मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १७ शनिबार
  • Friday, 03 January, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८१ कार्तिक १७ शनिबार १४:४३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देशको प्रतिष्ठा बढाउन नेपाल भाषा, सभ्यता र संस्कृतिको असाधारण योगदान : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ कार्तिक १७ शनिबार १४:४३:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रतिष्ठा बढाउन नेपाल भाषा, सभ्यता र संस्कृतिको असाधारण योगदान रहेको बताएका छन्। नेपाल संवत् ११४५ का अवसरमा ‘नेपाल संवत् ११४५ मूल समारोह समिति’ले वसन्तपुरमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, 'नेपालले आफ्नो परिचय बनाउन संस्कृति, कला, मूर्तिकला, काष्ठकला र चित्रकला नृत्यकला, वाद्यवादन र गायनलगायत विधाले योगदान गरेका छन्, यी सबैमा मौलिकता छ, मुलुकको सबैभन्दा समृद्ध मौलिकता नेपाल भाषा र संस्कृतिमा छ।'

प्रधानमन्त्री ओलीले नेवारी संस्कृति र भाषा नेपालको एक समृद्धि संस्कृति र विशेष पहिचानको विषय बनेको चर्चा गर्दै नेपाल संवतलाई कामकाजका भाषाका रूपमा प्रभावकारी कार्यान्वयन, राष्ट्रिय विभूति शंखधर साख्वाका विषयमा अध्ययन अनुसन्धान र कक्षा ९ र १० को ऐच्छिक विषयका रूपमा नेपाल भाषालाई पनि समावेश गर्नेजस्ता यस क्षेत्रका मागका विषयमा सरकारको ध्यान जाने प्रतिबद्धता व्यक्त गरे।

उनले नेपाल संवत् मूल समारोह समिति आयोजनाका लागि सहयोगस्वरूप विगतमा आफू हुँदा थालनी भएको र बिचका केही वर्ष रोकिएको १० लाखमा वृद्धि गरी यस वर्ष सरकारले १५ लाख रकम दिएको जानकारी गराए।

मुलुक भौगोलिक विविधता, वनस्पतीय विविधता, जैविक विविधता, सामाजिक विविधता, भाषिक विविधता र सांस्कृतिक विविधतायुक्त भएको बताउँदै प्रधानमन्त्रीले यी सबै विविधतामध्ये समृद्ध संस्कृति नेवार संस्कृति भएको उल्लेख गरे। उनले नेवार संस्कृति कुनै एउटा जाति विशेषको मात्र नभएर सिंगो देशको संस्कृति रहेको बताए।

प्रधानमन्त्रीले मुलुकका मौलिक, भाषा, संस्कृति र साहित्यको विकासका खातिर राष्ट्रिय समाचार समिति, रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र र नेपाल भाषामा समाचार तथा विविध कार्यक्रम प्रकाशन एवं प्रसारण गर्दै आएको बताए।

प्रधानमन्त्रीले सरकार गरिबको सुखदुःखको साथी बन्दै आएको बताउँदै भने, 'जो गरिब छ, जो ऋणी छ, उसलाई ऋणमुक्त गर्नुपर्छ।' समृद्ध नेपाल निर्माणका लागि राष्ट्रिय एकताका साथ अगाडि बढ्नुपर्ने बताउँदै नेपाली भाषालाई वैकल्पिक विषयका रूपमा विद्यालय र विश्वविद्यालयमा अध्ययन अध्यापन गराउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपाल संवतलाई सबै समुदायको दिवसका रूपमा मनाउनुपर्ने धारणा व्यक्त गरिन्। नेपाल संवत् ११४५ दिवस मूल समारोह समितिका संयोजक राजेन्द्रप्रसाद श्रेष्ठले शंखधर साख्वाबारे थप अध्ययन अनुसन्धान गर्न राष्ट्रिय प्रतिष्ठान गठन तथा उनका नामबाट राष्ट्रिय पुरस्कार स्थापना गर्न माग गरे।