मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १७ शनिबार
  • Friday, 03 January, 2025
२o८१ कार्तिक १७ शनिबार ११:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल संवत् ११४५ काे अवसरमा हेटौँडामा र्‍याली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १७ शनिबार ११:३९:oo

नेपाल संवत् ११४५ को अवसरमा बागमती प्रदेशको राजधानी हेटौँडामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी शुभकामना आदान–प्रदान गरिएको छ। शनिबार बिहानै हेटौँडा बजारमा प्रभातफेरी तथा र्‍यालीको आयोजना गर्दै शुभकामना साटासाट गरिएको हो। 

हेटौँडा उपमहानगरपालिका- १० स्थित बुद्धचोकबाट सुरु भएको र्‍याली पिपलबोट, संगमचोक, कान्तिराजपथ, स्कुलरोड, बसपार्क हुँदै पुनः बुद्धचोकमा पुगेर सभामा परिणत भएको थियो। नेवारी बाजागाजा र झाँकीसहित निस्केको र्‍यालीले बजार परिक्रमा गरेको हो। र्‍यालीमा मौलिक पोसाकमा सजिएका नेवार समुदायसँगै अन्य समुदायका मानिसहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद एकालाल श्रेष्ठले नेपालीहरूको मौलिक संस्कृति र परम्पराको जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने बताए। नेपाल संवत् नेपालीहरूको मौलिक संवत् भएको र यसको संरक्षण र जगेर्ना गर्न सबै समुदाय एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो।

यस्तै, नेपाल संवतको अवसरमा ज्वजलपा नेवाः पुच हेटौँडा उपमहानगरपालिका– ९ ले पनि शुभकामना आदान–प्रदान तथा मोटरसाइकल र्‍यालीको आयोजना गरेको छ। पुचका अध्यक्ष गणेशलाल श्रेष्ठको सभाध्यक्षता एवं हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो।

औद्योगिक क्षेत्रस्थित फुटबल चौरबाट निस्केको र्‍यालीले वडाको विभिन्न भाग तथा बजार परिक्रमा गरेको कार्यक्रम संयोजक अमित श्रेष्ठले जानकारी दिए। राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ (इ. सं. ८८०) मा  गरिबहरूको ऋणमोचन गरी नेपाल संवत् सुरु गरेको अवसरमा हेटौँडामा पनि प्रभातफेरी तथा मोटरसाइकल र्‍यालीको आयोजना गरी नेपाल संवतको अवसरमा शुभकामना आदान–प्रदान गरिएको हो। नेवारी समुदायको बाक्लो र पुरानो बस्ती रहेको हेटौँडामा पनि केही वर्षदेखि नियमित नेपाल संवतको अवसरमा विविध कार्यक्रमको आयोजना हुँदै आएको छ।