अघिल्लो शताब्दीमा प्लास्टिकले प्राविधिक आविष्कार, स्वास्थ्य हेरचाहमा परिवर्तन र विश्वव्यापी आर्थिक वृद्धिलाई प्रोत्साहन गर्दै अथाह लाभ प्रदान गरेको तथ्यलाई नकार्न सकिँदैन । तर, यसका लागि ठुलो मूल्य चुकाउनुपरेको यथार्थबारे हामी अवगत छौँ । प्लास्टिकमा हाम्रो निर्भरताका हानिकारक प्रभाव स्पष्ट छन् । जीवाश्म इन्धन निकासी र निर्माणदेखि दैनिक प्रयोग र व्यवस्थापनसम्मका प्रत्येक प्लास्टिक चक्रका चरणले प्रदूषण र वातावरणीय क्षति निम्त्याइरहेको छ ।
प्लास्टिक प्रदूषणले वन्यजन्तुलाई खतरामा पार्छ, पारिस्थितिकीय प्रणालीमा क्षति पुर्याउँछ र मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउँछ । हामीले खाने खाना, श्वास फेर्ने हावा र छालाका माध्यमबाट हामी विषाक्त सूक्ष्म प्लास्टिक (माइक्रोप्लास्टिक्स) हाम्रो शरीरमा प्रवेश गर्छ । जसै वातावरणमा प्लास्टिकजन्य फोहोर जम्मा हुन्छ त्यसले माटोलाई दूषित बनाउँदै जैविक जीवनमै असर गर्छ । उसो त अतिसूक्ष्म प्लास्टिक (न्यानोप्लास्टिक्स)ले मानव शरीरमा कस्ता प्रभाव पार्छन् भन्ने विषयमा धेरै अनुसन्धान हुन नसके पनि बालबालिका, महिला, प्लास्टिक उत्पादन, फोहोर व्यवस्थापनलगायत क्षेत्रमा काम गर्ने मानिस जोखिममा रहेको स्पष्ट छ ।
प्लाष्टिकको एकल प्रयोगको बहस प्रायः व्यवस्थापनमा केन्द्रित हुन्छ र पुनर्चक्रण समाधानमा जोड दिन्छ । यद्यपि, कुनै पनि किसिमका प्लास्टिक साँचो अर्थमा ‘सुरक्षित’ हुँदैनन् । विश्वको ९९ प्रतिशत उत्पादनका लागि जिम्मेवार तेल र ग्यास निकासी गर्ने उद्योगबाट क्षतिलाई लुकाउन अन्यथा दाबी गर्छन् । तर, तेल र ग्यासको निकासी गर्दा छाला, फोक्सो र मस्तिष्कलगायत शरीरका विभिन्न प्रणालीलाई क्षति पुर्याउने विषाक्त पदार्थ पनि उत्पादन हुन्छन् ।
प्लास्टिक उत्पादनले मानव स्वास्थ्य मात्रै नभई जलवायुमा पनि महत्वपूर्ण खतरा निम्त्याउँछ । प्लास्टिक उत्पादनले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनको तीनदेखि आठ प्रतिशत हिस्सा ओगट्छ । तथापि, प्लास्टिक उत्पादन बढ्दो क्रममा छ । आर्थिक सहयोग एवं विकास संगठन (ओइसिडी)को अनुमानअनुसार विश्वव्यापी प्लास्टिक प्रयोग र फोहोर सन् २०६० सम्म करिब तीन गुणाले बढ्न सक्छ । फोहोरमध्ये आधा हिस्सा ल्यान्डफिलमा जानेछ र २० प्रतिशतभन्दा कम प्लास्टिक पुनर्चक्रण प्रक्रियामा जान्छ ।
नयाँ पारिस्थितिकीय यथार्थमा अनुकूलनका लागि प्लास्टिकको प्रयोग र उत्पादन घटाउनुको विकल्प छैन
थप चिन्ताको विषय के छ भने पुनर्चक्रण प्रक्रियामा गएका प्लास्टिकले सन् २०६० सम्ममा कुल प्लास्टिकको प्रयोगको १२ प्रतिशत हिस्सा ओगट्ने अपेक्षा गरिएको छ, जब कि पर्यावरणीय प्लास्टिक चुहावट दोब्बर हुनेछ अर्थात् वार्षिक रूपमा चार करोड ४० लाख टन चुहावट हुन सक्छ । यसले स्वास्थ्य र पारिस्थितिकीय प्रणालीलाई क्षति पु¥याउनेछ । यदि प्लास्टिक उत्पादन बढ्दै गयो भने यसले ग्रहको कार्बन बजेटको ३१ प्रतिशत उपभोग गर्न सक्छ । स्मरण रहोस्, कार्बन बजेट औसत विश्व तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्न निर्माण गरिएको हो ।
प्लास्टिकमा उत्पादन वृद्धि भविष्यको माग प्रक्षेपणभन्दा बढी देखिएको छ । एक अध्ययनले विश्वव्यापी पोलिप्रोपाइलिन उत्पादनमा चीनलगायत मुलुकमा माग कम भएका कारण सन् २०३० सम्ममा वार्षिक एक करोड ८० लाख टन प्लास्टिक घट्नुपर्ने देखाएको छ ।
विश्वका निगमहरूले हरितगृह ग्यास उत्सर्जन घटाउन दबाबको सामना गर्दा जीवाश्म–इन्धनमा आधारित प्लास्टिक उत्पादन विस्तार गर्नु लापरवाहपूर्ण एवं आर्थिक रूपमा अदूरदर्शी हुने देखिन्छ । र, ‘इन्स्टिच्युट फर इनर्जी इकोनोमिक्स एन्ड फाइनान्सियल एनालिसिस’को अध्ययनले प्रमुख पेट्रोकेमिकल कम्पनीले आफ्नो ऋण क्षमता घट्ने जोखिमका बाबजुद पनि गलत दिशामा ठुलो लगानी गरिरहेको देखिन्छ ।
प्लास्टिकको उपभोग घटाएर मात्र स्वास्थ्य र ग्रहको रक्षा गर्न पर्याप्त हुनेछैन । प्लाष्टिक प्रदूषणसम्बन्धी अन्तरसरकारी वार्ता समितिले आफ्नो अन्तिम बैठकका लागि तयारी गर्दा विश्वव्यापी सन्धिलाई अन्तिम रूप दिने प्रयासले तुरुन्तै प्लास्टिक उत्पादनलाई रोक्न आवश्यक सम्बोधन गर्नुपर्छ । धेरै अन्तर्राष्ट्रिय वार्ताझैँ शक्तिशालीको निहित स्वार्थले आवश्यक उपायमा अवरोध आउन सक्छ ।
ओटावामा अप्रिलको बैठकले गहिरो विभाजनलाई उजागर गरेको थियो । यो विभाजन विशेषतः विश्वव्यापी प्लास्टिक उत्पादन सीमितता तय गर्दा देखिएको थियो । प्लास्टिक उत्पादक, उत्पादनलाई वातावरण प्रदान गर्ने देश र तेल एवं ग्यास उत्पादकले उत्पादन सीमितताको विरोध गरेका थिए । यो पक्षले केवल पुनर्चक्रणमा मात्र ध्यान केन्द्रित गर्न पैरवी गरेको थियो । केही तेल निर्भर राज्यले सन्धिले फोहोर व्यवस्थापनलाई मात्र सम्बोधन गर्नुपर्ने तर्क गरेका थिए ।
प्लास्टिक उत्पादन, खपत वा प्लास्टिक प्रदूषणको स्वास्थ्य प्रभाव कम गर्न पुनर्चक्रण महत्वपूर्ण छ, तर यो विधि अपर्याप्त छ । व्यापक पहलकदमी लिइएन भने प्रदूषण बढ्दै जानेछ, स्वास्थ्य संकट चर्किनेछ, वातावरणीय क्षति निम्तिनेछ, र औसत विश्व तापमान वृद्धि हुनेछ । उद्योग लबीले लागू गर्न योग्य प्रतिबद्धतालाई गैरबाध्यकारी प्लास्टिक सन्धिको पैरवी गरिरहेका छन् । यसले अस्पष्ट प्रतिज्ञाले दिने परिणाम दिनेछ र सन्धि चाँडै अप्रासांगिक बन्नेछ ।
नयाँ पारिस्थितिकीय यथार्थमा अनुकूलनका लागि प्लास्टिकको प्रयोग र उत्पादन घटाउनु आवश्यक छ । यदि उद्योग लबीले प्लास्टिक उत्पादन सीमा तोक्दैनन् र सन्धिलाई गैरबाध्यकारी बनाएर प्लास्टिक सन्धिलाई कमजोर पार्छन् भने जलवायु परिवर्तनसँग लड्ने प्रयास कमजोर हुनेछ । जलवायु संकट तीव्र हुँदै गइरहेको अवस्थामा प्लास्टिक प्रदूषणलाई रोक्ने प्रयास पहिलेको भन्दा बढी हुन आवश्यक छ । जसले विश्वव्यापी सन्धिका लागि वातावरण निर्माण गरोस् । तर, संवादमा जनताको ध्यान र सहभागिता बढ्नु आवश्यक छ । दिगो भविष्य सुरक्षित गर्न हामीले हाम्रा सरकारलाई प्लास्टिक उत्पादन र प्रयोगलाई सीमित गर्न एवं रोक्न बाध्यकारी अन्तर्राष्ट्रिय सम्झौतालाई समर्थन गर्न आग्रह गर्नुपर्छ ।
(घोष मेसेचुसेट्स विश्वविद्यालय अम्हेरेस्टकी अर्थशास्त्रकी प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट