१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Saturday, 12 October, 2024
रासस पेरिस
२o८१ असोज ३ बिहीबार १२:४६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

मेटा र स्पोटिफाईद्वारा युरोपेली संघको एआईसम्बन्धी निर्णयको आलोचना

Read Time : < 1 मिनेट
रासस, पेरिस
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार १२:४६:oo

मेटा र स्पोटिफाईलगायत कम्पनीको समूहले डाटा गोपनीयता र आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को सन्दर्भमा खण्डित र असंगत निर्णय गरेको दाबी गर्दै युरोपेली संघको आलोचना गरेको छ।

युरोपेली बजार पहिले नै कम प्रतिस्पर्धी हुँदै गएको र एआईको युगमा अझ पछाडि पर्ने जोखिम रहेको दाबी गर्दै अनुसन्धानकर्ता र औद्योगिक निकायले खुला पत्रमा हस्ताक्षर गरेका छन्।

हस्ताक्षरकर्ताहरूले युरोपेली नागरिकको फाइदाका लागि एआई प्रशिक्षणमा युरोपेली डाटा प्रयोग गर्न सक्षम बनाउन डाटा गोपनीयता नियामकहरूलाई द्रुत र स्पष्ट निर्णय गर्न आह्वान गरेका छन्।

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको मूल कम्पनी मेटाले हालै गोपनीयता नियामक निकायहरूको दबाबपछि आफ्ना एआई मोडेललाई प्रशिक्षण दिन युरोपेली प्रयोगकर्ताबाट डाटा संकलन गर्ने योजना स्थगित गरेको थियो।

‘युरोपेली डाटा संरक्षण अधिकारीको हस्तक्षेपले एआई मोडेलहरूलाई प्रशिक्षण दिन कस्तो प्रकारको डाटा प्रयोग गर्न सकिन्छ भन्नेबारेमा ठूलो अनिश्चितता सिर्जना गरेपछि हालको समयमा नियामक निर्णय लिने काम खण्डित र अप्रत्याशित भएको छ,’ पत्रमा भनिएको छ।

युरोपेली आयोगका प्रवक्ताले युरोपेली संघका सबै कम्पनीबाट डाटा गोपनीयतासम्बन्धी नियमहरूको पालना गर्ने अपेक्षा रहेको बताए। मेटाले प्रयोगकर्ताहरूको गोपनीयता उल्लंघनका लागि रेकर्ड जरिवाना सामना गरेको छ, जसमा जिडिपिआरअन्तर्गत एक अर्ब युरोभन्दा बढीको एकल जरिवाना समावेश छ।

युरपेली संघ प्रविधिको दुरुपयोग रोक्नका लागि डाटा गोपनीयतासम्बन्धी प्रमुख कानुन बनाउने पहिलो क्षेत्रीय संगठन बनेको छ। यसले यो वर्षको सुरुमा एआई ऐन लागू गरेको थियो। 

मेटा र अन्य प्राविधिक कम्पनीले कानुनी स्पष्टता खोजिरहेका दाबी गर्दै युरोपेली बजारमा आफ्नो सुविधाहरू प्रदान गर्न ढिलाइ गरिरहेका छन्। मेटाले गत वर्ष युरोपेली बजारमा ट्विटरको वैकल्पिक सञ्जाल थ्रेड्सको रिलिजलाई धेरै महिनासम्म ढिलाइ गरेको थियो।

गुगलले पनि युरोपेली संघमा एआई उपकरणको रिलिजलाई रोकेको छ।