१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
नयाँ पत्रिका मकवानपुर
२o८१ कार्तिक २ शुक्रबार १o:o३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

हेटौँडा सिमेन्टबाट १० लाख  बराबरको तामाको तार चोरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार १o:o३:oo

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगपरिसरबाट करिब १० लाख पर्ने तामाको तार चोरी भएको छ । उद्योग सञ्चालन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले फूलपातीको एक दिनअघि २२ गते राति दुई बजेतिर उद्योगपरिसरबाटै तामाको तार चोरी भएको जानकारी दिए । उनले घटनाबारे जानकारी पाएपछि भोलिपल्टै प्रहरीलाई मौखिक रूपमा जानकारी गराएको बताए । घटना भएको एक साता बितिसक्दासमेत चोरीमा संलग्न कसैलाई पनि प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । उनले मंगलबार पुनः जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएको र घटनाबारे प्रहरीले छानबिन थालेको बताए । 

अध्यक्ष भण्डारीका अनुसार ढुंगा क्रसिङ गर्ने स्थानबाट उद्योगसम्म कंक्रिट ओसार्न प्रयोग गरिने तामाको तार चोरी भएको हो । उनले सय मिटरजति तार चोरी भएको जानकारी दिए । ‘चोरी भएको तारको मूल्य कति पर्छ भन्ने विषय यकिन छैन,’ उनले भने, ‘कम्तीमा पनि ८/१० लाख रुपैयाँ पर्ने उद्योगका प्राविधिकले जानकारी दिएका छन् ।’ ‘उद्योगको सुरक्षाका लागि बज्र सेक्युरिटी कम्पनीलाई जिम्मेवारी दिइएको छ । सेक्युरिटी कम्पनीको कमजोरीका कारण चोरी भएको हो । हामीले उनीहरूलाई पनि यस विषयमा जानकारी गराइसकेका छौँ,’ उनले भने, सेक्युरिटी कम्पनीका तर्फबाट पनि छानबिन भइरहेको छ ।’

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले घटनाबारे आफूहरूलाई बुधबार जानकारी आएको र अनुसन्धान थालेको बताए । घटना राति २ बजेतिर भएको सेक्युरिटी गार्डहरूले बताएको उनको भनाइ छ । उद्योग सुरक्षार्थ खटिएका गार्डका अनुसार सात–आठजनाको समूहमा आएका नचिनेका व्यक्तिले चोरी गरेको प्रवक्ता अर्यालले जानकारी दिए । ‘मानिसहरू उद्योगपरिसरमा प्रवेश गरेको थाहा पाएपछि होहल्ला गरेर भए पनि मानिसहरू एकजुट गर्नुपर्ने थियो । तर, सेक्युरिटीका मानिसहरू चुपचाप बस्नु शंकास्पद छ,’ उनले भने ।