गाउँको मन्दिरमा एक साधु बस्थे । त्यसै गाउँमा एउटा चोर पनि बस्थ्यो । चोर जवान थियो भने साधु वृद्ध थिए । चोर हुनेखाने परिवारकै सन्तान थियो । ऊ अन्यत्रभन्दा पनि आफ्नै गाउँमा सानोतिनो मालमत्ता र धन, सम्पत्ति चोर्थ्यो । सानोतिनो चोरीबाट आफ्नो मोजमस्ती पूरा गर्नु उसको दैनिकी थियो । उसको चोरीबाट मानिसलाई दुःख बढी र क्षति कम हुन्थ्यो ।
एकपटक चोरले मन्दिरका साधुसित निकै ठुलो रकमको थैली भएको थाहा पायो । त्यसलाई उडाउन ऊ बिस्तारै साधुको कुटीसम्म जाने–आउने क्रम बढ्यो । चोर मुखमा रामराम, बगलीमा छुरा राखेर साधुको सेवामा लाग्यो । त्यसो त साधु पनि चोरको मनोभावबाट अपरिचित थिएनन् । उनी मनमनै भन्थे– यसलाई उल्लु बनाउन मैले जानेको छु ।
उता चोरलाई साधुको साथमा धनको थैली देखेर तनाव हुन्थ्यो । एक रात चोर साधुको कुटीमै बस्यो । कसरी थैली चोरौँ भन्ने दाउमा चोर र त्यसलाई कसरी जोगाऊँ भन्ने चिन्तामा साधुले यताउता पल्टिँदै रात बिताए । बिहान भालेको डाक सुनेपछि मात्र साधुको शरीरमा प्राण सञ्चार भयो । अर्को दिनदेखि साधुले रातमा थैलीलाई बाहिर राखिदिन्थे भने दिनमा भित्र । उनी रातभरि आनन्दले घुरिरहन्थे । उता चोर भने रातभर भित्रै थैली खोजिरहन्थ्यो ।
एकरात साधुको आत्माले भन्यो– ओइ साधु, तँ पापी होस् । तँलाई त्यस थैलीसित किन यति मोह ? अब सब मोह छोड्, बिचरा चोरको भलाइ गर् । सोही रात चोरको आत्माले पनि उसलाई भन्यो– ओइ चोर, तँलाई भगवान्ले देखिरहेका छन् । चोरीको चक्करमा लागेर तैँले जिन्दगीको आनन्द गुमाइरहेको छस् । यति लामो जिन्दगी यही थैलीको सहारामा त बित्दैन । कतै चोरी गर्दागर्दै पक्राउ परिस् भने के होला ?
त्यस रात साधुले थैली बाहिर राखेनन् । बिहान उठ्दा साधुले थैली राखेकै स्थानमा पाए । तर, चोर भने त्यहाँ थिएन ।