१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
२o८१ असोज ६ आइतबार o९:४o:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बागमतीमा संसद् बैठक अवरोध गर्ने प्रतिपक्षीको तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार o९:४o:oo

प्रमुख प्रतिपक्षी दल माओवादीले बागमती प्रदेश सभा चल्न नदिने भएको छ । शनिबार कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबारको बैठकका लागि कार्यसूचीसमेत निर्धारण गरेको छ ।

सरकारले प्रतिपक्षीलाई पेलेर जाने नीति लिएको र विगतको सरकारले गरेका निर्णय र कामलाई अवरोध गर्न खोजेका कारण सरकारको आधिकारिक धारणा नआउन्जेल सदन चल्न नसक्ने माओवादीले जनाएको छ । माओवादी बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्न ढकालले कार्यव्यवस्था परामर्श समितिले आइतबारका लागि कार्यसूची तय गरे पनि सरकारको रवैयाका कारण बैठक चल्न नसक्ने बताए ।

‘सरकार सुशासन कायम गर्न असफल भएको छ । वर्तमान सरकार विगतमा बजेट पारित गर्ने वेलामा राजनीतिक दलहरूबिच भएको लिखित र अलिखित समझदारीलाई बेवास्ता गर्दै अघि बढ्न खोजेको छ । हामीले सरकारसँग बजेट कार्यान्वयनबारे धारणा माग गरेका छौँ । चित्तबुझ्दो जवाफ नआए सदन चल्दैन,’ उनले भने ।

माओवादीले आइतबारको सदन चल्न नदिने चेतावनी दिएपछि मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार बिहानका लागि सर्वदलीय बैठक बोलाएका छन् । उनले सदन सुरु हुनुभन्दा अघि प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबिच छलफल गर्न चाहेको बताए ।

लामाका अनुसार बैठक आइतबार बिहान ८ बजे मुख्यमन्त्रीको सरकारी निवासमा बस्ने गरी बोलाइएको छ । लामो समयपछि बैठक बस्न लागेकाले सबै दलको साझा धारणा बनाएर बैठक सञ्चालन गर्न चाहेको उनको दाबी छ ।