रीलंकाबाट तीन हजार ११२ र इटालीबाट दुई हजार ६३५ पर्यटक आएका छन् ।
मार्चमा सबैभन्दा बढी एक लाख २८ हजार १६७ पर्यटक आएका छन् भने सबैभन्दा कम जुलाईमा ६४ हजार ५९९ पर्यटकले नेपाल भ्रमण गरेका छन्। अक्टोबरमा एक लाख २४ हजार ३९३, अप्रिलमा एक लाख ११ हजार ३७६ पर्यटक आए । सेप्टेम्बरमा ९६ हजार ३०५, जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार ४२६, मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६ र अगस्टमा ७२ हजार ७१९ पर्यटक नेपाल आएका छन् ।