मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३० बुधबार
  • Saturday, 21 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ३० बुधबार o८:१२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दसैँका वेला विप्लवलाई धान भित्र्याउने चटारो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ३० बुधबार o८:१२:oo

आममानिस दसैँको रमझममा व्यस्त बन्दा समाजवादी मोर्चाका संयोजक एवं नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई भने धान भित्र्याउने चटारो छ । देशका विभिन्न भागमा पार्टीको नेतृत्वमा ‘सहकारीबाट सामूहिक उत्पादन’ सिद्धान्तअनुसार लगाइएको धानबाली भित्र्याउने काममा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता जुटेका छन् । विजया दशमीको दिनसमेत विप्लवसहित नेता तथा कार्यकर्ताले धान काटे । कपिलवस्तुमा करिब १३ बिघा खेतमा लगाइएको धानबाली भित्र्याउने विप्लव आफैँ सक्रिय भएका छन् । कपिलवस्तुमा गाई फार्म पनि सञ्चालित छ । फर्ममा करिब दुई सय गाई छन् । 

कपिलवस्तुका साथै कैलाली, कञ्चनपुर, चितवन, दाङ र सुनसरीमा पनि नेकपाको नेतृत्वमा धानखेती लगाइएको छ । कैलालीमा करिब सात बिघा, कञ्चनपुरमा करिब तीन बिघा, चितवनमा करिब १४ बिघा, दाङमा करिब १० बिघा र सुनसरीमा करिब आठ बिघामा धानखेती गरिएको नेकपाका स्थायी समिति सदस्य भरत सीले जानकारी दिए । अन्य ठाउँमा समेत सामूहिक खेती भइरहेको छ ।

धानखेतीका साथै गाई र कुखुरापालन, तरकारी तथा फलफूल खेतीसमेत भइरहेको छ । जुम्लामा स्याउका करिब १५ सय बिरुवा तथा डोटी र अछाममा गरी सुन्तलाका करिब सात सय बिरुवा रोपिएको छ ।‘उत्पादन र श्रमसँग अनिवार्य रूपमा नेता र कार्यकर्ता जोडिनुपर्छ । त्यसको प्रस्तावक विप्लव हुनुहुन्छ,’ उनले भने, ‘यो एकीकृत स्वामित्वको व्यावहारिक अभिव्यक्ति हो । सामूहिक ६० र निजी ४० प्रतिशत हुने गरी उत्पादन गर्दै आएका छौँ । सहकारीबाट सामूहिक उत्पादन हुन्छ ।’

सस्तोमा श्रम गर्ने भएकाले बजारमा प्रतिस्पर्धा गर्न पनि सजिलो हुने गरेको नेकपाले जनाएको छ । ‘हाम्रोमा व्यक्तिले सस्तोमा श्रम गर्छ । एकजनाले दिनको पाँच सय रुपैयाँ लिइरहेको छ भने हामी तीन सयमा काम गर्छौँ । पार्टीको काम मात्रै होइन, बाहिर श्रम गर्दा पनि हामी तीन सय रुपैयाँमै गर्छौैँ । जसले गर्दा मूल्य कम पर्न गएर बजारमा प्रतिस्पर्धा गर्न सजिलो हुन्छ,’ उनले भने, ‘हामी निःशुल्क श्रम पनि गर्दैनौँ । पूर्ण शुल्क पनि लिँदैनौँ । समान श्रम हुन्छ । श्रमको पाँच सय हो भने हामी तीन सय लिन्छौँ । दुई सयको श्रम सामूहिकताका लागि गछौँ ।’

 अवलोकनमा घनश्याम भुसाल र जनार्दन शर्मा
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र माओवादी उपमहासचिव जनार्दन शर्माले नेकपाले कपिलवस्तुमा गरेको सामूहिक खेतीको अवलोकन गरेका छन् । भुसालले आइतबार र शर्माले मंगलबार अवलोकन भ्रमण गरेका हुन् । सो क्रममा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको विप्लवको सचिवालयले जनाएको छ । ‘कम्युनिस्ट एक हुने ठोस कार्यक्रम भनेको उत्पादन र श्रमसँग जोडिएर हुन्छ । राष्ट्रिय स्वाधीनताको रक्षाका लागि पनि उत्पादन गर्नैपर्छ । विश्व ध्रुवीकरणमा गइरहेको सन्दर्भमा राष्ट्रिय पुँजीको विकास अनिवार्य भइरहेको छ,’ नेकपा नेता सीले भने । 

कम्युनिस्टहरूबिच नयाँ एजेन्डा र कार्यक्रमसहितको एकता हुनुपर्ने भन्दै उनले भने, ‘नेता र कार्यकर्ता आत्मनिर्भर हुनैपर्छ । देखिने काम हुनुपर्छ । उत्पादनमा नजोडिदिँदा भ्रष्टाचार बढेको छ । दलाली संस्कृतिको विकास भएको छ । उत्पादन र श्रमसँग जोडिएर आत्मनिर्भर बन्दै हामी त्यसको अन्त्य गर्न चाहन्छौँ ।’