
एक स्थानमा ध्रुवीय भालुका जुम्ल्याहा बच्चा थिए । उनीहरू हुर्किंदै गएपछि एक दिन आमाले घोषणा गरी– अब म तिमीलाई न त खाना दिन्छु, न त सिकार गर्न नै सिकाउँछु । भोलिदेखि जे गर्नुपर्छ, तिमीहरू आफैँ गर ।
अर्को दिन बच्चाहरूलाई केही नभनी आमा चुपचाप कतै हिँडी । अब दुवै भाइले आफ्नै खुट्टामा उभिएर बाँच्नु थियो । केहीबेरमा उनीहरूलाई भोक लाग्यो । दुवै सिलको सिकार गर्न समुद्रको किनारमा पुगेर चुपचाप समुद्रतिर हेर्न थाले । उनीहरू सोच्दै थिए– एकैछिनमा सिल तैरिँदै किनारमा आउनेछ र त्यसलाई समातेर भोक मेट्न पाइनेछ । तर, लामो समय बित्दा पनि सिल कतै देखिएन ।
जेठो भालुले समुद्रको पानी छुँदै भन्यो– आच्छु ! पानी त कति चिसो रहेछ हो । अब हामीले यसमा डुबुल्की नमारी सिल भेटिएलाजस्तो छैन । तर, दोस्रो भालुले उसको कुरा काट्दै भन्यो– पागल भइस् कि क्या हो ? यति चिसो पानीमा डुबुल्की मारेर मर्न रहर छ हो ? तर, पहिलो भालुले भाइको कुरा नमानी पानीमा झ्वाम्म हामफाल्यो । केहीबेरमा ऊ किनारमा फर्कियो । उसको हातमा कुनै सिल थिएन । ऊ चिसोले थरथर काँप्दै थियो । उसलाई देखेर दोस्रो भालुले हाँस्दै भन्यो– मैले पहिल्यै चिसो पानीमा नहाम्फाल् भनेको होइन । अब काँपेरै मर् । तर, पहिलो भालुले भाइको कुरा नसुनी फेरि पानीमा हाम्फाल्यो । तर, यसपटक पनि उसलाई सफलता मिलेन ।
दाजुको दोस्रो असफलता देखेर हाँस्दै भाइले भन्यो– होइन, तँ पटक–पटक एउटै गल्ती किन गरिरहेको छस् हँ ? मर्न रहर छ हो ? तर, दाजुले भाइको कुरामा चासो नदिई पुनः डुबल्की लगायो । तर, यसपटक जब ऊ किनारमा फर्कियो, उसको हातमा एउटा ठुलो सिल थियो । किनारमा निस्किएर दाजु भालु स्वाद मानी–मानी सिल खान थाल्यो भने भाइ भालुचाहिँ मुख मिठ्याउँदै हेरिरह्यो । अन्त्यमा उसले खाली पेट नै फर्किनुपर्यो । आफू भोकै रहनुमा उसले मनमनै भगवान्लाई दोष दिँदै भन्यो– मेरो दाजु कति भाग्यमानी र मचाहिँ कति अभागी ?