समाजवादी मोर्चामा आबद्ध दलका नेताहरूले राष्ट्रिय स्वाधीनताका लागि प्रगतिशील र देशभक्त शक्ति एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
मंगलबार राजधानीमा आयोजित ‘एमसिसी, एसपिपी र राष्ट्रिय स्वाधीनता’ विषयक अन्तरक्रिया कार्यक्रममा माओवादी महासचिव देव गुरुङ, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले राष्ट्रिय स्वाधीनताको विषयमा सचेततापूर्वक अघि बढ्नुपर्ने बताए । एमसिसी अनुगमन गर्न संसदीय समिति गठन गर्नुपर्ने र आवश्यक कानुन बनाउनुपर्नेसमेत उनीहरूको भनाइ छ ।
माओवादी महासचिव गुरुङले अमेरिकी सैन्य रणनीतिअन्तर्गत एमसिसी ल्याइएको भन्दै सबै मिलेर प्रतिवाद गर्नुपर्ने बताए । एमसिसीलाई खुला छाडिए देश युक्रेन बन्न खतरा रहेको उनले दाबी गरे ।
एकीकृत समाजवादीका महासचिव भुसालले एमसिसीलाई राष्ट्रियताविरुद्ध प्रयोग हुन नदिन संसदीय अनुगमन समिति गठन गर्नुपर्ने माग गरे ।
नेकपा महासचिव विप्लवले एमसिसीलाई अनुगमन, नियन्त्रण र परिचालन गर्न कानुन बनाउनुपर्नेमा जोड दिए । एमसिसीबारे ठुलो बहस आवश्यक भएको उनले औँल्याए ।राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले विदेशी सहयोगमा राजनीतिक स्वार्थ र सम्बन्धित देशको राष्ट्रिय स्वार्थ जोडिएको हुने बताए ।