१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
२o८१ कार्तिक २ शुक्रबार १o:o३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बाढीपहिरोले पुर्‍याएको क्षतिमध्ये २० प्रतिशतमा मात्रै बिमा दाबी

देशभर ४६ अर्बको क्षति भएको अनुमान, बिमा दाबी नौ अर्ब मात्रै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार १o:o३:oo

असोज दोस्रो साता आएको बाढीपहिरो तथा डुबानबाट भएको क्षतिमा बिमा कम्पनीहरूमा झन्डै नौ अर्बबराबरको दाबी परेको छ । नेपाल बिमा प्राधिकरणले तयार गरेको २९ असोजसम्मको तथ्यांकअनुसार निर्जीवन बिमा कम्पनीहरूमा आठ अर्ब ९८ करोड ३० लाखबराबरका तीन हजार दुई सय ४४ वटा दाबी परेका छन् । यसमा जीवन बिमा कम्पनीहरूमा आएको दाबीको विवरण समावेश गरिएको छैन । 

नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले बाढीका कारण आउने दाबी अब लगभग यही विन्दुमा हुने बताए । ‘घटना भएको निश्चित समयमा दाबीको प्रक्रिया अघि बढाइसक्नुपर्छ । त्योअनुसार अधिकांश दाबी पेस भइरहेको छ । अब छुटपुट मात्रै बाँकी छन्,’ उनले भने, ‘अब आवश्यक प्रक्रिया पूरा गरेर दाबी भुक्तानीको प्रक्रिया अघि बढाउँछौँ ।’

तथ्यांकअनुसार सम्पत्ति बिमामा मात्रै ६ अर्ब ६८ करोड ६७ लाखका एक हजार ६ सय २० वटा दाबी आएका छन् । यसैगरी, इन्जिनियरिङ बिमामा एक अर्ब ८४ करोड सात लाखबराबरका दुई सय ५९ वटा दाबी परेका छन् । यसका अलावा निजी मोटर बिमामा २३ करोड ७२ लाखबराबरका आठ सय १६ वटा, सार्वजनिक मोटर बिमामा १६ करोड ९४ लाख रुपैयाँबराबरका तीन सय ४०, सामुद्रिक बिमामा दुई करोड २० लाख रुपैयाँबराबरका २३ वटा, कृषि बाली बिमा एक करोड ११ लाख रुपैयाँबराबरका एक सय २३ वटा, पशुपक्षी बिमामा एक करोड एक लाख रुपैयाँबराबरका ४८ र विविधमा ५४ लाख ८५ हजार रुपैयाँबराबरका १५ वटा दाबी परेका छन् । 

तथ्यांकअनुसार कोशी प्रदेशबाट ४० करोड ९६ लाखबराबरका दुई सय १५, मधेश प्रदेशबाट १० करोड ५५ लाख रुपैयाँबराबरका ९३ वटा, बागमती प्रदेशबाट आठ अर्ब ३३ करोड ९१ लाख रुपैयाँबराबरका २८ सय ६९ वटा, गण्डकी प्रदेशबाट चार करोड ५५ लाख रुपैयाँबराबरका २५ वटा, लुम्बिनी प्रदेशबाट आठ करोड २८ लाख रुपैयाँबराबरका ३८ वटा, कर्णाली प्रदेशबाट दुई लाख ५० हजार रुपैयाँबराबरका दुईवटा र सुदूरपश्चिम प्रदेशबाट दुई लाख १० हजारबराबरका दुईवटा दाबी परेका छन् । 

यो दाबीकर्ताले दाबी गरेको रकम मात्रै हो । अब कम्पनीहरूले फिल्डमा सर्भेयर (प्राविधिक) नै खटाएर बिमा दाबीयोग्य क्षतिको अन्तिम प्रतिवेदन निकाल्नेछन् । त्यसका आधारमा दाबी रकम स्वीकृत गरिने बिमा कम्पनीले जनाएको छ ।  
यद्यपि, कम्पनीहरूले अग्रिम दाबी दिन पनि सुरु गरेका छन् । हालसम्म ९७ वटा दाबीमा १७ करोड २८ लाख २८ हजार रुपैयाँ अग्रिम दाबी गरिएको छ ।

पछिल्लो विपत्बाट ग्राहकलाई परेको असरलाई दृष्टिगत गर्दै अग्रिम दाबी भुक्तानी अघि बढाइएको अध्यक्ष क्षेत्रीले बताए । ‘पछिल्लो बाढीपहिरोले बिमितहरू मर्कामा परेका छन् । सर्भेयरको प्रतिवेदनका आधारमा भुक्तानी गर्दा समय लाग्छ । त्यसले बिमितहरू थप मर्कामा पर्न सक्छन्,’ उनले भने, ‘तसर्थ, बिमितको सहजताका लागि अहिले तत्काल केही रकम अग्रिम रूपमा भुक्तानी दिन्छौँ । साथै, दाबी प्रक्रिया पनि द्रुत गतिमा अधि बढाउँछौँ । सर्भेयरको अन्तिम रिपोर्ट आएपछि पूरा भुक्तानी गर्नेछौँ ।’

हालसम्म हिमालयन एभरेस्ट इन्स्योरेन्सले २३ हजार, नेकोले ६६ हजार, शिखरले १७ करोड २४ लाख ७१ हजार, आइजिआई प्रुडेन्सियलले ३८ हजार, सानिमा जिआइसीले दुई लाख १६ हजार र प्रभुले ११ हजार रुपैयाँ अग्रिम दाबी भुक्तानी दिएका छन् । बाढीले देशभर ४६ अर्ब चार करोड रुपैयाँको क्षति पुर्‍याएको सरकारी आँकडा छ । बाढीले पुर्‍याएको क्षतिमा २० प्रतिशतको अनुपातमा मात्रै दाबी पेस भएको देखिन्छ । बिमाको पहुँच व्यापक 
नभएका कारण क्षतिअनुसार दाबी नपरेको संघका अध्यक्ष क्षेत्री बताउँछन् ।