Skip This
कृषिविज्ञ नेपालीको ‘नेपाल स्पिक्स : सोसल कन्सियस अर्डर’ सार्वजनिक 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ ३१ सोमबार ११:४३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कृषिविज्ञ नेपालीको ‘नेपाल स्पिक्स : सोसल कन्सियस अर्डर’ सार्वजनिक 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार ११:४३:oo

नेपालको सुरुवातकालीन कृषिविज्ञ शिवबहादुर नेपाली प्रधानको अंग्रेजी पुस्तक ‘नेपाल स्पिक्स : सोसल कन्सियस अर्डर’ सार्वजनिक भएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा पूर्वप्रशासक तथा कूटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठले प्रधानको पुस्तक ‘नेपाल स्पिक्स’को विमोचन गरे।

पुस्तकबारे टिप्पणी गर्दै पूर्वआयुक्त तथा राजदूत श्रेष्ठले लेखक प्रधानले ‘कुनै नेपाली भोको नहोस्, बेरोजगार नहोस्, र निरक्षर नहोस्’ भन्ने कथन साह्रै घतलाग्दो गरी पुस्तकमा प्रस्तुत गरेको बताए। ‘सबै नेपालीको पेट भर्ने, रोजगारी दिने र साक्षर बनाउने आधार के–के हुन सक्छन् भन्ने पनि पुस्तकमा बुँदासहित आएको छ,’ श्रेष्ठले भने । नेपालको कृषि क्षेत्रमा लेखक प्रधानको अतुलनीय योगदान रहेको बताउँदै श्रेष्ठले पुस्तक नयाँ नेपाल बनाउने एउटा आधार हुन सक्ने बताए ।

पुस्तकमा नेपालको इतिहास, राजनीति, अर्थतन्त्र र कृषि क्षेत्रको संक्षिप्त चित्र प्रस्तुत भएको टिप्पणी गर्दै पत्रकार रमेश लम्सालले नेपालको व्यावहारिक विकास कसरी गर्ने भन्ने विषयमा पुस्तक एउटा मार्गचित्र भएको बताए । ‘कृषिको मात्रै होइन नेपालकै विकास कसरी गर्न सकिन्छ भन्ने प्रस्तावना पुस्तकमा छ,’ लम्सालले भने, ‘उत्पादकत्व बढाउन ध्यान दिनुपर्ने विषयलाई पुस्तकमा मिहिन रूपमा केलाइएको छ ।’

विकासको राष्ट्रिय प्राथमिकता के हुनुपर्छ, त्यसलाई कार्यान्वयन गर्ने तल्लो निकायमा के–के गर्नुपर्छ भन्ने सूची नै तथा माथ्लो तहका योजना आयोगजस्ता निकायले के कसरी काम गर्नुपर्छ भन्ने प्रस्तावना पनि किताबमा आएको उनले बताए । ‘निजी क्षेत्रलाई अघि नलगाएसम्म देशमा उत्पादकत्व वृद्धि हुँदैन भन्नेमा लेखकको विषेश जोड छ,’ उनले भने ।

कृषि क्षेत्रको विकासमा शिवबहादुर नेपालीको उच्च योगदान रहेको चर्चा गर्दै कृषिविद् कृष्णकुमार पाँडेले जिल्लाको वस्तुस्थिति बुझेर व्यावहारिक निर्णय गर्ने र परिणाममुखी काम गर्ने अधिकृतका रूपमा उनलाई आफूले पाएको बताए । ‘नेपालमा कृषिमा साँच्चै नै क्रान्ति नै भएको छ र त्यो क्रान्ति उहाँहरूजस्ता विज्ञकै योगदानले सम्भव भएको हो,’ पाँडेले भने।

प्रधान परिआएको वेला, परिआएको जिम्मेवारी इमानदारीका साथ निर्वाह गर्ने कर्मचारी रहेको बताउँदै टिप्पणीकर्ता महेश्वर आचार्यले नेपाललाई आवश्यक उनीजस्तो जनशक्ति धेरैभन्दा धेरै चाहिने भए पनि कार्यकर्ता पोस्ने र विज्ञलाई पाखा लगाउने परिपाटीले प्रधानजस्तो मान्छे ओझेलमा परेको बताए ।

प्रधानको यसअघि प्रकाशित ‘कृषिमा मेरो बाटो’ हरेक युवाहरूले पढ्नुपर्ने प्रेरणात्मक पुस्तक भएको र यो पुस्तक नीतिगत तहमा कार्यरत सबैलाई मार्गदर्शक भएको उनले बताए । निर्वाहमुखी कृषिलाई कसरी दिगो बनाउन सकिन्छ भन्नेतर्फ प्रधानले सुरु गरेका योजना अझै पनि विस्तार गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए ।

प्रधानले नेपालमा पहिलोपटक दाना बनाउने काम, च्याउखेती सुरुवात गर्ने काम गरेका थिए । नेपालमा वर्षाको रेकर्ड राख्ने काम पनि उनैले कीर्तिपुर बागवानी कार्यालयबाट सुरु गरेका हुन् । पहिलो कृषि योजना पनि उनकै अगुवाइमा बनेको थियो । त्यस्तै, पश्चिम नेपालमा स्याउखेती प्रवर्द्धनमा उनको ठूलो योगदान छ । ‘एक लाख बोट स्याउका बिरुवा भारतबाट ल्याएर पश्चिम नेपालको जुम्लामा पुर्‍याएको उनको अनभुव अझै पनि विकास क्षेत्रमा कार्यरतहरूका लागि एउटा केस स्टडी जस्तो छ,’ उनले भने, ‘हामी स्टार्टअप र दिगो विकासको कुरा गर्छौँ । ककनीमा मुलाखेतीलाई दिगो बनाउन उहाँले गर्नुभएको स्थानीय किसान र कृषि कार्यालयको सहकार्य अहिले पनि अनुकरणीय उदाहरण हो ।’