गुल्मीकाे रेसुंगा नगरपालिका–८ की ४५ वर्षीया यमकला श्रेष्ट होटेल व्यवसायी हुन्। उनी होटेलको कामबाट फुर्सद निकालेर बिहान–साँझ झिनियाँ बनाउँछिन्। वर्षमा एक लाखभन्दा बढीको झिनियाँ कारोबार गर्छिन्। झिनियाँ सुकाउने प्रविधि छैन। हाते मेसिनबाट बनाउने र सुक्न घाम चाहिन्छ। मौसम खुलेन भने झिनियाँ बनाउन सकिँदैन।
यमकलाको काममा श्रीमानसहितका परिवारले सहयोग गर्छन्। विशेष गरेर तिहारमा झिनियाँ व्यापार हुन्छ। मेला, महोत्सव र पूजाहरूमा वर्षभर झिनियाँ बिक्री हुने श्रेष्टले सुनाइन्। झिनियाँ राम्रो हुन राम्रो पाक र मौसम चाहिन्छ। चामलको पिठो, तेल र आर्कषक देखाउन कलर हालेर झिनियाँ बनाइन्छ। बजारमा चामलको मूल्य बढे पनि झिनियाँको मूल्य धेरै वर्षदेखि एउटै हुँदा गाह्रो परेको उनले गुनासो गरिन्। ‘पूरै समय झिनियाँमा लगाउनेहरूले राम्रो कमाउँछन्। चामलअनुसारको झिनियाँको मूल्य छैन,’ उनले भनिन्, ‘बिहान साँझको फुर्सदले पनि वार्षिक एक लाख कमाइ हुन्छ।’
तम्घासकै ४३ वर्षीया समीक्षा श्रेष्ठ पनि दुई दशकअघिदेखि झिनियाँ व्यापार गर्छिन्। उनी वर्षभर नै झिनियाँ व्यापार गर्छिन्। उनीसहित परिवारका सबै सदस्यले काममा सघाउँछन्। दसैँतिहारमा मात्रै सात लाखको झिनियाँ बिक्री भएको समीक्षाले बताइन्। हातले नै बनाउने भएकाले धेरै परिमाणमा उत्पादन गर्न नसक्दा स्टक नहुने उनको भनाइ छ। बजारको कुनै समस्या नै नभएकाले उत्पादन गर्न सके राम्रो नै आम्दानी हुने उनले बताइन्। अर्डरअनुसार उनी जिल्लासहित पाल्पा, बुटवल र काठमाडौंमा समेत झिनियाँ पठाउँछिन्।
झिनियाँकाे बजार मूल्य
तम्घासमा होलसेल दर्जनको एक सय रुपैयाँ र फुटकर एक सय ४० देखि दुई सय रुपैयाँसम्म साइजको आधारमा बिक्री हुने गरेको छ। समक्षाको घरबाटै अहिले दैनिक पाँचदेखि १० हजार रुपैयाँसम्मको झिनियाँ बिक्री हुने गरेको छ। तम्घासमा १५/२० घर नेवार समुदायले व्यावसायिक रूपमा झिनियाँको व्यवसाय गर्दै आएका छन्। त्यसबाहेक वामी, रिडी, बलेटक्सार, मजुवा, जुहाङ बजारलगायतका ठाउँमा नेवार समुदायले झिनियाँ उत्पादन र बिक्री-वितरण गर्ने गरेका छन्।
रेसुंगा नगरपालिका-८ की ३६ वर्षीया सुमित्रा श्रेष्ठ दम्पती पनि होटेल व्यवसायी हुन् । उनीहरूलाई पनि होटेलसँगै झिनियाँ रोटीको व्यापारले भ्याइनभ्याई छ। दम्पतीले १५ वर्षदेखि व्यावसायिक रूपमा होटेल र झिनियाँको व्यापार गरिरहेका छन्। बर्सेनि झिनियाँले सुमित्राको घरको पेटी र छत राताम्य हुने गर्छ। दसैँ र तिहारमा राम्रो व्यापार हुने भएकाले झिनियाँबाट डेढ दुई लाख आम्दानी भइरहेको श्रेष्ठले सुनाइन्।
त्यस्तै, मुसिकोट नगरपालिका–७ वामीकी ४५ वर्षीया विष्णुमतीको परिवारले झन्डै साढे चार दशकदेखि झिनियाँ बनाउँछन्। विष्णुमतीको मुख्य पेसा नै झिनियाँ भएकाले चारजना कामदार राखेर झिनियाँ बनाउँछिन्। दसैँ, तिहारमा धेरै व्यापार हुने भएकाले बिहान ४ बजेदेखि नै झिनियाँ उत्पादन र व्यवस्थापनमा विष्णुमती जुट्छिन्। अहिले दैनिक दुई सय ५० दर्जनसम्म झिनियाँ रोटी बनाउने गरेकी श्रेष्ठले वार्षिक आठदेखि १० लाख रुपैयाँसम्मको कारोबार गर्ने गरेको बताइन्।