मानव बेचबिखनविरुद्धकी अभियन्ता शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन भएको छ । सुतिरहेको अवस्थामा सोमबार बिहान घरमै उनी मृत भेटिएकी हुन् । उनी ४७ वर्षकी थिइन् ।
सन् १९९६ मा भारतको कोठीमा पुर्याइएकी उनको पाँच महिनापछि उद्धार गरिएको थियो । उद्धारपछि उनी मानव बेचबिखन रोकथाम तथा पीडितको उद्धार र पुनस्र्थापनाको काममा लाग्दै आएकी थिइन् । उनले कोठीमा पुर्याइएका हजारौँ चेलीको उद्धार गरी सीपमूलक काममा लगाएकी थिइन् । पछिल्लो समय उनी सुनिता फाउन्डेसन स्थापना गरेर सोही संस्थामार्फत बेचबिखनविरुद्ध सक्रिय थिइन् ।
कामको सम्मान गर्दै उनलाई विभिन्न अन्तर्राष्ट्रिय निकायले सम्मान गरेका थिए । एसियाको ठुलो पुरस्कार मानिने रेमन म्यागासेसे पुरस्कारबाट समेत उनी सन् २०१३ मा सम्मानित भएकी थिइन् । उनको कामको प्रशंसा गर्दै अमेरिकी सरकारले समेत सन् २०१८ मा ‘ट्राफिकिङ इन पर्सन हिरो अवार्ड’बाट सम्मान गरेको थियो ।