१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ६ आइतबार ११:३o:oo
Read Time : > 1 मिनेट
साहित्य डिजिटल संस्करण

एआई र रोबोटिक्समा आधारित पहिलो नेपाली उपन्यास ‘सावर्णि’ सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार ११:३o:oo

एआई र रोबोटिक्समा आधारित उपन्यास ‘सावर्णि’ सार्वजनिक भएको छ ।  बालरोग विशेषज्ञ डाक्टर श्रीधर खनालद्वारा लिखित साइन्स फिक्सन ‘सावर्णि’ कमलादीस्थित प्रज्ञा डबलीमा एक कार्यक्रमबिच सार्वजनिक गरिएको हो ।

प्राध्यापक अभि सुवेदी, लेखक डा. रवीन्द्र समीर, लेखक सगुना शाह र खनालले संयुक्त रूपमा उपन्यासको लाोकार्पण गरे । लोकार्पण कार्यक्रममा बोल्डै डा. समीरले अब मानिसहरू ‘सावर्णि’ युगमा प्रवेश गर्न लागेको बताए ।  ‘अब हामी सावर्णि युगमा प्रवेश गर्न लागेको संकेत आइरहेको छ । छोराछोरी, बाबुआमा, हजुरबाहजुरआमा मोबाइलविना खाना खानै नसक्ने अवस्था छ,’ पुस्तकबारे डा. समीरले भने, ‘हामीलाई एआईले नियन्त्रण गरिरहेको छ । कुनै लेख लेख्नुपर्‍याे च्याट जिपिटी छ । हाम्रो सिर्जनालाई एआईले नियन्त्रण गरिरहेको छ ।’

यही  विषयलाई डा. खनालले मीठो भाषाशैलीमा लेखेको डा. समीरले बताए । उनले यो उपन्यास चिकित्सकले लेखेजस्तो नलाग्नेसमेत बताए । उनले भने, ‘यो पुस्तक राम्रो लेखकले नै लेखेजस्तो छ ।’

डा. समीरले थप भने, ‘एआईले हामीलाई शासन गर्न सुरु गरिसकेको छ । यस आक्रमणबाट बालबालिकालाई बचाउने तरिकाका लागि यो किताब उपयुक्त छ ।’ लेखक शाहले पनि यदि मान्छेको अध्ययनको दायरा फराकिलो छ भने उसले पृथक किताब लिएर आउने बताइन् ।

‘सावर्णि’मा डा. खनालको अध्ययनको फैलावटसमेत देखिएको उनले बताइन् । उनले भनिन्, ‘यो किताब हामी लोप भइसकेपछिको कथा हो । यो किताब पढ्दै जाँदा म बाल्यकालमा गएँ ।’ शाहले अबको प्यारेन्टिङ कस्तो गर्ने भनेर यस पुस्तकले सचेत गराउने बताइन् । मान्छेले सिर्जना गरेको कतिपय कुराले मान्छेलाई नै ध्वस्त बनाउने भन्दै प्राध्यापक सुवेदीले भने, ‘यो उपन्यासले आशाको संकेत गर्छ । सावर्णिको जन्म नेपाली साहित्यको प्रयोगात्मक उपन्यासको रूपमा भएको छ ।’

लेखक डा. खनालले पनि सबैलाई धन्यवाद दिए ।  पेसाले  बालरोग विशेषज्ञ रहेका खनाल अस्तित्व फाउन्डेसनका संस्थापकसमेत हुन् । यस फाउन्डेसनले क्यान्सरजस्ता घातक रोग लागेका बालबालिकाको उपचारमा सहयोग गर्दै आएको छ । ‘सावर्णि’बाट प्राप्त रोयल्टीबाट केही प्रतिशत रकम डा. खनालले यही फाउन्डेसनमार्फत समाजसेवामा लगाउने बताएका छन् । यस पुस्तकलाई बुकहिलले बजारमा ल्याएको हो ।