१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
२o८१ असोज ६ आइतबार १३:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

साढे तीन करोड लागतमा पाँच विद्यालय भवन निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार १३:३६:oo

गुणस्तरीय शिक्षामा टेवा पुर्‍याउने उद्देश्यका साथ दातृ निकायको सहयोगमा साढे तीन करोड रुपैयाँको लागतमा जुम्लामा पाँचवटा विद्यालय भवन निर्माण गरिएको छ। सिँजा भेगमा पर्ने दुर्गम क्षेत्रमा तीन करोड ५० लाख ३८६ रुपैयाँमा पाँचवटा विद्यालय भवन निर्माण गरिएको हो।

हिमा गाउँपालिकाको भैरव आधारभूत विद्यालय जोगीवाडा र माथिकुडु गाउँको महादेव आधारभूत विद्यालयमा चार–चार कोठे भवन निर्माण गर्नुका साथै अपांगतामैत्री, छात्रछात्रामैत्री, हातधुने धारा निर्माण गरिएको छ। यस्तै सिँजा गाउँपालिकास्थित श्री माध्यमिक विद्यालय जोडु, कनकासुन्दरी गाउँपालिकाको आधारभूत विद्यालय गोरुचौर र भैलापाटा आधारभूत विद्यालय लेखपुरमा पनि चारकोठे विद्यालय भवन निर्माण गर्नुका साथै अपांगतामैत्री, छात्रछात्रामैत्री, हातधुने धारा निर्माण गरिएको छ।

स्थानीय तहको समन्वयमा प्लान नेपाल र पेस नेपाल जुम्लाको साझेदारीमा आधार परियोजना विद्यालय भवन, शौचालय र हातधुने धारा निर्माण गरिएको पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले बताए। उनले भने, ‘निर्माण गरिएको संरचना भूकम्प प्रतिरोधीका साथै अपांगता र बालमैत्री छन्।’

सबै भौतिक संरचना निर्माणपश्चात् कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले भवन उद्घाटन गर्नुका साथै स्थानीय तहलाई असोज पहिलो साता हस्तान्तरण पनि गरिएको बताए। प्लान इन्टरनेसनल नेपालका क्षेत्रीय निर्देशक मीना पराजुलीले संस्थाले जहिले पनि आवश्यकतामा आधारित रहने र गुणस्तरीय शिक्षा क्षेत्रमा विगत ४५ वर्षदेखि नेपालमा गतिविधि सञ्चालन गर्दै आएको बताइन्। 

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले टिनका छाना भएका निजी विद्यालयमा अध्ययन गराउने अभिभावकको प्रतिस्पर्धालाई अन्त्य नगरी सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर नआउने बताए। सामाजिक विकासमन्त्री भण्डारीले गुणस्तरीय भवन निर्माण गर्ने, तर बालबालिकालाई सहरका निजी विद्यालयमा पढाउने चलनको अन्त्य गर्नुपर्ने बताए।