मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १९ शुक्रबार
  • Sunday, 05 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १९ शुक्रबार o७:२५:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

माओवादी स्थायी समिति बैठकमा प्रचण्डको ब्रिफिङ - ‘सरकार असफल, देश संकटको भुमरीतिर’

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १९ शुक्रबार o७:२५:oo

पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार असफल, देश संकटको भुमरीतिर जाँदै गरेको ‘ब्रिफिङ’ गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे ‘ब्रिफिङ’ गर्दै प्रचण्डले राष्ट्रिय दृष्टिकोण निर्माणमा दलहरूबिच पारदर्शी ढंगले छलफल हुनुपर्ने आवश्यकता औँल्याएका छन् । 

सरकार उल्टो दिशामा अगाडि बढेको र देश संकटको भुमरीमा पर्दै गएको प्रचण्डको निष्कर्ष छ । ‘सरकार हरेक कुरामा अनुपस्थित जस्तै छ । एक प्रकारले भन्ने हो भने सरकार असफल भई नै सकेको छ । सरकार उल्टो दिशातिर छ,’ बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै स्थायी कमिटीका एक सदस्यले भने, ‘सरकार सुशासनको विपक्षमा छ । सरकार भ्रष्टाचारी, माफिया र बिचौलियाको संरक्षणमा लागिरहेको छ । सरकारले राम्रो काम गर्नेहरूलाई दुरुत्साहित गर्दै छ ।’ 

प्रचण्डले सरकार मात्रै नभएर देशसमेत भयंकर संकटको भुमरीमा रहेको औँल्याए । ‘यो सरकार त ढिलोचाँडो जान्छ–जान्छ । सरकारको गलत नीतिका कारण देश भयंकर संकटको भुमरीमा पर्दै छ । त्यसकारण हामी रूपान्तरण भएर जनतामा जानुपर्छ,’ प्रचण्डले भने, ‘सरकारले प्रतिपक्ष दलका नेतामाथि प्रतिशोध साध्ने काम गरेको छ । सत्तारूढ दलका नेतालाई संरक्षण गरिरहेको छ ।’

बैठकमा प्रचण्डले राष्ट्रिय दृष्टिकोण निर्माणमा दलहरूबिच पारदर्शी ढंगले छलफल भई साझा धारणा बनाउन आवश्यक रहेको बताए । ‘राष्ट्रिय दृष्टिकोण निर्माणका लागि संसद्मा भएका सबै पार्टीहरूको बिचमा पारदर्शी ढंगले छलफल र बहस गर्नुपर्छ । त्यसका आधारमा एउटा राष्ट्रिय दृष्टिकोण बनाउनुपर्छ,’ त्यसका आधारमा हाम्रो विश्व दृष्टिकोण टुंगो लगाउनुपर्छ । अन्तर्राष्ट्रिय परिस्थिति द्वन्द्वग्रस्त छ । शक्तिराष्ट्रहरूको बिचमा प्रतिद्वन्द्विता झन् झन् तीव्र हुँदै गएको छ । यो परिस्थितिमा राष्ट्रिय एकताको सबैभन्दा बढी खाँचो परिराखेको छ ।’ अन्तर्राष्ट्रिय मामलाका घटनाक्रममा सरकार बेखबर बनेको उनको दाबी छ । सत्तारूढ दुई दल कांग्रेस र एमालेले कार्यदल बनाएर संविधान संशोधनका विषयमा  छलफल थालेको वेला प्रमुख प्रतिपक्ष दल माओवादीले संविधान संशोधनभन्दा प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । पहिला राम्रोसँग अभ्यास हुनुपर्ने आवश्यकता माओवादीले औँल्याएको छ । 

बैठकमा प्रचण्डले संविधान संशोधनभन्दा राम्रोसँग कार्यान्वयनको आवश्यकता औँल्याए । ‘अहिलेको राष्ट्रको आवश्यकता संविधान संशोधन हो कि संविधानको मर्म र भावनाअनुसार कार्यान्वयन । संविधानलाई जसरी इमानदारीपूर्वक कार्यान्वयन गरिनुपथ्र्यो, संविधानको अभ्यास जसरी गरिनुपथ्र्यो, त्यो राम्रोसित अभ्यास भएको छैन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने, ‘हाम्रो संविधान लोकतन्त्रका मूल्य–मान्यता साथै नयाँ मूल्य–मान्यतासमेत समेटेर बनाइएको छ । त्यसको पूर्ण कार्यान्वयन भएको छैन ।’

संविधान संशोधन कांग्रेस र एमालेले आवरणमा मात्रै भनेको माओवादीको दाबी छ । ‘पहिलो र दोस्रो दल मिलेर सरकार बन्नु अप्राकृतिक हो । संविधान संशोधनको कुरा आवरणमा मात्रै हो । बहाना बनाएर उहाँहरूलाई सत्ता चाहिएको थियो,’ प्रचण्डले भने । साँच्चै संविधान संशोधन गर्ने हो भने नयाँ शिराबाट सोच्नुपर्ने माओवादीको प्रस्ताव छ । संविधान संशोधन अग्रगमन, परिवर्तन र जनताका अधिकार अझ विकास र विस्तार गर्नका लागि हुनुपर्ने प्रचण्डको भनाइ छ । ‘एक दशक भइसक्यो, संविधान संशोधन गर्नुपर्छ भन्ने हो भने नयाँ शिराबाट सोच्नुपर्छ । यथास्थितिवादी ढंगले राष्ट्रमा देखापरेका समस्या, अन्तर्राष्ट्रियस्तरमा भइरहेका समस्या र चुनौतीको सामना गर्न सकिँदैन । चुनौतीको सामना गर्नका लागि राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सापकोटाले भने ।

आगामी २१ पुसमा बस्ने केन्द्रीय समिति बैठकमा प्रचण्डले सुरुमा समसामयिक विषयमा ब्रिफिङ गर्नेछन् । त्यसपछि प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन् । त्यसपछि प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकको प्रतिवेदन उनले बैठकमा प्रस्तुत गर्नेछन् । प्रतिवेदनमा वैचारिक, राजनीतिक, सांगठनिक, सांस्कृतिकलगायतका विषय समावेश हुनेछन् । बैठकमा आगामी कार्ययोजना पनि प्रस्तुत हुनेछ । कार्ययोजनामा संगठनात्मक प्रस्ताव र अन्य विविध प्रस्ताव प्रस्तुत हुने प्रवक्ता सापकोटाले बताए । 

माओवादीले ६ महिने अभियान सञ्चालन गर्ने भएको छ । मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्गलाई केन्द्रित दुईवटा अभियान सञ्चालन गर्ने सापकोटाले बताए । ‘जनताले के चाहेका छन्, जनता के विचार गर्दै छन् भन्ने अध्ययन गर्नेछौँ । जनताबाट सिक्ने र जनतालाई सिकाउने गर्दै रूपान्तरणको महान प्रक्रियामा जानुपर्छ भन्ने निष्कर्ष छ,’ सापकोटाले भने । अभियानमा अग्रगामी विचार र कार्यदिशासहित जनतालाई सुसूचित गर्ने उनले बताए ।