Skip This
नेपाल–अमेरिका टिफा बैठक आज, नेपालको मुख्य एजेन्डा : व्यापार ग्राह्यता सुविधाको निरन्तरता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
कृष्ण रिजाल काठमाडाैं
२o८१ भदौ ३१ सोमबार o८:२o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल–अमेरिका टिफा बैठक आज, नेपालको मुख्य एजेन्डा : व्यापार ग्राह्यता सुविधाको निरन्तरता

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार o८:२o:oo

नेपाल र संयुक्त राज्य अमेरिकाबिच गठित व्यापार तथा लगानी ढाँचा सम्झौता परिषद् (टिफा काउन्सिल)को सातौँ बैठक सोमबार काठमाडौंस्थित सोल्टी होटेलमा हुँदै छ । अमेरिकाले उपलब्ध गराएको व्यापार ग्राह्यता सुविधालाई निरन्तरता दिनुपर्ने विषयलाई नेपालले बैठकको मुख्य एजेन्डा बनाएको छ । 

बैठकको सम्पूर्ण तयारी पूरा भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले जानकारी दिए । ‘एजेन्डाहरू आदानप्रदान भइसकेका छन्, पूर्वछलफल पनि भएका छन्,’ उनले भने, ‘आइतबारसम्म अमेरिकी प्रतिनिधिहरू आइसक्नुभएको छ ।’

बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुुर कार्की नेतृत्वको टोली सहभागी हुनेछ । बैठकमा अमेरिकाको दक्षिण तथा मध्य एसिया व्यापार प्रतिनिधि कार्यालयका सहायक ब्रेन्डन लिन्चले अमेरिकी टोलीको नेतृत्व गर्नेछन् । अमेरिकाले नेपाललाई उपलब्ध गराउँदै आएको व्यापार ग्राह्यता सुविधालाई निरन्तरता दिनुपर्ने तथा त्यसअन्तर्गत नै भन्साररहित सुविधा पाउने वस्तुको सूची विस्तार तथा परिमार्जन गर्नुपर्ने नेपालको मुख्य एजेन्डा तय भएको प्रवक्ता अधिकारीले जानकारी दिए । 

उत्पादन तथा निर्यात क्षमता अभिवृद्धिमा प्राविधिक सहयोग बढाउनसमेत नेपालले आग्रह गर्नेछ । त्यस्तै, हालै नेपालमा लगानी सम्मेलन सम्पन्न भएको र त्यसकै अवसरमा नेपालले कानुनी सुधारसमेत गरेको जानकारी अमेरिकी प्रतिनिधिलाई गराइनेछ । ‘नेपालले अमेरिकी लगानी तथा प्रविधिलाई सधैँ स्वागत गरिरहेकै छ, हामीले त्यसलाई अझ विस्तार गर्न आग्रह गर्ने छौँ,’ उनले भने ।

फागुन ०७२ मा अमेरिकी सरकारले नेपाललाई विशेष व्यापार ग्राश्यता दिने कानुन ल्याएर नेपालका ६६ वस्तुलाई भन्साररहित सुविधा दिएको थियो । त्यसपछि अमेरिकाले थप ११ वस्तुलाई भन्साररहित सुविधा दियो । तर, नेपालले अपेक्षाअनुसार अमेरिकामा निर्यात वृद्धि गर्न सकेन । यो सुविधाको म्याद ३१ डिसेम्बर २०२५ सम्म रहेको छ । नेपालले उक्त सुविधालाई निरन्तरता दिनुपर्नेमा जोड दिनेछ । ‘हामीले सुविधालाई निरन्तरता दिनुपर्छ भनेका छौँ,’ उनले भने, ‘भन्साररहित सुविधा पाउनुपर्ने वस्तुको सूचीमा ३०–३५ थप गर्नुपर्नेमा हाम्रो जोड छ ।’

बैठकको चार दिनअघि सचिव सरुवा
नेपाल–अमेरिकाबिचको व्यापार तथा लगानीसम्बन्धी दुईपक्षीय वार्ता तथा बैठकको चार दिनअघि मात्रै सरकारले वाणिज्य सचिव सरुवा गरेको छ । वार्ताको संयोजक (नेतृत्वकर्ता) तोकिएका तत्कालीन वाणिज्य सचिव मधुसुदन बुर्लाकोटीलाई सरकारले राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा गरेको हो । बुर्लाकोटीको ठाउँमा बागमती प्रदेशका प्रमुख सचिव गोविन्दबहादुर कार्कीलाई ल्याइएको छ । अब चार दिनअघि मात्रै वाणिज्य सचिव बनेका कार्कीले नै नेपाली वार्ताटोलीको नेतृत्व गर्नेछन् ।

सरकारले महत्वपूर्ण दुईपक्षीय वार्ताको चार दिनअघि मात्रै सचिव सरुवा गरेर अन्तर्राष्ट्रिय जगत्मै नकारात्मक सन्देश प्रवाह गरेको मन्त्रालयकै एक उच्च अधिकारीले बताए । ‘हामीले उहाँहरूलाई बुर्लाकोटीको नेतृत्वमा बैठकमा सहभागी हुने जानकारी गराएका थियौँ, एजेन्डा पनि उहाँकै नेतृत्वमा भयो, उहाँले पूर्वतयारी गर्नुभयो,’ नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘तर, बैठकको चार दिनअघि एकाएक सचिव सरुवा गरियो, यसले वार्ताप्रति सरकार गम्भीर नदेखिएको जस्तो देखायो, वार्तामा नेपालको बलियो प्रस्तुति हुन नसक्ने संकेत पनि गरेको छ ।’