१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ८ मंगलबार
  • Wednesday, 25 September, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ असोज ८ मंगलबार ११:३२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१२ कात्तिकदेखि भैरहवामा पुनः उडान गर्दै जजिरा एयरवेज  

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ८ मंगलबार ११:३२:oo

कुवेतको जजिरा एयरवेजले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा १२ कात्तिकदेखि पुनः नियमित उडान गर्ने भएको छ । सोमबार जजिराले गौतम बुद्ध विमानस्थलमा सातामा तीन दिन उडान गर्ने गरी ‘विन्टर सेड्युल’ स्वीकृतिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा पेस गरेको हो । 

जजिरा एयरवेजले विमानस्थल सञ्चालन हुने समयमै कुवेत–भैरहवा–कुवेत उडान गर्ने गरी रि–सेड्युल पेस गरेको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । जजिराको न्यारोबडी एयरबस–३२० जहाज बिहान ६:२५ बजे गौतम बुद्ध विमानस्थलमा अवतरण गरेर ७ः३० बजेभित्र कुवेत फर्किनेछ । 

यसअघि जजिराले राति दुई बजे आएर तीन बजे फर्किने गरी प्रस्ताव पेस गरेको थियो । तर, क्यानले उक्त समयमा उडान गर्न दिँदा अतिरिक्त (५०–६० लाख रुपैयाँ) खर्च व्यहोर्नुपर्ने भन्दै विमानस्थल सञ्चालन समयमै उडानतालिका पेस गर्न आग्रह गरेको थियो । अहिले गौतम बुद्ध विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म खुला गरिँदै आएको छ । जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार कुवेत–भैरहवा उडान गर्ने भएको छ । ‘क्यानको आग्रहबमोजिम जजिराले अप्रेसन आवरमै उडान गर्ने गरी रि–सेड्युल पेस गरेको छ, जुन स्वागतयोग्य छ,’ भुलले भने, ‘क्यानले विन्टर सेड्युल स्वीकृत गरेपछि जजिराले भैरहवा पुनः उडान सुरु गर्नेछ ।’ 

भैरहवामा अन्तर्राष्ट्रिय उडान सुचारु भएपछि पश्चिम नेपालका यात्रुलाई ठुलो राहत मिल्ने जजिराको विश्वास छ । यसअघि जजिराले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनकै दिन २ जेठ ०७९ देखि उडान गर्दै आएको थियो । मौसमको कारण देखाउँदै आठ महिनापछि ६ पुसदेखि स्थागित गरेको उडान २५ फागुनदेखि सुचारु गरेको थियो । केही समय उडान गरेर फेरि रोकिएको जजिराको भैरहवा उडान कात्तिक दोस्रो सातादेखि पुनः सुचारु हुन लागेको हो । भैरहवा उडान गर्न थाई एयर एसिया पनि सकारात्मक रहेको क्यानका सूचना अधिकारी भुलले भने । ‘थाई एयर एसियाले २ अक्टोबरमा थाइल्यान्डबाट काठमाडौंमा पहिलो उडान गर्नेछ,’ उनले भने, ‘उक्त उडानमा आउने थाई एयर एसियाको प्राविधिक र उच्च धिकारीले ३ गते गौतम बुद्ध विमानस्थलको अध्ययन गरेर कार्ययोजना बनाई सेड्युल पेस गर्नेछन् ।’ थाई एयर एसियालाई काठमाडौंमा चार र भैरहवा चार गरी सातामा आठ उडान गर्न अनुमति दिएको क्यानले जनाएको छ ।

सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कार्ययोजना बनाइसकेको छ । कार्ययोजनामा भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई ल्यान्डिङ, पार्किङ, ग्राउन्ड ह्यान्डलिङ, सुरक्षा शुल्कमा दिइँदै आएको छुटलाई निरन्तरता दिने, ग्राउन्ड ह्यान्डलिङ सेवामा ७५ प्रतिशत छुट, हवाई इन्धनमा सहुलियत, यात्रु सेवा शुल्क र टिकटमा भ्याट छुट, अध्यागमन पूर्ण क्षमतामा सञ्चालन गर्ने, श्रम डेस्क स्थापना गर्ने, विभिन्न देशको भिसा सेन्टर स्थापना गर्नेलगायत उल्लेख छ ।