१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २ शुक्रबार १o:१६:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

साफ महिला च्याम्पियनसिप : भुटानविरुद्ध अपराजित रहने नेपालको लक्ष्य

सन् २०१४ देखि ०२२ सम्मको चार भेटमा नेपालले भुटानको पोस्टमा २३ गोल गरेको छ, भुटानले एक गोल पनि फर्काएको छैन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार १o:१६:oo

पछिल्लो समय फुटबलमा राम्रो लगानी गरेको भुटानले उपाधि दाबेदार नेपालको महिला टोलीविरुद्ध सातौँ दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिप (साफ)मा शुक्रबार प्रतिस्पर्धा गर्दै छ । नेपाल र भुटानबिचको खेल साँझ ५: ३० बजे हुनेछ । नेपालले भुटानको राष्ट्रिय टोलीविरुद्ध आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यका साथ दशरथ रंगशालामा उत्रने योजना बनाएको छ । प्रतियोगिताको छैटौँ संस्करणसम्म नेपालले भुटानसँग हारको सामना गरेको छैन । नेपालले खेलेका चारै खेलमा जित निकालेको छ । 

नेपालले भुटानको पोस्टमा समग्रमा चार खेलमा २३ गोल गरेको छ । भुटानले नेपालविरुद्ध गोल गर्न सकेको छैन । नेपालकी कप्तान अन्जिला तुम्बाप्पो सुब्बाले भुटानविरुद्ध अपराजित यात्रालाई निरन्तरता दिने प्रयास हुने बताएकी छिन् । ‘अहिलेसम्म भुटानविरुद्ध अपराजित छौँ, यो खेलमा पनि यही नतिजा दोहोर्‍याउने पक्षमा छौँ,’ बिहीबार कप्तान अन्जिलाले भनिन्, ‘यो मात्र नभएर हाम्रो लक्ष्य यसपटक उपाधि जित्ने हो ।’ उनले समूह ‘बी’को पहिलो खेलमै सानदार जित निकाल्ने जनाइन् । ‘पहिलो खेल सानदार बनाउन चाहन्छौँ,’ उनले भनिन्, ‘यसैबाट हाम्रो तयारी प्रस्ट हुनेछ ।’ 

चार खेलमा २३ गोल
सार्क राष्ट्रका महिला खेलाडीको स्तर वृद्धि गर्ने उद्देश्यले सन् २०१० देखि साफ महिला च्याम्पियनसिप आयोजना गरेको थियो । नेपालले पहिलोपटक भुटानविरुद्ध सन् २०१४ मा प्रतिस्पर्धा गरेको थियो । जसमा नेपालले एकपक्षीय नतिजा निकाली ८–० ले बाजी मारेको थियो । त्यसपछि सन् २०१६ मा नेपालले भुटानमाथि ८–० को जित निकाल्यो । सन् २०१९ मा विराटनगरमा भएको साफमा नेपाल ३–० ले विजयी भयो । छैटौँ संस्करणमा नेपालले दशरथ रंगशालामा भुटानलाई 
४–० ले हरायो । 

भुटानविरुद्ध चार खेल खेलेकी स्ट्राइकर सावित्रा भण्डारीले सर्वाधिक १० गोल गरेकी छिन् । सन् २०१६ मा उनले दोहोरो ह्याट्रिक गरेकी थिइन् । यसैगरी, भुटानको पोस्टमा सजना रानामगर, कप्तान अनु लामा, दीपा अधिकारी र अनिता बस्नेतले समान दुई गोल गरेका छन् । मेनुका गिरी, शर्मिला थापा, कृष्णा खत्री, मञ्जली योञ्जन र पूर्वकप्तान निरु थापाले समान एक गोल गरे । भुटानविरुद्ध व्यक्तिगत धेरै गोल गरेकी सावित्राले पहिलो खेल गुमाउनेछिन् । उनी आइतबार मात्र नेपाल आइपुग्छिन् । अहिले सावित्रा फ्रेन्च लिगमा व्यस्त छिन् । 

सावित्रा नहुँदा रेखालाई अवसर 
फ्रेन्च क्लब अभान्टाले सावित्रालाई रिलिज नगरेको अवस्थामा नेपाली टोलीको फिनिसिङ पक्षमा रेखा पौडेलले मौका पाउनेछिन् । युएईको आबुधाबी कन्ट्री क्लबबाट एएफसी च्याम्पियन्स लिग खेलिरहेकी रेखालाई पहिलो सेटमै मौका दिने प्रशिक्षक राजेन्द्र तामाङले योजना बुनेका छन् । राष्ट्रिय महिला लिगको पहिलो चरण (९ खेल)मा सर्वाधिक १८ गोल गरेकी रश्मिकुमारी घिसिङले रेखालाई साथ दिनेछिन् । यसअघि सावित्राको प्रभावशाली प्रदर्शनमा रेखा र रश्मिको प्रदर्शन छायामा पर्ने गरेको थियो । समूह ‘बी’बाट सेमिफाइनल दौडमा भुटानले पनि दाबेदारी प्रस्तुत गर्ने लक्ष्य बनाएको छ । भारत, बंगलादेश र नेपालपछि भुटानलाई उपाधि दाबेदार राष्ट्रका रूपमा हेरिएको छ । 

भुटानविरुद्ध संयमित भएर खेल्छौँ 
अन्जिला तुम्बाप्पो सुब्बा, कप्तान, नेपाल

भुटानले पछिल्लो समय निकै राम्रो खेलिरहेको छ । हामीले विगतका संस्करणमा सहज जित निकालेका थियौँ । यद्यपि, यसपटक भुटानको तयारी राम्रो छ । हामी संयमित भएर खेल्नेछौँ । घरेलु मैदानमा फेरि एकपटक उपाधि जित्ने अवसर मिलेको छ । त्यसैेले पनि पहिलो खेल उत्कृष्ट बनाउने योजना छ । नेपालको राम्रो तयारी भएको छ । 

 पाकिस्तानलाई हरायो भारतले 
सातौँ संस्करणको साफ महिला च्याम्पियनसिप बिहीबारदेखि दशरथ रंगशालामा सुरु भयो । प्रतियोगिताअन्तर्गत समूह ‘ए’मा भारतले उद्घाटन खेलमा पाकिस्तानविरुद्ध ५–२ को जित निकालेको छ । भारतलाई सानदार जित दिलाउने क्रममा ग्रेस डामेईले दुई गोल गरिन् । मनीषा, बालादेवी गान्गोम र ज्योति चौहानले समान एक गोल गरेका थिए ।

 पाकिस्तानविरुद्धको खेलमा भारतका दुई अनुभवी खेलाडीले महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् । भारतीय राष्ट्रिय टोलीकै सर्वाधिक अनुभवी खेलाडीले बालादेवी ५०औँ अन्तर्राष्ट्रिय गोल पूरा गरिन् । उनले पहिलो हाफमा पोस्टभन्दा २२ यार्ड टाढाबाट उत्कृष्ट फ्रिकिक गोल गरेकी थिइन् । यसै गोलसँगै उनले सो उपलब्धि हात पारिन् । 

कप्तान असलता देवीले पाकिस्तानविरुद्ध खेल्दै सय अन्तर्राष्ट्रिय खेल पूरा गर्न सफल भइन् । पाकिस्तानका लागि सुहा हिरानी र कायला मारी सिद्दिकीले समान एक गोल फर्काएका थिए । भारत ३ अंकसहित समूह ‘ए’को शीर्ष स्थानमा छ । जितले कठिन समूहमा रहेको भारत सेमिफाइनलनजिक पुगेको छ । यस समूहमा साबिक विजेता बंगलादेश रहेको छ । यस्तै, समूह ‘ए’मा साबिक उपविजेता नेपालसँगै माल्दिभ्स, श्रीलंका र भुटान छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । 

 पहिलो हाफमै चार गोल 
भारतले पाकिस्तानविरुद्ध पहिलो हाफमा चार गोल गरेको थियो । भारतले पाकिस्तानलाई अन्तिमसम्म दबाबमा राखेको थियो । भारतले खेलको पाँचौँ मिनेटमा १–० को अग्रता लियो । ग्रेसले १८ यार्ड बक्सबाट गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाइन् । खेलको १७औँ मिनेट मनीषाले भारतलाई २–० को अग्रता दिलाइन् । पाकिस्तानी रक्षकको गल्तीमा मनीषाले सहजै गोल गरिन् । ३५औँ मिनेटमा बालादेवीले सीधै फ्रिकिक गोल गर्दा भारत ३–० ले अघि रह्यो । खेलको ४२औँ मिनेटमा गे्रसले भारतका लागि चौथो गोल गरिन् । पहिलो हाफको इन्जुरी समयमा पाकिस्तानले पेनाल्टीबाट गोल फर्कायो । 

पाकिस्तानकी स्ट्राइकर नदिया खानलाई भारतीय कप्तान असलताले पेनाल्टी बक्सभित्र लडाएपछि नेपाली रेफ्री अञ्जना राईले पाकिस्तानलाई पेनाल्टी अवसर दिइन् । सुहाले टप कर्नरमा गोल गर्दै पाकिस्तानलाई ४–१ को स्थितिमा राखिन् । दोस्रो हाफमा पाकिस्तानले सुधारिएको प्रदर्शन गर्‍यो । पाकिस्तानले ४७औँ मिनेटमै दोस्रो गोल फर्कायो । सिद्दिकीले सिक्स यार्ड बक्सबाट सहजै गोल गरिन् । खेलको ७८औँ मिनेटमा ज्योतिले भारतलाई ५–२ मा पुर्‍याइन् । उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।