मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १७ शनिबार
  • Friday, 03 January, 2025
२o८१ कार्तिक १७ शनिबार १३:३९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

किसानबाट ५५ हजार क्विन्टल धान खरिद गर्दै खाद्य

सरकारले तोकेको न्यूनतम समर्थन मूल्य अनुसार मोटो धान प्रतिक्विन्टल ३४१०.५१ रुपैयाँका दरले खरिद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १७ शनिबार १३:३९:oo

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीका किसानबाट धान खरिद गर्न सुरु गरेको छ। टीकापुर नगरपालिकाको टीकापुर र शक्ति तथा धनगढी उपमहानगरको मोहनपुर गोदामबाट मोटो धान खरिद गर्न थालिएको कम्पनीको प्रादेशिक कार्यालय धनगढीले जनाएको छ।

खाद्यले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार मोटो धान प्रतिक्विन्टल ३४१०.५१ रुपैयाँका दरले खरिद गरिरहेको छ। गल्ला व्यापारीले अहिले समर्थन मूल्यभन्दा कममा धान खरिद गरिरहेका छन्। जिल्लाभरिबाट यस वर्ष ५५ हजार क्विन्टल धान खरिद गर्न लागिएको खाद्यको प्रादेशिक कार्यालयका निमित्त प्रमुख इन्जिला बस्नेतले जानकारी दिइन्।

‘खाद्यले आफ्नो गोदाम रहेका तीन ठाउँबाट धान खरिद गर्न सुरु गरेको छ,’ उनले भनिन्, ‘स्थानीय तहले गोदामको व्यवस्था गरे अन्य पालिकामा पनि किसानबाट धान किन्न खरिद केन्द्र राख्ने योजना छ।’ स्थानीय तहसँगको समन्वयमा भजनी नगरपालिका र बर्दगोरिया गाउँपालिकाबाट पनि धान खरिद गर्ने तयारी रहेको निमिक्त प्रमुख बस्नेतले बताइन्। खाद्यको मोहनपुरमा ४० हजार तथा टीकापुर र शक्तिमा १०/१० हजार क्विन्टल भण्डार क्षमताको गोदाम छ। 

धान उत्पादनको पकेट क्षेत्रका रूपमा रहेको कैलालीमा करिब ७० हजार हेक्टर क्षेत्रमा धान खेती हुने गरेको छ। प्रधानमन्त्री आधुनिक कृषि परियोजनाअन्तर्गत यहाँका भजनी नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिकामा धान सुपरजोन कार्यक्रम लागू छ। यी पालिकाका किसानलाई नजिक पर्ने गरी खरिद केन्द्र सञ्चालन गर्ने तयारी रहेको प्रादेशिक कार्यालयले जनाएको छ।

खाद्यले गत वर्षको तुलनामा यस वर्ष छिटो धान खरिद सुरु गरेको हो। खाद्यले ढिलो सुरु गर्दा किसानले गल्ला व्यापारीलाई समर्थन मूल्यभन्दा कममा धान बिक्री गर्नुपर्ने बाध्यता रहँदै आएको छ । खाद्यले खरिद सुरु गरेपछि भने गल्ला व्यापारीले पनि मूल्य बढाएर खरिद गर्छन्।

गत वर्ष ढिलो खरिद सुरु हुनु र खाद्यले खरिद सुरु गरेपछि गल्ला व्यापारीले मूल्य बढाएर खरिद गरेकाले खाद्यले किसानबाट लक्ष्यअनुसार धान खरिद गर्न सकेको थिएन। ‘अहिले मोटो धानको बजार मूल्य प्रतिक्विन्टल तीन हजार १५० सम्म रहेको बुझिएको छ, हामीले खरिद सुरु गरेपछि गल्ला व्यापारीले पनि मूल्य बढाएर खरिद गर्ने भएकाले किसानले लाभ पाउँछन्,’ बस्नेतले भनिन्। गत वर्ष खाद्यले यहाँका किसानबाट ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेकोमा १९ हजार क्विन्टल मात्र पाएको थियो।

बिक्रीका लागि आउने किसानको संख्या बढेमा धान खरिदको कोटा बढाइने खाद्यको प्रादेशिक कार्यालयले जनाएको छ। खाद्यमा धान बिक्रीका लागि किसानले आफ्नो व्यक्तिगत परिचय खुल्ने कागजात, आफ्नो वडा कार्यालयको सिफारिस ल्याउनुपर्ने प्रावधान राखिएको छ। खाद्यले किसानलाई धानको रकम चेकमार्फत भुक्तानी दिने गरेको छ।