मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १९ शुक्रबार
  • Sunday, 05 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १९ शुक्रबार o७:३१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

केन्द्रीय सचिवालय बैठकमा ओलीको राजनीतिक प्रतिवेदन : कांग्रेससँगको सहकार्य पुष्टि गर्ने प्रयास

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १९ शुक्रबार o७:३१:oo

भीम रावलसहितका नेतामाथि कारबाही, सक्रिय राजनीतिमा फर्कने पूर्वराष्ट्रपति विद्या भण्डारीको गृहकार्य र सरकारको काममा गठबन्धन दलका नेताहरूको असन्तुष्टिबिच प्रमुख सत्तारूढ दल एमाले आन्तरिम छलफलमा जुटेको छ । २१–२२ पुसका लागि तय केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले कांग्रेससँग सहकार्यको आवश्यकता र औचित्य पुष्टि गर्ने प्रयाससहित प्रतिवेदन पेस गरेका छन् । 

राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले सरकारको ६ महिने कार्यकालको समीक्षासहित कांग्रेससँगको सहकार्यको आवश्यकता र औचित्य पुनर्पुष्टिको प्रयास गरेका हुन् । केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनसहितका एजेन्डामाथि छलफल गर्न ओलीले सचिवालय बैठक बोलाएका थिए । 

‘अध्यक्षको प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाबारे गम्भीर विवेचना गरिएको छ । नयाँ सरकार बनिसकेपछि केन्द्रीय कमिटी बैठक बस्न लागेकाले कांग्रेस र एमालेबिच सहकार्य हुनुको कारण, यसको आवश्यकता, औचित्य र यसले सिर्जना गरेको अवसरहरू विश्लेषण गरिएको छ । सरकार बनेपछि ६ महिनायताको कामको समीक्षा गरेका छौँ,’ बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने । 

सरकारको कामको समीक्षा गर्दै ओलीले यसबिचमा महत्वपूर्ण काम भए पनि थुप्रै काम गर्न बाँकी रहेकाले ती कामलाई छिटो सम्पन्न गर्न, सेवाप्रवाह चुस्तदुरुस्त र प्रभावकारी बनाउन, विकास निर्माणका कामलाई तीव्रता दिँदै अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । सरकारले स्थिरता र सुशासनको अनुभूति दिन सकेको ओलीको दाबी छ । 

त्यस्तै, उपमहासचिव ज्ञवालीले अध्यक्ष ओलीको प्रतिवेदनमा अन्तर्राष्ट्रिय राजनीति र राष्ट्रिय राजनीतिका प्रवृत्ति, पछिल्लो समयमा मुलुकमा बढ्दै गएको अराजकता, मुलुकलाई अस्थिरतातिर धकेल्न भइरहेका प्रयासलगायतका पृष्ठभूमिमा पार्टी कसरी बढ्ने विषयमा चर्चा गरिएको बताए । 

बैठकमा ओलीले संविधान संशोधन र संसद्मा विचाराधीन विधेयकलगायतका महत्वपूर्ण काम प्रभावकारी ढंगले अगाडि बढाउन उच्चस्तरीय राजनीतिक संयन्त्रसहित अन्य थप कार्यदल बनाएर प्रयास भइरहेको बताएका थिए । संविधान संशोधन, संघीयताको कार्यान्वयन र अर्थतन्त्र पुरानै लयमा फर्काउनेलगायतका काम गर्दै सरकार राजनीतिक स्थिरताको सन्देश दिन सफल भएको ओलीको भनाइ छ । 

ओलीले राजनीतिक प्रतिवेदनमा गत चौमासिकमा अघिल्लो वर्षको तुलनामा १७ प्रतिशत राजस्व संकलन वृद्धि भएको, सेयर बजार सन्तोषजनक अवस्थामा रहेको, विकास निर्माण प्रगतिउन्मुख रहेको, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित भएको, सहकारी ठगीसँग सम्बन्धित बेथिति अन्त्य गर्दै सर्वसाधारणलाई न्यायको अनुभूति दिलाउने गरी काम भइरहेको उल्लेख गरेका छन् । यसबिचमै सहकारीका ६ हजार बचतकर्ताका एक अर्ब ५७ करोड रकम फिर्ता भएको, ६२ हजार उजुरीमध्ये १५ हजार उजुरीको सम्बोधन भएको र अरू पनि सम्बोधन हुने क्रममै रहेको जानकारी गराएका छन् । 

सरकारले अहिले गरिरहेको काम पर्याप्त नभएको भन्दै सरकारले तीव्रताका साथ कार्यसम्पादन गर्नुपर्ने र खासगरी सेवाप्रवाहलाई परिवर्तनको अनुभूति हुने गरी प्रभावकारी बनाउन बैठकमा नेताहरूले सुझाव राखेको ज्ञवालीले बताए । अध्यक्ष ओलीको प्रतिवेदनलाई केन्द्रीय कमिटी बैठकमा लैजाने बैठकले निर्णय गरेको छ । 

भीम रावलको आरोप प्रचण्डकै ‘कपी–पेस्ट’
एमालेको सचिवालयले पूर्वउपाध्यक्ष भीम रावलले अध्यक्ष ओलीमाथि लगाएको आरोप तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कपी–पेस्ट भएकाले थप टिप्पणी गरिरहनु नपर्ने ठहर गरेको छ । ‘२०७७ साल कात्तिकमा लगभग यिनै भाषामा प्रचण्डले तत्कालीन अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई यस्तै आरोप लगाउनुभएको थियो । सायद १९ पेजको त्यही आरोपको एक किसिमले कपी–पेस्टजस्तै हो उहाँका आरोप, नयाँ कुरा केही छैन,’ ज्ञवालीले भने, ‘त्यसले उहाँभित्र कति धेरै नकारात्मकता भरिएको रहेछ भन्ने प्रस्ट भएको छ, समाज आफैँ पनि प्रस्ट भएको छ ।’ उनले गालीगलौजले देश नबन्ने भएकाले रावलका आरोपहरूमा थप टिप्पणी गरिरहनुपर्ने आवश्यकता नरहेको जवाफ फर्काए ।