१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
दीपक भट्ट रामेछाप
२o८१ कार्तिक २ शुक्रबार o८:१४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मन्थली विमानस्थलमा रोकिएका पर्यटक हेलीमार्फत लुक्ला उड्न थाले

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार o८:१४:oo

लुक्लाको मौसम खराब हुँदा उडान प्रभावित भएर रामेछापको मन्थली विमानस्थलमा चार दिनदेखि रोकिएका पर्यटक हेलिकोप्टरमार्फत लुक्ला उड्न थालेका छन् । खुम्बु क्षेत्रमा जाने विदेशी पर्यटक काठमाडौंबाट मन्थली विमानस्थलसम्म सडकमार्ग हुँदै आउने र हवाईजहाजमार्फत सोलुको लुक्लातर्फ जाने गरेका छन् । केही दिनदेखि लुक्लाको मौसम खराब भएकाले एक हजारभन्दा बढी पर्यटक मन्थलीमा मौसम सुधारको पर्खाइमा बस्दै आएका छन् । 

चार दिनदेखि मौसम नखुल्दा रामेछाप–लुक्ला उडानमा समस्या हुँदै आएको छ । उडान प्रभावित हुँदा लुक्लातर्फ जाने पर्यटक आफ्नो भिसा सकिन लागेको भन्दै केही सडकमार्ग हुँदै काठमाडौंतर्फ फर्कन थालेका छन् । भिसा भएका पर्यटक अझै मौसम खुल्ने प्रतीक्षामा विमानस्थलआसपासका होटेल र होमस्टेमा बस्दै आएका छन् । 

केही पर्यटक हेलिकोप्टरमार्फत लुक्ला जान थालेका नागरिक उड्डयन कार्यालय रामेछापका उपप्रबन्धक हिरण शाहले जानकारी दिए । उनले भने, ‘सोमबारदेखि लुक्लाको मौसम खराबी भएका कारण उडान प्रभावित हुँदै आएको छ । बुधबार केही उडान भएपछि पुनः मौसम खराबीका कारण बन्द भयो । अहिले पनि लुक्लाको मौसम नखुलेका कारण उडान हुन सकेको छैन । हवाईजहाज उडान हुन नसकेपछि केही पर्यटक हेलिकोप्टरमार्फत लुक्ला जान थालेका छन् ।’ अहिले रामेछाप विमानस्थलमा विभिन्न पाँच कम्पनीका हेलिकोप्टरले पर्यटकलाई सेवा दिँदै आएको उपप्रबन्धक हिरण शाहले बताए । 

रामेछाप विमानस्थल हुँदै पर्यटक वसन्त ऋतुको चैतको पहिलो सातादेखि जेठ मसान्तसम्म र शरद् ऋतुको असोज महिनाको पहिलो हप्तादेखि मंसिर महिनाको १५ गतेसम्म सोलुको लुक्ला जाने गरेका छन् । रामेछाप विमानस्थलबाट तारा एयर, समिट एयर र सीता एयरले पर्यटकलाई सेवा दिँदै आएका छन् । लुक्लाको मौसम खुल्दा रामेछाप विमानस्थलबाट नियमित उडान हुँदै आएको थियो ।