Skip This
डबली पुनरुत्थान : शिवपार्वती डबलीमा सांस्कृतिक कार्यक्रम आयोजना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ३१ सोमबार १२:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डबली पुनरुत्थान : शिवपार्वती डबलीमा सांस्कृतिक कार्यक्रम आयोजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार १२:२o:oo

काठमाडौं महानगरपालिकाले यँयाः (इन्द्रजात्रा) शुभारम्भका अवसरमा हनुमानढोकास्थित शिवपार्वती डबलीमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। डबली पुनरुत्थान कार्यक्रमअन्तर्गत लोकल्स काठमाडौंसँग सहकार्य गरेर कार्यक्रम आयोजना गरिएको महानगरले जनाएको छ।

कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘जात्रा र पर्व सञ्चालन हुने ठाउँ र विधि, सञ्चालन गर्ने समुदाय, यससँग सम्बन्धित खानपान, रीतिथिति, परम्परा, गायन, वादन, नृत्य तथा शृंगार बचाउने र पुस्तान्तरण गर्ने जिम्मेवारीलाई प्राथमिकतामा राखेर निर्वाह गरिरहेका छौँ।’ त्यस क्रममा उनले काठमाडौं क्रियटिभ सिटिज नेटवर्क (रचनात्मक सहर सञ्जाल)को सदस्य भएको उल्लेख गर्दै कला, साहित्य र सिर्जनालाई रचनात्मक उद्योगका रूपमा विकास गर्न सकिने बताइन्।

कार्यक्रममा सम्पादन तथा पर्यटन समितिका संयोजक आशामान सगतले भने, ‘जहाँ, जसरी संस्कार चल्थे, त्यहीअनुरूप चल्नुपर्छ। जसले चलाउने गरेका थिए, उनीहरूले चलाउने वातावरण मिलाउनुपर्छ। हामीले त्यसैको प्रवर्द्धन गरिरहेका छौँ।’

हरेक डबली नेपाल मण्डलको पहिचानसँग जोडिएको उल्लेख गर्दै सम्पदा तथा पर्यटन महाशाखा प्रमुख शृजुमैयाँ प्रधान भन्छिन्, ‘हरेक दवू (डबली) नेपाल मण्डलको पहिचानसँग कहीँ न कहीँ जोडिएकै छन्। यो अवस्थालाई पुनरुत्थान गर्न काठमाडौं महानगरपालिकाले रिभाइभ दवु अर्थात् डबली पुनरुत्थानको कार्यक्रमलाई महत्त्व दिएर अगाडि बढाएको छ।’

महानगरपालिकाभित्र ४७ वटा डबली रहेका प्रारम्भिक अध्ययनमा देखिएको छ। यीमध्ये चारवटा हराएका छन्। बचेका जतिको पनि उपयोग अवस्था कमजोर छ। यसलाई प्रवर्द्धन गर्न र प्रयोग गर्नेहरूलाई हौसला बढाउन डबलीकेन्द्रित सांस्कृतिक कार्यक्रम आयोजना गर्न थालिएको महानगरले जनाएको छ।